• १४ मंसिर २०८१, शुक्रबार

एम्बुलेन्सको महँगो भाडा तिर्न बाध्य

blog

दोलखा समाचारदाता

दोलखा, जेठ १६ गते । गाउँमा सञ्चालन गर्न भनी भन्सार छुटमा ल्याइएको एम्बुलेन्स काठमाडौँमा चल्न थालेपछि गाउँवासीले भने झन्डै दोब्बर भाडा तिर्नु परेको छ। दोलखाको शैलुङ गाउँपालिका–८ का वडावासीलाई सेवा प्रदान गर्ने उद्देश्यले स्थानीयको हस्ताक्षर सङ्कलन गरी भन्सार छुटमा उक्त एम्बुलेन्स ल्याइएको हो। 

वडावासीलाई सेवा दिने गरी २०७३ सालमा प्रतापसिं स्मृति प्रतिष्ठानका नामबाट ल्याइएको यो एम्बुलेन्स काठमाडौँमा सञ्चालन हुन थालेपछि यहाँका बिरामीले महँगो भाडा तिर्नु परेको हो। स्थानीय मोहनसिं तामाङले भन्नुभयो, “एम्बुलेन्स यहीँ ल्याएर सञ्चालन गरिदिन प्रतिष्ठान समितिलाई धेरै पटक माग गरियो तर सुनुवाइ भएन।” स्थानीय सरकारले पनि गुनासो नसुनेको उहाँले बताउनुभयो। 

प्रतिष्ठान समितिले विधान पटक पटक परिवर्तन गरी वडावासीलाई झुक्याएर मनोमानी ढङ्गबाट काठमाडौँमा एम्बुलेन्स चलाएर पैसा कमाएको स्थानीयको आरोप छ। वर्षामा गाउँमा एम्बुलेन्स नचल्ने, हिउँदमा पनि एक वर्षमा तीन पटक मात्र चलेकाले रकम जुटाउन र चलायमान राख्न काठमाडौँमा एम्बुलेन्स सञ्चालन गरेको प्रतिष्ठानका अध्यक्ष भैरव काफ्लेको दाबी छ। 

प्रतिष्ठानसँग रकम नहुँदा प्रतिष्ठानकै सदस्य ठालु तामाङले १० लाख २५ हजार रुपियाँमा सो एम्बुलेन्स खरिद गरी ल्याइएको हो। अध्यक्ष काफ्लेले भन्नुभयो, “एम्बुलेन्स सञ्चालनबाट उठेको पैसाले मूलधन तिरिसकेपछि प्र्रतिष्ठानलाई आम्दानीको हिस्सा दिने सम्झौता भएको थियो। खरिद पैसा तिरिसकेपछि मर्मतमै ठिक्क भएको छ। प्रतिष्ठानसँग रकम छैन, वडामै चलाउन इच्छुक व्यक्ति वा संस्थालाई एम्बुलेन्स हस्तान्तरण गर्न तयार छौँ।” 

वडाध्यक्ष धनबहादुर तामाङले यो एम्बुलेन्सबारे खोजबिन गर्न लागिएको जानकारी दिनुभयो। उहाँले भन्नुभयो, “केही कागजात सङ्कलन भएको छ। प्रमुख जिल्ला अधिकारीसँग बसेर निष्कर्षमा पुग्ने योजना बनेको छ। सञ्चालन प्रव्रिmया, मापदण्डलगायत बारे यथार्थ बुझेर वडा, स्वास्थ्य संस्था वा गाउँपालिका कसले सञ्चालन गर्ने हो यकिन गरी समस्या समाधान गर्नेछु।”