गोविन्द शर्मा
बाँके, जेठ १२ गते । सडक निर्माण गरिँदा सबैभन्दा झन्झटिलो काम रुख विरुवा काट्नेमा हुनेगरेको छ । नेपालगञ्ज–गुलरीया सडक स्तरोन्नतिको काम अघि बढेपछि भने छोटो समयमै सडकको बीचभागमा पर्ने रुखहरु हटाइएको छ । सडकका पोलहरु सारिएका छन् ।
यसैगरी प्रारम्भिक चरणमा माटो पटान, नाली निर्माण र ग्रावेल गर्ने काम समेत द्रुतगतिमा अघि बढेको छ । हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय नेपालगञ्जका ईञ्जिनियर कृष्ण पाण्डेले नेपालगञ्ज गुलरिया सडक खण्ड विस्तार हालसम्म द्रुतगतिमा निर्माण कार्य अघि बढेको बताउनुभयो ।
गत वर्ष भदौंमा टेण्डर भए पनि मङ्सिरमा सम्पन्न निर्वाचनपछि काम अघि बढेकोमा हालसम्म प्रारम्भिक चरणको काम द्रुत गतिमा अघि बढेको कार्यालयले जनाएको छ । सडक किनारमा रहेका ४१५ रुखहरु हटाइएको छ । वन कोषमा करिब ६५ लाख रुपियाँ जम्मा गरेर कटान गरिएका रुखहरु सडक डिभिजन परिसरमा राखिएका छन् ।
ईञ्जिनियर खड्काले भन्नुभयो, ‘रातदिन नभनी सडक निर्माणको काम भइरहेको छ, बजेटमा कमी नहुने हो भने एक वर्षभित्रै काम सम्पन्न गर्ने निर्माण कम्पनीले प्रतिवद्धता जनाएको छ ।’
यसैगरी खजुरा खण्डमा दशैंसम्म कालोपत्रे गर्ने तयारी रहेको खड्काले बताउनुभयो । यो सडकको समयावधी तीन वर्षको छ । तर बजेट अभावमा काम गरेको करिब १५ करोड रुपियाँ निर्माण कम्पनी शर्मा एण्ड कम्पनीलाई भुक्तानी दिन बाँकी रहेको हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय नेपालगञ्जकले जनाएको छ ।
आगामी बजेटको सिलिङ समेत घटेकाले निर्माण कम्पनीले लिएको लक्ष्यअनुसार समयमै काम हुने अवस्था भने नभएको कार्यालयले जनाएको छ । नेपालगञ्ज–गुलरीया करिब ३३ किलोमिटर सडक स्तरोन्नतिका लागि दुई अर्ब ६९ करोडमा शर्मा एण्ड कम्पनीले निर्माणको जिम्मा पाएको थियो ।