दिवाकर पोख्रेल
देउखुरी, जेठ १५ गते । पूर्ण अधिकार नआउँदा चुनौती थपिएको छ : मुख्यमन्त्री चौधरी
लुम्बिनी प्रदेशले गणतन्त्र दिवसको अवसरमा कार्यक्रम आयोजना गरी १६ औ गणतन्त्र दिवस मनाएको छ । राजधानी क्षेत्र राप्ती उपत्यका दाङमा सोमबार गणतन्त्र दिवस मनाइएको हो ।
प्रदेश सरकारले गणतन्त्र दिवस तीन दिनसम्म औपचारिक कार्यक्रम गरेर मनाउने जनाइएको छ । आइतबार सांस्कृतिक कार्यक्रम र प्रतियोगिता गरेको प्रदेश सरकारले सोमबार मूल समारोह आयोजना गरी दिवस मनाएको छ । भोलि मंगलबार राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा बिरामीलाई फलफूल वितरण गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।
मुख्यमन्त्री डिल्लीबहादुर चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सभामुख, मन्त्रीहरू, सचिव, कर्मचारी, अन्य निकायका पदाधिकारीहरूको सहभागिता रहेको थियो । कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले अधिकार प्राप्तिको लडाइ भइरहेको बताउनुभयो ।
उहाँले केन्द्र सरकारले प्रदेश र स्थानीय सरकारलाई तोकेअनुसारको अधिकार दिन नसकेको भन्दै प्रदेश सरकारमा पूर्ण अधिकार नआउँदासम्म गणतन्त्र संस्थागतमा चुनौती थपिइरहेको बताउनुभयो । मुख्यमन्त्री चौधरीले सङ्घबाट कुनै न कुनै अधिकार दिन कन्जुस्याइँ गरेको जसलेगर्दा गणतन्त्र संस्थागत हुन चुनौती थपिएको बताउनुभयो ।
मुख्यमन्त्री चौधरीले भन्नुभयो, “अधिकार बाँडफाँटमा केन्द्र सरकारले हस्तक्षेप गर्न भएन । अधिकारहरू प्रदेशमा दिन म ध्यानाकर्षण गराउँदछु । गणतन्त्रको उपलब्धिलाई तल्लो तहसम्म लग्नसके गणतन्त्रप्रति सबैको अपनत्व बढ्छ ।” अहिले पनि तहगत रूपमा संविधानले तोकेको अधिकारहरू प्राप्त हुन नसकेको भन्दै मुख्यमन्त्रीले गणतन्त्र संस्थागत हुन नसक्ने, जनताको अपेक्षा पूरा गर्न नसकिने, आफ्नो दायित्व पूरा गर्न नसक्नेजस्ता समस्या देखिएको औँल्याउनुभयो ।
सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न तीन तहकै सरकार जिम्मेवार बन्नुपर्ने बताउनुभयो । आन्तरिक मामिला कानुन तथा सहकारीमन्त्री सन्तोषकुमार पाण्डेले गणतन्त्र चन्दा चिठ्ठा र दानमा प्राप्त नभएको भन्दै यसको महत्त्व ठुलो रहेको बताउनुभयो । कार्यक्रममा विभिन्न प्रतियोगितामा सहभागी र विजेता टोलीलाई पुरस्कार समेत प्रदान गरिएको थियो ।