गणेश पौडेल
पर्वत, जेठ १४ गते । उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी कोरिडोरअन्तर्गत पर्वत खण्डको भौतिक प्रगति ६५ प्रतिशत भएको छ । कोरिडोरको पर्वत खण्डमा पर्ने सेतीबेणीदेखि अर्मादीसम्मको ५५ किलोमिटर सडकमध्ये १९ किलोमिटर सडक कालोपत्रे भएको हो ।
कोरिडोरको अधिकांश ठाउँमा स्तरोन्नति भई कालोपत्रे हुने चरणमा रहेका छ भने बाँकी काम ट्रयाक ओपन भई फाउण्डेशनको काम भइरहेको छ । यो सडक कालोपत्रे भएसँगै पर्वतको दक्षिणी भेगलाई सदरमुकाम पहुँचमा सहज भएको छ ।
कालीगण्डकी कोरिडोर आयोजना गैँडाकोट—राम्दी खण्डका आयोजना प्रमुख शङ्कर पौडेलका अनुसार रानीपानीदेखि फलेवास ढिकसम्मको २२ किलोमिटर सडकमा अझै ३ किलोमिटर सडक कालोपत्रे गर्न बाँकी रहेको छ । बर्राचौरस्थित खबरको भीर र पाङराङदेखि फलेवासको ढिकसम्म अव ३ किलोमिटर सडक कालोपत्रे गर्न बाँकी रहेको हो ।
आयोजनाका अनुसार सेतीवेणीदेखि रानीपानीसम्मको ७ किलोमिटर तयारी अवस्थामा रहेको छ भने खबरको भीरमा ढलानको काम भइरहेको छ । यस्तै पाङराङको कर्नास खोलादेखि फलेवास ढिकसम्मको सडकमा १ किलोमिटर बाहेकको काम पनि कालोपत्रेको अन्तिम तयारीमा रहेको आयोजनाको भनाइ छ ।
कुर्घाको भिरदेखि फलेवासको ढिकबीचको सडकमा काम गर्न केही समस्या भए पनि जेठ महिनाभित्रमा कर्नास खोलादेखि कुर्घा भीरसम्मको भागमा समेत कालोपत्रे गर्ने तयारी भइरहेको आयोजना प्रमुख पौडेलले जानकारी दिनुभयो ।
आयोजनाका अनुसार छिटो काम सक्नका लागि धेरै निर्माण कम्पनीलाई खण्ड खण्डमा काम गर्न टेण्डर गरिएको हो । सेतीबेणीदेखि पर्वतको रानीपानीसम्म ७ किलोमिटर सडकमा प्यासिफिक जलजला जे.भी.ले कालोपत्रेको काम सुरु गरिसकेको र केही दिनमा पूरा हुने आयोजनाले जनाएको छ । यो खण्डमा ६५ प्रतिशतभन्दा बढी सकिएको छ । रानीपानीदेखि फलेवास ढिकसम्मको २२ किलोमिटर सडक खण्डमा पनि कालोपत्रे गर्न दुई निर्माण कम्पनीले धमाधम काम गरिरहेका छन् ।
सो खण्डको रानीपानीदेखि खबरको भिरसम्म ६ किमी.सडकको काम महालक्ष्मी पाण्डे एण्ड कम्पनी जे.भी.ले गरेको छ । खबरको भिरदेखि फलेवास ढिकसम्मको सडक खण्डको १६ किमी.मा स्वच्छन्द वर्डवाईड ओमबुद्ध जे.भी.ले स्तरोन्नति र कालोपत्रे गर्ने काम गरिरहेको छ । सेतीवेणीदेखि फलेवास सडक खण्ड यसै आर्थिक वर्षमा नै कालोपत्रे सम्पन्न गर्ने लक्ष्य छ ।
यता फलेवासदेखि अर्मादीसम्मको भागमा भने सोचेअनुसार प्रगति भएको छैन । ढिकदेखि मोदीबेणीसम्मको भागमा ट्रयाक ओपन भई केही स्तरोन्नतिका काम भए पनि अन्य फाउण्डेशनको काम हुन नसकेको बताइएको छ । यस्तै, मोदीबेणीदेखि अर्मादीसम्मको भागमा मोदीबेणीस्थित भीरमा काम गर्न समस्या भएकाले केही ढिलाइ भएको आयोजना प्रमुख पौडेलले बताउनुभयो ।
कोरिडोरको मिर्मिमा मोटरेबल पुल, मोदीवेणीमा र सेतीवेणीमा पनि मोटरेबल पुलको काम सकिएको छ भने फलेवास र कुर्घाबीचको लमाए खोलामा पुल निर्माणको काम सुरु गरिएको छ ।