• १६ चैत २०८०, शुक्रबार

फरार ठेकेदार खोजिदिन आग्रह

blog

नवलपरासी समाचारदाता 

कावासोती, जेठ ११ गते  । पुल अलपत्र पारेर तीन वर्षदेखि बेपत्ता ठेकेदारको अहिले खोजी सुरु भएको छ । १० करोडको लागतमा निर्माण हुन लागेको नवलपरासीको कावासोती नगरपालिकाको केरुङ्गे खोलाको पक्की पुल निर्माण सम्पन्न नगरी ठेकेदार फरार भएका हुन् । 

नगरपालिकाको केरुङ्गे खोलाको पुलले वडा नं. ३, ४ र ५ जोड्ने गर्छ । कावासोती–४ का वडाध्यक्ष नारायण लोहनीले नगरपालिकाले ठेकेदारको खोजी गरिदिन प्रमुख जिल्ला अधिकारीलाई निवेदनसमेत दिएको बताउनुभयो । 

चार वर्षअघि एड्भेन्चर कन्स्ट्रक्सन प्रालिलाई ठेक्का दिइएको उक्त पुलको पहिलो एक वर्ष भने काम भएको थियो । पुलको काम अलपत्र पारेर ठेकेदार कमल भट्ट फरार हुनुभएको हो । 

पुल निर्माण नहुँदा स्थानीयले सास्ती खेप्दै आएका छन् । स्थानीय लेखमान थापाले पुल नबन्दा खोलामा परेर अकालमै ज्यान गुमाउनुपर्ने बाध्यता नहट्ने बताउनुभयो । पुल बन्ने कुनै छाँटकाँट नै नभएको र यहाँ यात्रा गर्ने सबैले दुःख पाएको उहाँले बताउनुभयो । 

नगरपालिकाले पत्रमा काम थालेको वर्षौंसम्म पनि पुल निर्माणको काम सम्पन्न नगरेर बेपत्ता भएको भन्दै ठेकेदारलाई झिकाइदिन अनुरोध गरिएको छ । ठेकेदार झिकाएर कारबाही गर्न र काम पनि सम्पन्न गराउन ताकिता गरिदिन नगरपालिकाले प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराएको हो । १६० मिटर लामो उक्त पुल २०७७ असार मसान्तभित्र सकिसक्नुपर्ने ठेक्का सम्झौतामा उल्लेख छ । पछि २०८० असार मसान्तसम्मका लागि पुनः म्याद थपिएको हो । 

स्थानीय कुश्माखर बस्यालले पुल नहुँदा यो वर्ष पनि धेरैले ज्यान गुमाउन सक्ने दुःखेसो पोख्नुभयो । अहिलेसम्म ठेकेदार कमल भट्ट बेपत्ता भएको र मोबाइलमा सम्पर्क हुन नसकेको नगरपालिकाका नगरप्रमुख विष्णु भुसालले बताउनुभयो । 

प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले ठेकेदारको खोजी गर्न नगरपालिकाले पत्राचार गरेको र खोजी गरी समयमै पुल निर्माण सक्नका लागि सडक डिभिजनसँग पनि कुरा अघि बढाइएको बताउनुभयो । सदरमुकाम आवतजावत गर्ने तीन वडाको मात्र नभएर छिमेकी गाउँपालिका र अरू जिल्लाका नागरिकसमेत यही बाटो प्रयोग गर्नुपर्छ ।