शेरबहादुर राई
ओखलढुङ्गा, पुस २ गते । कृषि ज्ञान केन्द्र ओखलढुङ्गाले विद्यार्थीलाई कृषि पेसातर्फ आकर्षित गरिरहेको छ । केन्द्रले ‘विद्यार्थीसँग कृषि शिक्षा कार्यक्रम’ सञ्चालन गर्दै विद्यार्थीलाई आकर्षित गरेको हो ।
कार्यक्रम अन्तर्गत कृषि ज्ञान केन्द्रका कृषि विज्ञ तथा प्राविधिक विद्यालयमै पुगेर कृषि शिक्षाको महत्त्व, कृषिमा रहेका सम्भावना, विषादीका नकारात्मक असर तथा यसको न्यूनीकरणका उपायबारे जानकारी गराएका छन् ।
कृषि ज्ञान केन्द्र ओखलढुङ्गाका निमित्त प्रमुख पेशल खतिवडाका अनुसार पछिल्लो समय तरकारी र फलफूलमा अत्याधिक विषादी प्रयोगले मानव स्वास्थ्य, जीवजन्तु, माटो र वातावरणमा गम्भीर असर परिरहेकोले त्यसबारे विद्यार्थीलाई सचेत गराउन थालिएको हो ।
कार्यक्रम अन्तरर्गत सिद्धिचरण नगरपालिका–४ को रुम्जाटार माध्यमिक विद्यालय तथा विगुटारका माध्यमिक तहका विद्यार्थीलाई कार्यक्रममा सहभागी गराएर कृषि शिक्षा प्रदान गरिएको छ । कृषिमा पर्याप्त सम्भावना हुँदाहुँदै पनि युवाहरू वैदेशिक रोजगारीतर्फ आकर्षित हुने क्रम बढ्दो रहेकाले त्यसलाई न्यूनीकरण गर्न विद्यालय तहदेखि नै कृषि शिक्षामा जोड दिइएको खतिवडाले बताउनुभयो ।
कृषि ज्ञान केन्द्रका अनुसार अघिल्लो वर्ष जिल्लाका २० वटा विद्यालयमा यस्तो कार्यक्रम सञ्चालन गरिएको थियो । यस वर्ष अघिल्लो वर्षमा नसमेटिएका अन्य १० वटा विद्यालयमा ‘विद्यार्थीसँग कृषि शिक्षा कार्यक्रम सञ्चालन गर्ने योजना रहेको छ ।
कार्यक्रमबाट विद्यार्थीमा कृषिप्रति सकारात्मक सोच विकास हुने, भविष्यमा कृषि शिक्षा अध्ययन, व्यावसायिक कृषि तथा सुरक्षित उत्पादनतर्फ आकर्षण बढ्ने अपेक्षा गरिएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।