• २८ पुस २०८१, आइतबार

पाँच सय स्थानमा आगलागी

blog

रेखीराम राना

पाल्पा, जेठ ११ गते ।  एक महिनाको अवधिमा पाल्पाको ५१९ स्थानमा आगलागीका घटना भएका छन्। वैशाख लागेपछि जिल्लाका अधिकांश स्थानमा आगलागीका घटना भएका छन्। जिल्लाको तिनाउ गाउँपालिका क्षेत्रमा १०१, माथागढीमा ९३, पूर्वखोलामा ७६, रैनादेवी छहरामा ७५ स्थानमा आगलागी भएको छ। यस्तै रिब्दीकोटमा ५८, निस्दी गाउँपालिकामा ५३, रम्भामा आठ र बगनासकालीमा तीन, रामपुर नगरपालिकामा ३७ र तानसेन नगरपालिकामा १५ स्थानमा आगो लागेको डिभिजन वन कार्यालय पाल्पाले जनाएको छ। 

स्थानीय बासिन्दाका सामान्य लापरबाहीले नै जिल्लाभर नै आगलागीका घटना बढेको डिभिजन वन कार्यालय पाल्पाले जनाएको छ। गत वर्ष यो अवधिमा पाँच स्थानमा मात्र आगलागी भएको थियो तर यो वर्ष आगलागीका घटना अत्यधिक बढेको डिभिजन वन कार्यालयका सहायक वन अधिकृत उपेन्द्र अर्यालले बताउनुभयो। हरियो घाँस पलाउँछ भन्ने लोभमा खरबारीमा आगो लगाउँदा, वनजङ्गलका वन्यजन्तु, दुम्सी, बाँदर, लोखर्के आदिलाई भगाउने नाममा वनमा आगो लगाउने गरेका छन्। यति मात्र होइन, पछिल्लो समय ग्रामीण क्षेत्रमा चितुवा, भालुलगायतका वन्यजन्तुबाट आव्रmमण बढेका कारण पनि स्थानीयले वनमा आगो लगाउने गरेको अर्यालको भनाइ छ। 

वनमा नजानेरभन्दा पनि जानाजान आगो लगाउने व्रmम बढेको उहाँको भनाइ छ। स्थानीय बासिन्दाका कारण वनमा आगो लाग्दा अत्यधिक क्षति भएको वन कार्यालयको भनाइ छ। 

डिभिजन वन कार्यालय पाल्पाका अनुसार यो वर्ष जिल्लाभरका ८७ वटा वनका ५१९ स्थानमा आगलागी भएको तथ्याङ्क छ। सबैभन्दा बढी ८३ वटा सामुदायिक वनमा आगो लागेको डिभिजन वन कार्यालय पाल्पाका प्रमुख नारायणदेव भट्टराईले जानकारी दिनुभयो। यो एक महिनाको अवधिमा तीन वटा निजी वन र एउटा धार्मिक वनमा समेत आगो लागेको उहाँले बताउनुभयो। 

भट्टराईका अनुसार पाल्पामा हालसम्म आगलागीबाट एक हजार ६८५ हेक्टर वन क्षेत्र सखाप बनेको छ। गत वर्ष यही अवधिमा एक सय हेक्टरभन्दा कम वनमा आगो लागेको थियो। पानी नपर्ने हो भने अझै डढेलो र आगलागीका घटना बढ्ने निश्चित छ। वनमा लागेको आगो केही बस्तीमा समेत प्रवेश गरेको वन कार्यालयका रेन्जर यमलाल पोखरेलले बताउनुभयो। आगलागीबाट वन क्षेत्रमा भएको क्षतिको भने हालसम्म विवरण आइसकेको छैन। जिल्ला प्रहरी कार्यालय पाल्पाले यो वर्ष हालसम्म १८ स्थानमा आगलागी भएको जनाएको छ। आगलागीबाट १३ घर र १० गोठमा क्षति भएको छ भने हालसम्म मानिसको मृत्यु नभएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो।