धनगढी समाचारदाता
धनगढी, जेठ ११ गते । कैलालीको लम्कीचुहा नगरपालिकास्थित सामुदायिक वनमा वन्यजन्तुलाई पानी पिउनका लागि कृत्रिम पोखरी निर्माण गरिएको छ। वडा नम्बर १ मा रहेको चेतना सामुदायिक वन र ३ मा रहेको मुक्त कमैया सामुदायिक वनमा कृत्रिम पोखरी बनाइएको हो।
सुक्खायाममा वन क्षेत्रका जलाशय सुकेर वन्यजन्तुलाई पानी खानका लागि उत्पन्न हुने समस्यालाई समाधान गर्न कृत्रिम पोखरी निर्माण गरिएको जनाइएको छ। बर्खायाममा थोरै पानी जम्दै आएको स्थानमा व्यवस्थित गरेर कृत्रिम पोखरी बनाइएको चेतना सामुदायिक वनका कार्यालय सचिव कुमारी सार्कीले बताउनुभयो।
“पहिलेदेखि अलि अलि पानी जम्ने गर्दथ्यो,” उहाँले भन्नुभयो, “त्यसलाई व्यवस्थित गरेर पोखरी बनाएका छौँ।” ३८९ हेक्टर क्षेत्रफलमा फैलिएको वनमा कृत्रिम पोखरी बनाइएपछि वन्यजन्तुलाई पानीका लागि सहज भएको उहाँको भनाइ छ। सो सामुदायिक वनमा नीलगाई, हरिण, बँदेल, खरायोलगायतका वन्यजन्तु रहेका छन्।
विगतमा सुक्खायाममा वनभित्र जलाशय नहुँदा वन्यजन्तुहरू राजमार्ग पार गरेर कर्णाली नदीमा पानी खान जाने गरेको बताइन्छ। त्यो बेला गाडीले सडकमा वन्यजन्तुलाई किच्ने समस्या रहेको थियो।
लम्की क्षेत्रमा गाडीको ठक्करले नीलगाईसमेतका वन्यजन्तु मरेको उल्लेख गर्दै संरक्षणकर्मी विजयराज श्रेष्ठले वन्यजन्तुलाई सामुदायिक वनभित्रै पानी उपलब्ध गराउन कृत्रिम पोखरी बनाउनु सराहनीय कार्य रहेको उल्लेख गर्नुभयो।
चेतनामा बनाइएको कृत्रिम पोखरीलाई स्थानीयले रेहटाइ वा रिठाइ ताल भन्ने गरेका छन्। तालले चार हेक्टर क्षेत्रफल ओगटेको कार्यालय सचिव सार्कीले जानकारी दिनुभयो। उहाँका अनुसार सुक्खायाममा तालको पानी सुक्ने गरेको छ।
“सुकेको बेला बोरिङले पानी हाल्ने गरेका छौँ,” सार्कीले भन्नुभयो, “सामुदायिक वनको अहिले आम्दानी छैन। त्यसैले ताललाई धेरै व्यवस्थित गर्न सकेका छैनौँ।” चुरेको फेद भावर क्षेत्रमा रहेको मुक्त कमैया सामुदायिक वनमा कृत्रिम पोखरी बनाइएपछि वन्यजन्तुको ज्यान जाने समस्या रोकिएको छ।
पानीका लागि राजमार्ग पार गरेर कर्णाली नदीमा जाने वन्यजन्तुलाई गाडीले किच्ने, कुकुरले मार्ने, लखेट्नेजस्ता समस्या देखिएपछि पोखरी निर्माण गरिएको स्थानीय हिट्टु चौधरीले बताउनुभयो। उहाँका अनुसार अब त्यस्तो समस्यामा कमी आएको छ। वनमा वन्यजन्तुसमेत बढेको चौधरीले उल्लेख गर्नुभयो। वर्षायाममा वनभित्र जताततै पानी हुने गरे पनि सुक्खायाममा सुक्ने गर्छ। यसका कारण वन्यजन्तुलाई पानीको समस्या हुने गर्छ।