• १२ मंसिर २०८१, बुधबार

प्रसिद्ध बेहडाबाबामा लाग्ने मेलाको अवसरमा सार्वजनिक बिदा

blog

कैलालीको प्रसिद्ध बेहडाबाबा मन्दिर।

अविनाश चौधरी

धनगढी, जेठ १५ गते। कैलालीको धनगढी उपमहानगरपालिकाले जेठ १६ गते नगर क्षेत्रमा सार्वजनिक बिदा दिएको छ। 

गङ्गा दशहराको अवसरमा धनगढी उपमहानगरपालिका–१६ स्थित प्रसिद्ध बेहडाबाबा मन्दिरमा लाग्ने धार्मिक मेलाको अवसरमा उपमहानगरपालिकाले सार्वजनिक बिदा दिएको हो। हरेक वर्ष जेठ महिनाको शुक्लपक्ष दशमी तिथिका दिन मनाइने गङ्गा दशहराको अवसरमा बेहडाबाबामा धार्मिक मेला लाग्ने गर्दछ। 

मेला भर्नका लागि नेपाल–भारतबाट ठुलो सङ्ख्यामा तिर्थालु बेहडाबाबा मन्दिर पुग्ने गरेका छन्। बेहडाबाबाको दर्शनका लागि भारतीय तिर्थालु आउनेक्रम सुरु भएको छ। 

बेहडाबाबालाई प्रमुख धार्मिक पर्यटकीय स्थलको रूपमा विकास गर्दै लैजाने उद्देश्य रहेकाले यसको महत्त्वलाईसमेत दृष्टिगत गरेर यसलाई पर्वकै रूपमा मनाउनका लागि एक दिन स्थानीय बिदाको रूपमा सार्वजनिक बिदा दिइएको नगर प्रमुख गोपाल हमालले जानकारी दिनुभयो। सम्पूर्ण सरकारी कार्यालय, शिक्षण संस्था, सङ्घसंस्था बन्द रहने धनगढी उपमहानगरपालिकाले जनाएको छ।