रवीन्द्र उप्रेती
बर्दिबास, जेठ १५ गते । मधेश प्रदेशका भौतिक पूर्वाधार विकाशमन्त्री कृष्ण यादवले राजनीतिक स्थिरता नभएसम्म गणतन्त्र सबल र सुदृढ हुन नसक्ने बताउनुभएको छ । गणतन्त्र दिवसको अवसरमा बर्दिबास नगरपालिकाले सोमवार यहाँ आयोजित कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।
मन्त्री यादवले गणतन्त्र आइसक्दा पनि अनावश्यक राजनीति, अस्थिर सरकार, नैतिक विचलनजस्ता कारणले प्राकृतिक स्रोत साधनका अकूत सम्पदा भएर पनि नेपालीहरू जीवन निर्वाहका लागि बिदेसिन बाध्य हुनुपरेको बताउनुभयो ।
‘देशमा साधन स्रोतको कमी भएर हैन, राजनीतिक इच्छाशक्तिको कमीले डेढ दशक बितिसक्दा पनि हामी अघि बढ्न सकेनौ’ उहाँले भन्नुभयो ‘यसको मूल्य जनताले खाडी मुलुकमा गएर चुकाउनु परेकाले गणतन्त्रको औचित्यमाथि नै प्रश्न उठ्न थालेको छ ।’
बर्दिबास नगर प्रमुख प्रल्हाद क्षेत्रीले पुराना व्यवस्थाका तुलनामा गणतन्त्र प्राप्तिपछि विकास निर्माणका कामले गति लिएको बताउनुभयो । मुलुकमा स्थायी शान्ति, राजनीतिक स्थिरता र दिगो विकासका लागि दलीय गठवन्धन बाधक बनेको बताउनुभयो । यसका लागि वर्तमान निर्वाचन प्रणालीमै पुनर्विचार गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
‘स्थिर र एकमना सरकार दिन नसक्ने वर्तमान निर्वाचन प्रणालीमाथि पुनर्विचार किन न गर्ने ?’ क्षेत्रीले प्रश्न राख्नुभयो ‘चुनाव गराउन अरबौँको साधन स्रोत खर्च हुने तर गठवन्धन नगरी सरकारसमेत बनाउन नसकिने वर्तमान निर्वाचन पद्धति नै हाम्रो समस्याको जड त हैन ?’
गणतन्त्र दिवसको अवसरमा महोत्तरी प्रदेश १ (क) की सभासद् शारदा थापा, जिल्ला समन्वय समितिका अध्यक्ष सुमनलाल कर्ण, बारा जिल्ला गढीमाई नगरपालिका प्रमुख श्यामप्रसाद यादवलगायत विभिन्न राजनैतिक दलका प्रतिनिधिले गणतन्त्र आएपछि पनि मुलुकमा अनेकन् समस्या, कमी कमजोरी, विकृति देखा परेको औँल्याउँदै यसको समाधान पनि गणतन्त्रमै खोज्नुपर्ने धारणा राख्नुभयो ।
बर्दिबास नगरपालिकाले आयोजना गरेको प्रभातफेरीमा मधेश प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री कृष्ण यादव, जिल्ला समन्वय समितिका अध्यक्ष सुमनलाल कर्ण, नगर प्रमुख क्षेत्री, नगर पदाधिकारी, विभिन्न दलका प्रतिनिधि, शिक्षक, विद्यार्थी, राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी पेसाकर्मी, नागरिक समाज, सञ्चारकर्मीको सहभागिता थियो ।