• २८ वैशाख २०८२, आइतबार

गलेममा बस पुगेपछि स्थानीय खुसी

blog

अर्जुन काफ्ले

स्याङ्जा, जेठ १७ गते । फेदीखोला गाउँपालिका –४ गलेममा पहिलो पटक बस पुगेपछि स्थानीयमा खुसीयाली छाएको छ । सर्केटारी–आरुखर्क–गलेम–पञ्चासे ग्रामीण सडक खण्डकको आरुखर्क–गलेमको २.८ किमी भिरखण्ड कटानपछि कडा गाउँमा पहिलोपटक बस पुगेको हो ।

सर्केटारीबाट साढे छ किलोमिटरको यात्रापछि गलेम पुग्न सकिन्छ भने पंचासे पुग्न छोटो दुरी १३ किलोमिटर यही रहेको छ । २०६८ सालमा भिरखण्ड कटान स्थानीयले थालेपनि सङ्घीयतासँगै पालिकाले प्राथमिकतामा राखेर काम अगाडि बढाएको थियो । 

गण्डकी प्रदेशको ८६ लाख ६२ हजार १४ रुपियाँ, क्षेत्र विकास कोषबाट ३८ लाख ६० हजार, स्थानीयको ८० लाख, गाउँपालिकाको २५ लाख गरी कुल दुई करोड ३० लाख २२ हजार ७८२ मध्ये एक करोड ५६ लाख ६३ हजारमा भिर फोरिएको पालिका अध्यक्ष घनश्याम सुवेदीले बताउनुभयो । 

ट्रयाक खोल्ने काम २०७५ मा सकिएको सामान्य रूपमा जिप गाउँमा पुगेपनि पालिकाले सडकको थप स्तरोन्नति गरेसँगै गाउँमा बस पुगेको सुवेदीको भनाइ छ । 

गलेममा जन्मेर पोखरा १७ घारिपाटनमा बस्नु भएका क्या.इन्द्रबहादुर गुरुङलाई बस चढेर जन्मथलो पुग्दा सपना जस्तै भएको बताउनुभयो । 

डरलाग्दो भीर छिचोलेर गलेमसम्म गाडी आउला भन्ने नसोचेको बताउँदै गुरुङले बिपनामा गाडीमा यात्रा गरेर गाउँमै आउन पाउँदा हर्षको सीमा नरहेको बताउनुभयो । 

बाटोको ट्रयाक खुलेपछि गलेम, राँपु र खामुहालेका जनता प्रत्यक्ष रूपमा लाभान्वित भएको बताउनुहुँदै वडाध्यक्ष खेम नारायण पौडेलले गाउँमै बस पुगेपछि यात्रा गर्न समेत सहज भएको बताउनुभयो । गण्डकीकै महत्त्वपूर्ण धार्मिक तथा सांस्कृतिक धामका रूपमा रहेको पञ्चासेसँग सडक जोडिने बताउनुहुँदै सडकको स्तरोन्नतिमा प्रदेश सरकारको चाँसो जानु पर्ने बताउनुभयो । 

पर्यटकीय तथा कृषि उत्पादनको  सम्भावना बोकेको  गलेम, रापु, खामआहाले, टुचेका सयौँ घरधुरी मोटरबाटो नहुँदा अन्यत्र ठाउँमा विस्थापित हुँदै आउनु परेको थियो । यहाँका चार वटा गाउँका पाँच सय घरधुरी र दुई हजार भन्दा बढी नागरिकलाई बाटोले ठुलो सहयोग गरेको छ ।