• १४ मंसिर २०८१, शुक्रबार

तीन पालिकालाई बालश्रम मुक्त बनाउने अभियान

blog

कपिलवस्तुको एक इँटा उद्योगमा काम गर्दै बाल श्रमिक । तस्बिर : जानु पाण्डे

जानु पाण्डे

कपिलवस्तु, जेठ १२ गते । कपिलवस्तुको तीन पालिकाले बालश्रम मुक्त बनाउने अभियान चलाउने भएको छ । जिल्लाको बुद्धभूमि नगरपालिका, शिवराज नगरपालिका र कपिलवस्तु नगरपालिकाले बालश्रम मुक्त नगर बनाउने योजना बनाएको हो । 

नीति निर्माण, कार्ययोजना निर्माण, तथ्याङ्क सङ्कलन र योजना परिचालनका क्षेत्रमा काम गर्ने बुद्धभुमि नगरपालिकाका नगरप्रमुख केशवकुमार श्रेष्ठले बताउनुभयो । मेयर श्रेष्ठले भन्नुभयो, ‘बुद्धभूमिले नगरको पहिलो कार्यपालिका बैठकबाट बालमैत्री अभ्यासमा जाने निर्णय गरेको थियो । 

जसअनुसार बाल विवाह मुक्त, बाल सहभागिता, बालश्रम न्यूनीकरणको क्षेत्रमा काम गर्दैआएका थियौँ । आउने वर्षमा पालिकाका केही वडालाई बालश्रम मुक्त घोषणा गरी कामको थालनी गर्नेछौँ ।

सन २०२१ मा प्रकाशन गरिएको नेपाल बालश्रम रिपोर्टअनुसार १५.३ प्रतिशत बालश्रमको तथ्याङ्क रहेको छ । ५ देखि १७  वर्ष उमेर समूहका ११ लाख बालश्रमिक रहेका छन् । सबैभन्दा धेरै बाल श्रमिक कर्णाली प्रदेशमा रहेको तथ्याङ्कमा उल्लेख छ । निकृष्ट प्रकृतिको बालश्रम हुनेमा लुम्बिनी प्रदेश रहेको छ । सो तथ्याङ्क अन्तर्राष्ट्रिय श्रमिक अर्गनाइजेशनले सन २०१७–२०१८ मा सर्वेक्षण गरिएको थियो ।

देशभरका ३० पालिकालाई बालश्रम मुक्त घोषणा गराउन स्वतन्त्र अभियान नेपालले अभियान सञ्चालन गरेको संस्थाका सिनियर कार्यक्रम अधिकृत प्रतीक्षा केसीले बताउनुभयो । जसअनुसार कपिलवस्तुका ३ पालिकामा पहिलो चरणमा कार्यपालिकालाई अभिमुखीकरण गर्ने काम सम्पन्न गरिएको छ ।

कपिलवस्तुमा पछिल्लो तीन वर्षदेखि इँटा उद्योगमा हुने बालश्रम अन्त्यका लागि कार्यक्रम सञ्चालन भएको दलित मानव अधिकार निगरानी समितिका अभियन्ता मिना  परियारले बताउनुभयो । कार्यक्रम सञ्चालनपछि बाल श्रमिकको सङ्ख्या न्यून हुँदैगएको छ ।