• २८ पुस २०८१, आइतबार

हराभरा बन्दै सिद्धार्थनगर

blog

भैरहवा समाचारदाता

भैरहवा, जेठ ११ गते । जति मत ल्याउँछु उति बोटबिरुवा लगाउँछु भन्दै निर्वाचनका बेला आममतदातासँग मत माग्नुभएका सिद्धार्थनगर नगरपालिकाका प्रमुख इस्तियाक अहमद खानको प्रतिबद्धता कार्यान्वयन हुन थालेपछि सिद्धार्थनगर हराभरा र सुन्दर देखिन थालेको छ। स्थानीय तहको निर्वाचनका व्रmममा उम्मेदवार बनेका खानले आफूले जति मत ल्याउँछु, उति नै बिरुवा रोप्छु भनी सङ्कल्प गर्नुभएको थियो। नगर प्रमुख खान त्यही सङ्कल्पअनुरूप अघि बढेकाले नगरको सुन्दरता बढ्दै गएको हो। उहाँले निर्वाचनका बेला मत बराबरको रुख र फूलको बिरुवा रोप्ने उद्घोष गर्नुभएको थियो। नगर प्रमुख खानले भन्नुभयो, “यो काम सञ्चालन भइरहेको छ, यो निरन्तर अघि बढ्छ।” 

उहाँ नौ हजार १३४ मत प्राप्त गरी निर्वाचित हुनुभएको थियो। मत बराबरकै वृक्षरोपण नगरे पनि यो अभियानलाई निरन्तरता दिने प्रमुख खानले फेरि प्रतिबद्धता गर्नुभएको छ। उहाँले वृक्षरोपणको पहिलो दिन वीरेन्द्र फूल, राजवृक्ष र कपुरका गरी ३५० बिरुवा सिद्धार्थ राजमार्गको छेउछाउमा रोपेर अभियान सुरु गर्नुभएको थियो। बेलहिया बाइपासदेखि आँखा अस्पतालको नजिकसम्म सडकको एकातर्फ ती बिरुवा रोपिएको थियो।

सिद्धार्थनगर नगरपालिकाका उपप्रमुख उमा अधिकारीले रोपिएका बिरुवाको संरक्षण तथा व्यवस्थापनमा नगरपालिकाले ध्यान दिएको दाबी गर्नुभयो। उहाँले नगरवासीको सहकार्यमा बिरुवा हुर्काइने बताउनुभयो। उहाँले भैरहवालाई हराभरा र फूलको सहरका रूपमा स्थापित गर्न सबैसँग समन्वय गरी काम गरिरहेको बताउनुभयो। 

नगरलाई ‘क्लिन’, ‘ग्रिन’ र ‘इको फ्रेन्ड्ली सिटी’ बनाउन विभिन्न क्षेत्रमा बिरुवा लगाइएको छ। नगरमा रोपिएका बिरुवा हुर्किएपछि सुन्दर र आकर्षक देखिएको छ। नगर क्षेत्रमा पर्ने सिद्धार्थ राजमार्ग, बैङ्क रोड, नारायण पथ, मिलन चोक, बेलहिया, देवकोटा चोक, बुद्ध चोकलगायतका क्षेत्र हरियाली बनाउने योजना नगरपालिकाको छ।