• १२ साउन २०८१, शनिबार

बिरामीलाई फलफूल वितरण गरी गणतन्त्र दिवस मनाइयो

blog

त्रियुगा नगरपालिकाका नगरप्रमुख वसन्तकुमार वस्नेतसहितले जिल्ला अस्पतालमा रहेका विरामीलाई फलफूल वितरण गर्नुहुँदै । तस्विर : भक्तिविलास पोखरेल

भक्तिविलास पोखरेल

गाईघाट,जेठ १५ गते । राष्ट्रिय गणतन्त्र दिवस २०८० को अवसरमा सोमबार उदयपुरमा विभिन्न कार्यक्रम आयोजना गरी मनाइएको छ । जसअनुसार त्रियुगा नगरपालिकाले जिल्ला अस्पतालमा रहेका करिब एकसय जना बिरामीलाई फलफूल वितरण गरेको छ । 

नगरप्रमुख वसन्तकुमार बस्नेत, प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम, उपप्रमुख महेश्वरी राईलगायत विभिन्न वडाका वडाअध्यक्ष र नगरपालिका कर्मचारीको समेत सहभागितामा अस्पतालका शैयामा रहेका करिब एक सय जना महिला, बालबालिका, सुत्केरी र ज्येष्ठ नागरिक बिरामीलाई नगरपालिकाले छुट्टाछुट्टै फलफूल वितरण गरेको हो ।

यसैगरी त्रियुगा नगरपालिकाको कृषि शाखाले पाँच हजार चारसय किलोग्राम उन्नत जातको धानको बिउँ किसानलाई वितरण गरेको छ । कृषि ज्ञान केन्द्रमा आयोजित धानको बिउँ वितरण कार्यक्रमको शुभारम्भ गर्नुहुँदै नगर प्रमुख बस्नेतले किसानहरूको जग्गाको क्षेत्रफलका आधारमा आवश्यक पर्ने बिउँ ५० प्रतिशत अनुदानमा वितरण गरिएको बताउनुभयो । 

किसानलाई प्रतिकट्टा एक किलोग्रामको परिमाणमा रातो वास्मति, राधा ५२, सुख्खा २, रञ्जित, राधामाधव र कान्छ मनसुली जातको धानको बिउँ वितरण गरिएको नगर कृषि शाखाका प्रमुख माधव राउतले बताउनुभयो । 

यता, राष्ट्रिय गणतन्त्र दिवस २०८० कै अवसरमा जिल्लास्थित सरकारी कार्यालयमा सरसफाइ गरिएको र सोमवारदेखि बुधबारसम्म तीन दिन साँझ दीपावली गरिने उदयपुरका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले बताउनुभयो । यसैगरी माध्यमिक विद्यालय शिक्षक युनियन उदयपुरले जिल्ला अस्पताललाई स्टिलको एक थान आरामदायी कुर्सी वितरण गरेको सो युनियनका अध्यक्ष नरेश ढकालले बताउनुभयो ।