• ७ वैशाख २०८१, शुक्रबार

पशुमा पूर्ण खोप लगाइँदै

blog

अमरराज नहर्की

तनहुँ, जेठ १५ गते । तनहुँका १० वटै पालिकामा पशुमा पूर्ण खोप कार्यक्रम सञ्चालन भएको छ । खोपका माध्यमबाट पशुधनको सुरक्षा तथा उत्पादन वृद्धिका लागि भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले सबै पालिकाका किसानले पालेका पशुलाई खोप लगाउने अभियान सञ्चालन गरेको हो । 

अयिभानको क्रममा पिपिआर दुई लाख ३१ हजार आठ सय २२, खोरेत ९३ हजार दुई सय १५, चर्चरे भ्याकुते ४७ हजार चार सय ८४, स्वाइन फिवर ६१ हजार नौं सय ४, रेविज १४ हजार तीन सय १७ खोप लगाईएको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र तनहुँका प्रमुख डा.बालकुमार श्रेष्ठले जानकारी दिनुभयो । सङ्घ सरकारको पशु सेवा विभाग र गण्डकी प्रदेश सरकारको पशुपंक्षी तथा मत्स्य विकास निर्देशानालयको सहयोगमा खोप लगाईएको उहाँले जानकारी दिनुभयो । 

डा. श्रेष्ठले भन्नुभयो, "पशुधन सुरक्षा गर्नको लागि किसानका पशु फार्म तथा गोठमा पुगेर पशु चौपायाको तथ्याङ्क सङ्कलन, खोपकर्ता नियुक्ती, र अगुवा किसानलाई अभिमुखीकरण गरी प्राविधिकलाई परिचालन गरि खोप लगाइएको हो ।"

यस्तै, पूर्ण खोप अभियानका लागि ६८ जना खोपकर्ता परिचालन गरिएको डा. श्रेष्ठले जानकारी दिनुभयो । किसानको फार्म र गोठमा पुगेर पिपिआर, खारेत, भ्यागुते, चरचरे, स्वाइन फिवर र रेविज रोगविरुद्धको खोप निःशुल्क लगाउने व्यवस्था मिलाइएको केन्द्रले जनाएको छ । केन्द्रका अनुसार पशुलाई महामारीजन्य रोगबाट बचाउन खोप प्रभावकारी उपाय भएकोले खोप अभियान सञ्चालन गरिएको हो । 

पशुबाट मानिस र मानिसबाट पशुमा सर्ने जुनोटिक रोगलाई नियन्त्रण गरी जनस्वास्थ्यलाई पार्ने नकारात्मक प्रभावबाट बचाउन र पशुजन्य रोगको उपचार र नियन्त्रण गर्दा लाग्ने समय र खर्चको बचतका लागि पूर्णखोप कार्यक्रम प्रभावकारी बन्ने विज्ञ केन्द्रले जनाएको छ । गण्डकी प्रदेश सरकारले सङ्क्रामक रोग निर्मूल पार्ने योजना अनुसार प्रदेशलाई नै पूर्ण खोपयुक्त बनाउन ११ वटा जिल्लामा अभियान सञ्चालन गरेकोले तनहुँमा खोप लगाइएको हो । 

रोगको कारणबाट हुने पशुजन्य उत्पादनको गिरावटलाई कम गरी खोपका माध्यमबाट पशुधनको सुरक्षा तथा उत्पादन वृद्धिका लागि सबै पालिकाका पशुमा पूर्ण खोप कार्यक्रम सञ्चालन भइरहेको छ ।

गण्डकी प्रदेश सरकारले पशुमा सङ्क्रामक रोग उन्मूलन गरी गुणस्तरीय पशुजन्य उत्पादन सुनिश्चित गर्ने उद्देश्यले आगामी तीन वर्षभित्रमा प्रदेशका ८५ वटै पालिकामा पूर्ण खोप कार्यक्रम कार्यान्वयनको योजनानुसार तनहुँमा चालु आर्थिक वर्षमा कार्यक्रम सुरु गरिएको हो । केन्द्रका अनुसार विज्ञ केन्द्रका प्राविधिक कर्मचारी कृषकका पशु फार्म तथा गोठमा पुगेर गाई, भैँसी, बाख्रा तथा भेडाको तथ्याङ्क सङ्कलन गर्ने र खोप लगाईरहेका छन् । 

“महामारिजन्य रोगबाट बचाउन र कृषकले पशु पंक्षीमा गरेको लगानीको सुरक्षा र सम्भावित क्षतिलाई रोक्न पशुहरूमा खोप लगाउनु आवश्यक छ”, केन्द्र प्रमुख श्रेष्ठले भन्नुभयो, "खोप कार्यक्रममा गाईभैँसीलाई खोरेत र भेडाबाख्रामा पिपिआर र खोरेत, बङ्गुरलाई हैजा र कुकुरलाई रेविजविरुद्धको खोप लगाइएको हो ।" 

सुरुवातमा सबै पालिकामा गणक पुगेर पशुवस्तुको तथ्याङ्क यकिन गर्ने काम सकिएको छ । दोस्रो चरणमा आवश्यक खोप व्यवस्था गरी खोपको लगाउने काम भइरहेको छ।