• १४ मंसिर २०८१, शुक्रबार

शिवराजमा थारु सांस्कृतिक सङ्ग्रहालय

blog

कपिलवस्तुको शिवराज नगरपालिकामा निर्माण भई रहेको थारु सङ्ग्रहालय । तस्बिर : जानु पाण्डे

जानु पाण्डे

कपिलवस्तु, जेठ १९ गते । कपिलवस्तुको शिवराज नगरपालिकामा थारु सङ्ग्रहालय निर्माणको काममा तीव्र गतिमा अगाडी बढेको छ । नगरपालिकाको वडा नम्बर १ उमरीमा थारु सभ्यता, रहनसहनको संरक्षण हुनेगरी सङ्ग्रहालय निर्माण गरिएको पालिकामा नगर उपप्रमुख शिवकुमारी थारुले बताउनुभयो । 

नगरपालिका, सङ्घीय सरकारको दुई करोड ५० लाख रुपियाँ लागतमा सङ्ग्रहालय निर्माण हुने सङ्ग्रहालय संरक्षण समितिका अध्यक्ष प्रकाश थारुले बताउनुभयो । थारु सभ्यता जोगाउन पुर्ख्यौली सामग्री सङ्कलन र थारु पहिचान सहितको प्रतिमा निर्माण भएको जनाएको छ । 

सङ्ग्रहालयमा माछा मार्दै गरेको महिला, थारु पहिरनमा सजिएका महिला तथा पुरुषका प्रतिमा निर्माण हुनेछ । थारु समुदायले परम्परागत प्रयोग गर्दै आएका सामाग्री डोकवा, झउवा, खटिया, मचिया, चकिया, ढेकी, माटाका गाग्री, चुल्हा, लेहङ्गा, करवा, डरुवा, डोली, परगेहनी, पिर्खा, मंगिया, कारा, डिबिया लगायतका पहिचान झल्किने सामग्री स्थानीयबाट सङ्कलन गरिरहेको प्रकाश थारुले बताउनुभयो । 

सङ्ग्रहालय निर्माणपछि स्थानीयमा रौनकता छाएको थारु समुदायका अगुवा हिरालाल थारु बताउनुहुन्छ । सङ्ग्रहालय निर्माणले पर्यटनको विस्तार भई स्थानीयलाई व्यावसायिक रूपमा फाइदा हुनुका साथै रोजगारी समेत सिर्जना हुने बताइएको छ । स्वदेशमा मात्रै नभएर विदेशमा पनि आकर्षणको केन्द्रबिन्दु रहेको थारु संस्कृतिलाई संरक्षण एवं प्रवर्द्धन गर्न सबैको दायित्व रहेको समेत हिरालालको भनाइ छ ।