• १४ वैशाख २०८१, शुक्रबार

कानेपोखरी अस्पतालको निर्माण कार्य रोकियो

blog

हरि कोइराला

उर्लाबारी, जेठ १७ गते । जग्गामा विवाद भएपछि मोरङको कानेपोखरी–४ मा निर्माणाधीन कानेपोखरी अस्पतालको निर्माण कार्य रोकिएको छ । अस्पताल भवनकोे डिपीआर भएको क्षेत्रफल व्यक्तिको नाममा देखिएपछि अस्पतालको निर्माण कार्य रोकिएको हो । 

गाउँपालिकाले २०७७ सालमा अस्पतालको डिपीआर गर्न जाल्पादेवी ग्रुपलाई दिएको थियो । १५ शैयाको अस्पताल निर्माण गर्न मूल्य अभिवृद्धि कर सहित १५ लाख ८१ हजार ६९ रुपियाँ लागत अनुमान गरी बोलपत्र आह्वान गरिएको थियो । जाल्पादेवी ग्रुपले १५ लाख ५४ हजार ६४५ रुपियाँमा डिपीआरको जिम्मा पाएको गाउँपालिकाका सुचना अधिकृत गोविन्दप्रसाद फुललले बताउनुभयो ।

डिपीआर गरिएको क्षेत्रफल १७ सय वर्गमिटर भनिएको छ । जसमध्ये २४१ वर्गमिटर जमीन अस्पतालको स्वामित्व भन्दा बाहिरको देखिएपछि अस्पताल निर्माण कार्य रोकिएको हो । अस्पताल निर्माणको ठेक्का आठ करोड ५० लाख रुपियाँमा काठमाडौंको प्रतिष्ठा के एन केडी जेभिले पाएको थियो ।  

निर्माण कम्पनीका सञ्चालक अशोकभक्त श्रेष्ठले भन्नुभयो, "हामीले  गाउँबेसी कन्ट्रक्सनलाई काम गर्ने जिम्मा दिएका थियौं । गाउँबेसीले हामीलाई धोका दियो । अब हामी आफैं काम गर्छौं, तर गाउँपालिकाले साइट खालि गर्न ढिलो गर्नु हुँदैन ।" 

अस्पताल सञ्चालक समितिका अध्यक्ष एवम् कानेपोखरी–४ का वडाध्यक्ष रमेश राउतले भन्नुभयो, "डिपीआर भएको क्षेत्रकै जमीन अस्पतालको स्वामित्वमा नदेखिएपछि समस्या उत्पन्न भएको छ । पालिका कै गौरवको आयोजनाका रुपमा लिइएको अस्पताल निर्माण कार्य रोकिँदा गाउँवासीलाई ठूलो क्षति पुगेको छ ।" उहाँले सरोकारवाला, राजनीतिक दलसाग बसेर पालिकाले छिट्टै निकास दिने बताउनुभयो । 

यता डिपीआर गर्ने जाल्पा देवी ग्रुपले अर्काको जमीनमा कसरी अस्पतालको नक्साङ्कन गर्यो भन्ने विषयमा नगरपालिकाले खोजी गरी उक्त कम्पनी कार्वाही गर्नुपर्ने आवाज उठ्न थालेको छ । 

स्थानीय दीपक चम्लागाईले भन्नुभयो, "गाउँपालिकाले डिपीआरको भुक्तानी किन गर्यो ? नागरिकलाई जवाफ दिनुपर्छ ।"