• ८ वैशाख २०८१, शनिबार

एसडिजी स्तरोन्नतिमा सहकार्य प्रस्ताव

blog

काठमाडौँ, जेठ १२ गते । मुलुकको दिगो विकास लक्ष्य (एसडिजी) र विकासशीलमा स्तरोन्नतिको प्रयासमा नेपाल उद्योग वाणिज्य महासङ्घले पनि सहकार्य गर्ने चासो देखाएको छ । महासङ्घ अध्यक्ष चन्द्रप्रसाद ढकाल र नेपालका लागि संयुक्त राष्ट्रसङ्घका आवासीय संयोजक हाना सिङ्गर हमदीबिच आज महासङ्घ सचिवालयमा भएको भेटमा यसबारे छलफल भएको महासङ्घले जनाएको छ । 

उक्त भेटवार्तामा दुई संस्थाबीच दिगो विकासका लक्ष्यहरू कार्यान्वयन र अति कम विकसित मुलुकबाट नेपालको स्तरोन्नतिबाट पर्न सक्ने प्रभाव न्यूनीकरणका लागि सहकार्य गर्ने विषयमा छलफल भएको जनाइएको छ । साना तथा मझौला उद्योग व्यवसायको क्षमता विकास, दक्ष जनशक्ति उत्पादन, निजी क्षेत्र र तीनै तहका सरकारसँग पनि सहकार्य गर्ने विषयमा पनि छलफल भएको थियो । 

अध्यक्ष ढकालले मुलुकभर स्थापित बलियो सञ्जाल र तल्लो तहसम्म पुग्न सक्ने संरचना महासङ्घको भएको उल्लेख गर्दै दिगो विकास लक्ष्य पूरा गर्न महासङ्घ साझेदार बन्न सक्ने बताउनुभयो । 

आवासीय संयोजक हानाले दिगो विकास लक्ष्य र स्तरोन्नति विशेष चासोको विषय रहेको उल्लेख गर्दै यो क्षेत्रमा महासङ्घको भूमिका प्रभावकारी हुने उहाँको धारणा थियो । 

स्तरोन्नतिलाई सहज बनाउन रणनीति तयार पार्ने क्रममा  सरकार, निजी क्षेत्र र संयुक्त राष्ट्रसङ्घले सहकार्य गर्न सक्ने उहाँले बताउनुभयो । 

सो अवसरमा महासङ्घका महानिर्देशक गोकर्णराज अवस्थीले दिगो विकासका लक्ष्यहरू र आर्थिक स्तरोन्नतिमा महासङ्घका तर्फबाट अहिलेसम्म भएका प्रयासका सम्बन्धमा जानकारी गराउनुभएको थियो । 

उक्त औपचारिक भेटवार्तामा संयुक्त राष्टसङ्घ नेपाल कार्यालय र महासङ्घ सचिवालयका अधिकारीको उपस्थिति थियो ।