• १५ चैत २०८०, बिहिबार

असिना पानीले जौँ, गहुँ र उवा बाली नष्ट

blog

असिनाले क्षति गरेको जौं र गहुँ बाली । तस्बिर : राजन रावत

राजन रावत

हुम्ला, जेठ १३ गते । दक्षिणी क्षेत्रको चङ्खेली गाउँपालिका – ३ को मेखाला गाउँमा लगाएको बाली जौं,  गहुँ र उवा नष्ट भएको छ । चार दिनदेखिको अविरल वर्षासँगै आएको असिना पानीले सो बाली नष्ट गरेको हो । 

मेलाखा गाउँका किसान रामबहादुर ऐडीले पाकेर भित्र्याउन लागेको जेठासी बाली (जौ, उवा र गहुँ) असिना पानीले नष्ट गरेको बताउनुभयो । भित्र्याउन लागेको बालीलाई असिनाले ढालेर सोतरै बनाएको बताउँदै सिङ्गो गाउँको बालीमा क्षति पुगेको बताउनुभयो । 

उहाँको मात्र आठ हल जेठासी बालीमा क्षति पुगेको छ । पाकेको बालीलाई क्षति पुगेपछि किसानलाई खाद्यान्न समस्या हुने देखिएको छ । क्षतिको कारण सिङ्गो गाउँका किसान चिन्तित बनेको बताउँदै उहाँले राहतका लागि गाउँपालिका, प्रदेश सरकार र सङ्घ सरकारसँग आग्रह गर्नुभयो । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक भिमलाल भट्टराईले अविरल वर्षासँगै परेको असिना पानीका कारण मेखाला गाउँका ५० घरधुरीको गहुँ, जौ र उवामा क्षति पुगेको बताउनुभयो । असिनाबाट तीन सय रोपनी जग्गामा लगाएको बाली नष्ट भएको प्रहरीले जनाएको छ । 

तीस लाख असी हजार मूल्य बराबरको बाली नष्ट भएको किसानको भनाइ छ । असिनाले उक्त गाउँको खेतमा लगाएको बालीहरू सिमी, फलफूल, मकै र आलु लगायतमा पनि क्षति गरेको छ ।