• ६ जेठ २०८१, आइतबार

कालीकोटमा खाद्यान्न अभाव

blog

प्रेमराज सिम्खडा

कालीकोट, जेठ १२ गते । कालीकोट जिल्लामा खाद्यान्न अभाव हुने भएको छ । सरकारले दिँदै आएको चामल अभाव हुँदा अहिले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मान्मको गोदाम रित्तो हुन पुगेको छ । 

सरकारको फितलो तयारी र व्यवस्थाका कारण कर्णालीमा हरेक वर्ष खाद्यान्न अभाव हुने गरेको छ । कर्णालीलगायतका दुर्गम स्थानमा खाद्यान्न ढुवानी गर्न सरकारले बजेट विनियोजन गरे पनि कमिसनको चक्करमा ढुवानी हुन नसक्दा सर्वसाधारणले समयमा चामल पाउन कठिन हुने गरेको छ ।

दैनिक २० क्विन्टलदेखि ३० क्विन्टलसम्म चामल बिक्री  हुने कालीकोटमा तोकिएको समयमा चामल ढुवानी नहुँदा खाद्यान्नको चरम अभाव भएको कार्यालय जनाएको छ । 

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कालीकोट शाखा प्रमुख कमलराल पाण्डेले नेपालगन्ज र बर्दियादेखि आउने चामल समयमै नआउँदा कालीकोट जिल्लामा खाद्यान्नको अभाव भएको बताउनुभयो । सुर्खेतबाट आउने चामल ठेकेदारले समयमै ल्याउन नसक्नु, नेपालगन्ज र बर्दियामा पनि चामल नहुँदा कालीकोटमा खाद्य अभाव भएको प्रमुख पाण्डेको भनाइ छ । 

कुनै बेला सरकारले अनुदानमा दिने खाद्य लुछाचुडी हुने भए पनि अन्य समयमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको चामल कम बिक्री  हुने गरेको थियो । पछिल्लो समयमा बजार मूल्य बढेका कारणले सरकारी अनुदानको चामल बढी बिक्री  हुने गरेको छ । सरकारले तोकेको कोटाभित्रको नौ हजार क्विन्टल चामल खपत भइसकेको छ । 

कालीकोट डिपोले यस वर्षका लागि १२ हजार क्विन्टल चामल माग गरेको थियो । नौ हजार सकिएको र अब तीन हजार क्विन्टल चामल आउन बाँकी छ । 

किसानले असार लगाउन र कामको सिजनमा खाद्य मौज्दात गर्ने समय यति बेला भएको भए पनि गोदाममा चामल नहुँदा खाली फर्किने गरेका छन् । अहिले जसोतसोे गोदाममा जम्मा तीन सय क्विन्टल मध्यम खालको अरुवा चामल मात्र छ । 

जिल्ला कृषि विकास कार्यालय कालीकोटले गरेको सर्वेक्षणमा जिल्लामा खडेरी, सिँचाइको अभाव, खाने बानीमा सुधार नहुनुलगायतका समस्याले खाद्य असुरक्षा बढ्दै गएको देखिन्छ । खाद्य असुक्षित कालीकोटमा ४० प्रतिशत मानिस छ महिना मात्रै आफ्नो उत्पादनले खान पुग्ने छन् । कृषिमा आत्मनिर्भर हुन नसक्दा ५५ प्रतिशत मानिसको उमेर अनुसार उचाइ र तौल नभएको स्वास्थ्य सर्वेक्षणले देखाउँछ ।