• २ पुस २०८२, बुधबार

पाँच महिनामा साढे दुई लाख पर्यटक मुस्ताङ पुगे

blog

उपल्लो मुस्ताङको तिब्वतसँग सिमाना जोडिएको कोरला नाकामा पर्यटक । माथिल्लो मुस्ताङ जाने पर्यटकको पहिलो रोजाइ लिजी–नेचुङ नाका (कोरला) पर्छ । तस्बिर : हरिकृष्ण शर्मा

हरिकृष्ण शर्मा 

मुक्तिनाथ (मुस्ताङ), पुस २ गते । कठ्याङ्ग्रिँदो चिसोसँगै मुस्ताङको माथिल्लो क्षेत्रका बस्तीहरू सुनसान बन्दै जान थालेको बेला मङ्गलबार बेनी–जोमसोम–कोरला सडकबाट सवारीसाधनमा १६ सय ७ जना मुस्ताङ भित्रिए । 

विश्वप्रसिद्ध अन्नपूर्ण पदमार्गको थोरङला पास हुँदै ५४ जना विदेशी पर्यटक प्रवेश गरे भने प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिरमा ११ सय ५० जना तीर्थालुले दर्शन गरेका छन् । मुस्ताङमा साना ठुला सवारीसाधन ३ सय ५ प्रवेश  र २ सय ५१ वटाबाट १५ सय ४९ बाहिरिएका छन् । यो पुस १ गते मङ्गलबार जिल्ला प्रहरी कार्यालय सञ्चार शाखाबाट प्राप्त विवरण हो । 

मङ्सिर महिनाको अवधिभर विदेशी पर्यटक ६ हजार ६ सय ७९ जना,  स्वदेशी पर्यटक ४२ हजार ३ सय ७१ जना गरी कुल ४९ हजार ५० जनाले मुस्ताङको भ्रमण गरेकोमा उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकामा १ सय ४९ जना, विश्वप्रसिद्ध अन्नपूर्ण पदमार्गको थोरङ्ला पास हुँदै  मुक्तिनाथ हुँदै आउने विदेशी पर्यटकको सङ्ख्या १५ सय ७५ जना छ । कठ्याङ्ग्रिँदो जाडोमा पनि मुस्ताङमा प्रवेश गर्ने र बाहिरिने पर्यटकको चहलपहल छ । 

चालु आर्थिक वर्ष २०८२-०८३ सालको साउनदेखि मङ्सिर महिनासम्मको अवधिमा २ लाख ५१ हजार ४ सय १ जना स्वदेशी तथा विदेशी पर्यटकले मुस्ताङको भ्रमण गरेका छन् । 

जिल्ला प्रहरी कार्यालयका अनुसार साउन महिनामा विदेशी पर्यटक ७ हजार ९ सय ५० जना,भदौ ९ हजार ६ सय ५५ जना, असोज ९ हजार ८ सय ५९ जना, कात्तिक १३ हजार ९ सय ६६ जना छन्। त्यसैगरी स्वदेशी पर्यटकतर्फ साउन ११ हजार ८ सय ३१ जना, भदौ १३ हजार ५ सय ५० जना, असोज ६५ हजार ७ सय ४० जना, कात्तिक ६९ हजार ८ सय जना छन् । जाडोयाममा अधिकांस धार्मिक तथा पर्यटक तल्लो मुस्ताङका तीन स्थानीय तहमा रहेका धार्मिक तथा पर्यटकीय स्थलको भ्रमणमा देखिन्छन् । पर्यटकको सिजनका तुलनामा सङ्ख्या पातलो भए पनि जाडोको प्रवाह नगरी बालबालिकादेखि वृद्धवृद्धासम्म मुस्ताङमा प्रवेश गरेको जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी सन्तोष बस्यालले बताउनुभयो । 

प्रहरी निरीक्षक बस्यालले भन्नुभयो, ‘‘मुस्ताङ प्रवेश गर्ने अधिकांश पर्यटक नै हुन्छन्, यो बेलामा छोटो समय बिताउने गरेको पाइन्छ ।’’ जाडोयाममा दीर्घरोगी तथा बालबालिकालाई समस्या हुने भएकाले प्रहरी चौकी घाँसामा पर्यटकलाई माथिल्लो क्षेत्रको अवस्थाका बारेमा जानकारी गराउने गरिएको प्रहरी निरीक्षक बस्यालको भनाइ छ । 

जाडोयाममा विदेशी र स्वदेशी पर्यटकको चहलपहल उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकामा न्यून रहेकोे अन्नपूर्ण संरक्षण क्षेत्र इलाका कार्यालय लोमान्थाङले जनाएको छ। एक्याप लोमान्थाङका प्रमुख उमेश पौडेलका अनुसार बिहान र बेलुकीको समय उपल्लो मुस्ताङको तापक्रम माइनस डिग्री सेल्सियसमा झर्ने गरेको छ । मुस्ताङ उद्योग वाणिज्य संघका अध्यक्ष राजु लालचनले जाडोयाममा आउने पर्यटकको बसाइ अवधि छोटो हुने बताउनुभयो ।

अध्यक्ष लालचनले भन्नुभयो,‘‘अघिल्लो महिना सामूहिक भ्रमण टोलीको सङ्ख्या धेरै थियो, फाटफुट पर्यटक ओहोदोहोर निरन्तर हुन्छ ।’’जाडोयाममा भित्रिएका करिब ९५ प्रतिशतभन्दा बढी स्वदेशी तथा भारतीय प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिरमा पुग्ने गरेको अध्यक्ष लालचनको भनाइ छ । प्राचीन गुफा, बस्तीभन्दा टाढा रहेका मानवनिर्मित गुफा, गुम्बा, उजाड पहाड, मुस्ताङीको कला र संस्कृति, हावापानी र आकर्षक पर्यटकीय गन्तब्य मुस्ताङका प्रमुख आकर्षण हुन्। पछिल्लो समय बेनी–जोमसोम–कोरला सडक कालोपत्रे भएपछि दुई पाङ्ग्रे सवारीसाधनमा जाने पर्यटकको सङ्ख्या ह्वात्तै बढेको छ ।