• १९ असार २०८१, बुधबार

सुत्केरी मृत्यु प्रकरण : प्रदेशस्तरीय छानबिन समिति गठन

blog

सिन्धुली समाचारदाता 

सिन्धुलीमाढी, जेठ ११ गते । गर्भवती महिलाको मृत्युको विषयलाई लिएर अवरुद्ध गरिएको बिपी राजमार्ग बुधबार दिउँसोदेखि सञ्चालन भएको छ।

प्रसूतिका लागि सिन्धुली अस्पताल ल्याइएकी कमलामाई नगरपालिका–५ की २६ वर्षीय गङ्गाकुमारी श्रेष्ठको मङ्गलबार बेलुका मृत्यु भएको थियो। सोही विषयमा मृतकका परिवार, आफन्तलगायतले चिकित्सकको लापरबाहीले मृत्यु भएको भन्दै अस्पताल तोडफोड गर्नुका साथै बिपी राजमार्ग अवरुद्ध गरेका थिए। श्रेष्ठको मृत्युको विषयमा सत्यतथ्य पत्ता लगाउन जिल्ला प्रशासन कार्यालयमा बुधबार बिहानदेखि बसेको सर्वपक्षीय बैठकमा पीडित पक्ष र सिन्धुली अस्पतालका बीच तीनबुँदे सहमति भएको छ।

सहमतिसँगै बिपी राजमार्गमा यातायात सुचारु भएको हो। तनावग्रस्त सिन्धुली सदरमुकाम सामान्य अवस्थामा फर्किएको छ भने सिन्धुली अस्पतालमा सेवा सुचारु भएको छ। प्रमुख जिल्ला अधिकारी सुनिता नेपालका अनुसार सर्वपक्षीय बैठकमा बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले चार सदस्यीय छानबिन समिति गठन गर्ने, त्यसमा उक्त मन्त्रालयले तोकेको दुई चिकित्सक, स्वास्थ्य कार्यालय, सिन्धुलीका प्रतिनिधि र पीडित पक्षको प्रतिनिधि एक एक जना रहने छन्।

मृतकका जेठाजु सोमबहादुर श्रेष्ठका अनुसार गङ्गाकुमारीलाई सुत्केरी गराउन मङ्गलबार दिउँसो १२ बजेतिर सिन्धुली अस्पताल लगिएको थियो। सिन्धुली अस्पतालमा सुत्केरी हुन नसकेपछि ३ बजेतिर बर्दिबास ट्रमा सेन्टर लगियो। बेलुका ५ बजे जाँच हुँदा मृत्यु भएको घोषणा भएपछि सिन्धुली अस्पतालमा ल्याई शव राखिएको थियो। त्यसपछि मृतकका परिवार, आफन्तलगायतले चिकित्सकको लापरबाहीले गर्भवती महिलाको मृत्यु भएको भन्दै मङ्गलबार साँझदेखि अस्पतालमा तोडफोड गर्नुका साथै बिपी राजमार्गका विभिन्न स्थानमा टायर बालेर यातायात सेवा अवरुद्ध बनाएको स्थानीयले बताएका छन्।