• २८ पुस २०८१, आइतबार

नुवाकोट–बल्ढेङगढी पद मार्गको काम अलपत्र

blog

भुवन कार्की

रुपन्देही, जेठ ११ गते  । रुपन्देहीको बुटवलदेखि सात किलोमिटर उत्तर चुरेमा रहेको पाल्पाको ऐतिहासिक क्षेत्र नुवाकोटदेखि बल्ढेङगढीसम्म बनाउन लागिएको पद मार्ग (फुट ट्र्याक) अलपत्र अवस्थामा रहेको छ। लुम्बिनी प्रदेश सरकारको लगानीमा निर्माण सुरु भएको पद मार्ग निर्माणको काम सरोकारवालाले बेवास्ता गर्दा अलपत्र परेको हो।

चार लाख रुपियाँ खर्चेर परियोजना विस्तृत प्रतिवेदन (डिपिआर) तयार गरी २०७६ साल फागुन ३० मा ठेक्का सम्झौता र भदौ २७ गते शिलान्यास गरी सुरु गरिएको योजनाको काम दुई महिनामै रोकिएको थियो। बल्ढेङगढीको कुमारीदेवी मन्दिर क्षेत्रबाट काम सुरु गरिएको थियो। 

नुवाकोटदेखि बल्ढेङगढीसम्म २७ किलोमिटरको दूरीमा रहेको चुरे क्षेत्रमा पद मार्ग निर्माणका लागि पहिलो चरणमा एक करोड आठ लाख रुपियाँको टेन्डर भएको थियो। डिभिजन वन कार्यालय पाल्पाको संयोजनमा सडक पूर्वाधार विकास कार्यालय पाल्पाले उक्त आयोजनाको ठेक्का लगाएको थियो। ठेक्का पाएको आकृति मालिका कन्स्ट्रक्सन प्रालिले जम्मा चार सय मिटरको दूरीमा ढुङ्गा बिछ्याउने काम गरेर रोकेको छ।

डिपिआर नै गलत भएको र गाडी चल्ने सडक पनि पद मार्गमा पर्ने भएकाले स्थानीयले अवरोध गरी काम रोकिएको सडक पूर्वाधार कार्यालय पाल्पाको तर्क छ। पूर्वाधार विकास कार्यालयका प्रमुख अरुण गुप्ताले भन्नुभयो, “स्थानीयको विरोध भयो भनेर ठेकेदारले काम रोक्यो, काम रोकिएपछि सुचारु गर्न कसैले पनि पहल गरेनन्।” ठेकेदारले एक किलोमिटर चार सय मिटर काम गर्नुपर्नेमा जम्मा चार सय मिटर काम गरेको र १७ लाख रुपियाँ भुक्तानी पनि दिइएको गुप्ताले बताउनुभयो। 

उहाँका अनुसार २०७६ साल फागुन ३० गते ठेक्का सम्झौता भएको थियो। ठेकेदारले भने भदौ २७ गतेबाट काम थालेको थियो। भदौ २७ मा उक्त आयोजनाको शिलान्यास सोही निर्वाचन क्षेत्रका प्रदेश सभा सदस्य तुलाराम घर्तीले गर्नुभएको थियो। ऐतिहासिक तथा धार्मिक पर्यटनका हिसाबले पनि प्रसिद्ध रहेका बल्ढेङगढी र नुवाकोटगढीलाई जोड्ने गरी पद मार्ग निर्माणको योजना अघि सारिएको थियो। पद मार्ग निर्माणका लागि लुम्बिनी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयद्वारा चालु आर्थिक वर्षका लागि एक करोड र उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयद्वारा ५० लाख गरी कुल डेढ करोड रुपियाँको बजेट छुट्याएको थियो।

ठेक्का पाएको आकृति मालिका कन्स्ट्रक्सन प्रालिका ठेकेदार मनोज अर्यालले भन्नुभयो, “काम सुरु भए पनि डिपिआर गलत भएको भन्ने विवाद आयो, सरोकारवालाले चासो पनि दिएनन्, त्यसैले काम रोक्यौँ।” आफूले काम गरे अनुसार भुक्तानी पनि बुझेको उहाँले बताउनुभयो।

तराई र हिमालको मनोरम दृश्य देख्न सकिने यो चुरे क्षेत्रको डाँडोमा पद मार्ग बनाउँदा नुवाकोट र बल्ढेङगढीमा आन्तरिक तथा बाह्य पर्यटकको आवागमनमा वृद्धि हुने अपेक्षा स्थानीयले लिएका थिए। नुवाकोटगढीदेखि बल्ढेङगढीसम्म पुग्ने पैदलयात्री (ट्रेकिङ जाने) लाई सहज होस् भनेर ठाउँ ठाउँमा खानेपानी, आराम गर्ने स्थल, बास बस्न होमस्टेलगायतका संरचना बनाउने अवधारणासमेत लिइएको नुवाकोट विकास समितिका अध्यक्ष माधव नेपाल बताउनुहुन्छ। पाल्पाको तिनाउ गाउँपालिका र रैनादेवी छहरा गाउँपालिकामा पर्ने यो चुरे क्षेत्रमा पद मार्ग निर्माणको काम अलपत्र पर्दा पालिका प्रमुखले समेत कुनै पहल गर्न सकेका छैनन्। नुवाकोट पाल्पाको तिनाउ गाउँपालिका–२ मा पर्छ भने बल्ढेङगढी रैनादेवी छहरा गाउँपालिका–७ मा पर्छ।