नवराज नेपाली
बागलुङ (गलकोट), पुस २ गते । हिंसा पीडितहरुको उद्दार, मनोपरामर्श र पुनस्थापनामा बागलुङ नगरपालिकाले उदाहरणीय कार्य प्रस्तुत गरेको छ । बागलुङ नगरपालिकामा रहेको हिंसा प्रभावितहरुको सेवा केन्द्रले प्रभावकारी रुपमा हिंसापीडित महिला, बालबालिका तथा पुरुषको सेवामा प्रभावकारी काम गर्दै अविभवकीय भूमिका खेलेको छ ।
नगरपालिकाले नगरको मात्रै नभएर जिल्लाकै हिंसापीडितलाई सेवा दिन सफल भएको छ । गत वर्ष ७२ जना हिंसापीडितको उद्दार, राहत र पुनस्थापना गरेको छ भने चालु आर्थिक वर्षमा २१ जनालाई सेवा प्रदान गरिसकेको छ ।
चालु वर्षको चार महिनामै २१ जनालाई सेवा प्रदान गरेको छ । आर्थिक वर्षको २०८२-८३ को पहिलो चौमासिक समयमा २१ जना हिंसा प्रभावितहरुलाई सेवा प्रदान गरिएको बागलुङ नगरपालिकाले जनाएको छ ।
पहिलो चौमासिकमा बागलुङ नगरपालिकाका १० जना, जैमिनी नगरपालिकाका २ जना, गलकोट नगरपालिकाबाट १ जना, तमानखोला गाँंपालिकाबाट १ जना, काठेखोला गाउँपालिकाबाट ३ जना तथा जिल्ला बाहिरका २ जनाालाई सेवा दिइएको थियो । जसमध्ये २० जनालाई आश्रय सेवा, २ जनालाई लुगा कपडा, २ जनालाई मुद्धा दर्ता र तारेखमा सहजिकरण गरिएको थियो ।
हिंसाको प्रकृति हेर्दा १ जना बेवारिसे फेला परेका थिए भने मानसिक ५ जना, आर्थिक हिंसामा १ जना, यौनजन्यमा ६ जना तथा घरेलु हिंसामा ८ जना रहनु भएको थियो । २१ मध्ये १३ जना सोझै सेवा केन्द्रमा आउनु भएको थियो भने अन्यलाई अन्य निकायबाट र उद्दार गरी ल्याइएको थियो ।
जिल्ला प्रहरी कार्यालयबाट ६ जना तथा वडा कार्यालयबाट २ जनालाई सेवा केन्द्रमा लयाइएको बागलुङ नगरपालिकाका नगर उप प्रमुख एवं हिंसा प्रभावितहरुको सेवा केन्द्र व्यवस्थापन समितिका संयोजक राजु खड्काले जानकारी दिनुभयो ।
यसैगरी आर्थिक वर्ष २०८१-८२ मा सेवा केन्द्रमा जम्मा ७२ निवेदनहरु दर्ता भएका थिए । जसमा ९ वटा शारीरिक, १३ वटा मानसिक, ८ वटा आर्थिक, १० वटा यौनजन्य तथा ३३ अन्य रहेका थिए । लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान चलिरहेकै बेला ३ वटा गम्भिर प्रकृतिका घटना घटेका छन् ।
यी घटनालाई सेवा केन्द्रले सहजिकरण गरिरहेको खड्काले बताउनुभयो । “हाम्रो परम्परागत मूल्य, मान्यता, सोच र शैलीमा साच्चैको परिवर्तन गर्नै पर्छ, घर परिवार र समुदायमा आपसमा निगरानी र बिद्यालयहरुमा पनि असल शिक्षा जरुरी छ” खड्काले भन्नुभयो “संघीय, प्रदेश, स्थानीय सरकार तथा गैर सरकारी निकायमा महिला मैत्री नीति तथा कार्यक्रम र योजनासँगैको व्यवहारमा उचित ध्यान दिन जरुरी छ ।” समुदायमा विशेषगरी महिलाहरुका लागि आर्थिक विकास, रोजगारी, शिपमुलक कार्यक्रममा जोड्न जरुरी रहेको खड्काको भनाइ छ ।