• ८ वैशाख २०८१, शनिबार

विकास एवं समृद्धितर्फ लम्किने आधार गणतन्त्र: प्रदेश प्रमुख शर्मा

blog

हेटौँडा, जेठ १५ गते । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले गणतान्त्रिक व्यवस्थाका कारण देशलाई सुशासन, विकास एवं समृद्धिको पथमा लम्किने आधार निर्माण भएको बताउनुभएको छ । 

सोह्रौँ गणतन्त्र दिवसका अवसरमा सोमबार शुभकामना सन्देश दिँदै उहाँले गणतन्त्रात्मक व्यवस्थाका कारण हामी सङ्घीयता, धर्मनिरपेक्षता, समानुपातिकता एवं समावेशितासहितको संविधान प्राप्त गर्दै अधिकार सम्पन्न नागरिक बनेको बताउनुभएको छ । 

नेपाल शाह वंशीय राजतन्त्रात्मक शासन व्यवस्थाको अन्त्य भई सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामा प्रवेश गरेको ऐतिहासिक र गौरवमय दिनका रूपमा गणतन्त्र दिवस भएको भन्दै प्रमुख शर्माले शुभकामना सन्देशमा ऐतिहासिक जनआन्दोलन २०६२÷०६३ को वसन्त क्रान्तिको जगमा नेपाली जनताका प्रतिनिधिमार्फत २०६५ जेठ १५ गते संविधानसभाको पहिलो बैठकबाट हाम्रो देशलाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुक घोषणा गरिएको उल्लेख गर्नुभएको छ । ‘यो दिनलाई हामी वंश परम्परामा चलिआएको निरङ्कुश, केन्द्रीकृत र एकात्मक शासन व्यवस्थाको अन्त्य गर्दै नेपाली जनतालाई सार्वभौमसत्ता सम्पन्न बनाउने दिनका रूपमा स्मरण गर्दछौँ’ प्रदेश प्रमुखले शुभकामना सन्देशमा भन्नुभएको छ । 

नेपालको संविधानले मौलिक हकका रूपमा व्यवस्था गरेका सम्मानपूर्वक बाँच्न पाउने, स्वतन्त्रता, समानता, शिक्षा, स्वास्थ्य, रोजगारी, सामाजिक न्याय, सामाजिक सुरक्षा, श्रम, महिला, बालबालिका, दलितका हक जस्ता विषय हाम्रा लागि अत्यन्त सुखद र खुसीको विषय भएको प्रमुख शर्माले सन्देशमा भनिएको छ । उहाँले प्राप्त उपलब्धिको रक्षा र कार्यान्वयन गर्दै अघि बढेमा गणतन्त्र थप दिगो र दरिलो हुँदै जनताको जीवनमा सार्थक र सकारात्मक परिवर्तन अवश्य हुने विश्वाससमेत लिनुभएको छ । 

आजको ऐतिहासिक दिनको सन्दर्भलाई स्मरण गरिरहँदा हामीले प्राप्त गरेको उपलब्धिमाथि धावा बोल्नेबाट सचेत रहँदै मुलुकको भौगोलिक अखण्डता, सार्वभौमिकता,राष्ट्रिय एकता, स्वाधीनता र स्वाभिमानलाई अक्षुण्ण राख्दै संविधानको मर्म र भावना अनुसार चल्नु हामी सबै नागरिकको दायित्व भएको प्रमुख शर्माको भनाई छ । 

हाम्रो जीवनलाई आर्थिक,सामाजिक र सांस्कृतिक रूपान्तरणसहित सभ्य र सुसंस्कृत बनाउँदै समुन्नत समाज निर्माणमा गणतन्त्रले सदैव मार्ग प्रशस्त गरोस् भन्ने कामना प्रमुख शर्माले आफ्नो सन्देशमा गर्नुभएको छ । 

साथै, देश निर्माणको महाअभियानमा लामबद्ध हुन सबैलाई यो दिवसले प्रेरणा मिलोस् प्रमुख शर्माले शुभकामना सन्देशमा भन्नुभएको छ ।  

Author

राममणि दाहाल