• १० मंसिर २०८१, सोमबार

बजेट २०८०/०८१ : उच्च आर्थिक वृद्धिको आधार तयार गर्नेतर्फ जोड

blog

आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्नुहुँदै अर्थमन्त्री डा. प्रकाशशरण महत । तस्बिर : केशब गुरुङ

काठमाडौं, जेठ १५ गते । आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटमा सरकारी, निजी र सहकारी क्षेत्रको लगानी विस्तार गरी उत्पादन, उत्पादकत्व र रोजगारीका अवसर बढाउने, आर्थिक तथा सामाजिक पूर्वाधार निर्माण गरी उच्च आर्थिक वृद्धिको आधार तयार गर्नेतर्फ जोड दिइएको छ ।

सङ्घीय संसद्को संयुक्त बैठकमा आज बजेट प्रस्तुत गर्नुहुँदै अर्थमन्त्री डा. प्रकाशशरण महतले सार्वजनिक स्रोतको समुचित तथा उपलब्धिमूलक परिचालन गर्नुका साथै उपलब्ध अवसर तथा लाभको समन्यायिक वितरण गरी धनी र गरिब बीचको खाडल कम गर्नुपर्ने आवश्यकता महसुस गरी बजेटका उद्देश्य तथा प्राथमिकता तय गरेको बताउनुभयो । 

अर्थतन्त्रलाई गतिशील बनाई फराकिलो, दिगो र समावेशी आर्थिक वृद्धि हासिल गर्ने, गुणस्तरीय सामाजिक विकास, सुरक्षा र न्याय प्रत्याभूत गर्ने, लगानी मैत्री वातावरण निर्माण गरी निजी क्षेत्रको मनोबल उच्च पार्ने र आय तथा रोजगारीका अवसर सिर्जना गरी गरिबी न्यूनीकरण गर्ने, समष्टिगत आर्थिक स्थायित्व कायम गर्ने, सङ्घीयताको सबलीकरण र सुशासन कायम गर्ने, बजेट प्रणालीमा सुधार गरी सार्वजनिक खर्चको प्रभावकारिता अभिवृद्धि गर्ने बजेटका उद्देश्य रहेको अर्थमन्त्री महतले बताउनुभयो ।