• ८ वैशाख २०८१, शनिबार

सोहन र पेमा उत्कृष्ट बक्सर

blog

बक्सिङमा पदक विजेता खेलाडी ।

काठमाडौं, जेठ ११ गते । मकवानपुरका सोहन राई र काभ्रेकी पेमा लामा जारी दोस्रो बागमती प्रदेश खेलकुदको बक्सिङ प्रतियोगितामा उत्कृष्ट बक्सर घोषित हुनुभएको छ । 

हेटौँडास्थित हेटौडा कभर्डहलमा सम्पन्न बक्सिङ प्रतियोगितामा पुरुष ६३ केजी तौल समूहमा स्वर्ण विजेता सोहन र महिला ५७ केजीमा स्वर्ण विजेता पेमा उत्कृष्ट बक्सर हुनुभएको हो । सोहनले फाइनलमा सिन्धुपाल्चोकका प्रज्वल श्रेष्ठलाई ५–० ले हराउनुभयो ।

पेमाले भने फाइनलमा चितवनकी नतिसा थापामगरलाई ५–० ले नै नै हराउनुभयो । प्रतियोगितामा काभ्रे ७ स्वर्ण, २ रजत र २ कांस्यसाथ टिम च्याम्पियन बन्यो । समान ३–३ स्वर्ण, रजत र कांस्यसाथ काठमाडौं दोस्रो भयो । तेस्रो स्थानमा चित्त बुझाएको भक्तपुरले ३ स्वर्ण जित्यो । 

पुरुष ४८ केजीमुनि काभ्रेका लक्ष्मण राईले स्वर्ण र ललितपुरका प्रकाश कठायतले रजत पदक जित्नुभयो । पुरुष ५१ केजीमुनि काभ्रेका लालप्रसाद उप्रेती र ५४ केजीमा काठमाडौंका मदनकृष्ण डङ्गोलले स्वर्ण जित्नुभयो । फाइनलमा लालप्रसादले मकवानपुरका शशी विक र मदनले काभ्रेका सुलभ डङ्गोललाई समान ५–० ले हराउनुभयो । 

५७ केजीमा नुवाकोटका निरञ्जन मोक्तानले फाइनलमा ललितपुरका रोशन आछामीलाई ३–३ ले हराउँदै स्वर्ण जित्नुभयो । ६० केजी तौलसमूहमा ललितपुरका सागर दर्जी र ६७ केजीमा ललितपुरकै विकास रानामगरले मकवानपुरका अनीश मुलामीलाई अङ्कका आधार हराउँदै स्वर्ण जित्नुभयो । 

यस्तै पुरुषको ६७ केजी तौलसमूहमा सिन्धुपाल्चोकका चन्द्रबहादुर तामाङलाई ५–० ले हराउँदै स्वर्ण, ७५ केजीमा काठमाडौंका अश्विनधीरण श्रेष्ठले फाइनलमा नुवाकोटका आशिष् पुडासैनी र ८० केजीमा सिन्धुपाल्चोकका निश्चल विष्टले सबिन महतलाई हराउँदै स्वर्ण, ८६केजी तौलसमूहमा भक्तपुरका विजय बाटाले काठमाडौंका आयुष अधिकारीलाई हराउँदै स्वर्ण  र ९२ केजीमाथि काठमाडौंका सन्जोक गुरुङले पहिलो राउन्डमा नै काठमाडौंका शुभम् पाठकलाई हराउँदै स्वर्ण आफ्नो पोल्टामा पार्नुभयो । 

महिलातर्फ ४८ केजीमा सिन्धुलीका रमिशा श्रेष्ठ, ५० केजीमाथि भक्तपुरकी अस्मिता दुवाल, ५२ केजीमा भक्तपुरकी भावना भण्डारी, ५४ केजीमा काभ्रेकी एलिना गर्बुजा, ६० केजीमा नुवाकोटकी रक्षा जिसी, ६३ केजीमा काभ्रेकी जीविका थापा, ६६ केजीमा काभ्रेकी प्रतिशा राई र ७५ केजीमा काभ्रेकै शीला महर्जनले स्वर्ण जित्नुभयो ।