सृष्टिको क्रम र लय सनातन हो अनि यसका नियम शाश्वत र अजेय हुन्छन् भन्ने अध्यात्मवादको मान्यता छ । अर्काेतिर सृष्टिका पनि नियम हुन्छन् र तिनको अध्ययन सम्भव छ भन्ने विज्ञानको दाबी छ । जे भए पनि मानिसको जन्म तथा मृत्यु अध्यात्म र विज्ञान दुवैको चासो तथा अध्ययनको विषय रहिआएको छ ।
पितृसत्तात्मक हाम्रो समाजमा पुरुष सन्तानको जन्म सबै वर्गका मानिसको काम्य रहिआएको कुरा पुराण, उपनिषद् र इतिहास सबैको अध्ययनबाट बुझिन्छ ।
गर्भधारणपछि भ्रूणको लिङ्ग जन्म अगावै छुट्याउने प्रयास यही यथार्थबाट प्रेरित छ । आधुनिक विज्ञानले गर्भ रहिसकेपछि भ्रूणको लिङ्ग यथासक्य चाँडै पत्ता लगाउन अल्ट्रासाउन्ड र जैविक अध्ययन (न्भलभतष्अ कतगमथ) को प्रयोग सुरु गरिसकेको छ । लिङ्ग छुट्टिन आवश्यक जैविक गुणहरू तयार भइसकेको गर्भलाई जन्मदिने स्त्रीको गर्भाशयमा प्रत्यारोपण गरेर चाहेको लिङ्गको शिशु जन्माउन पनि चिकित्सकहरू समर्थ छन् तर जीवनको प्रारम्भमै लिङ्गको आधारमा जीवको प्राथमिकीकरण गर्दा जीव हत्या हुने कार्यले सृष्टिको सन्तुलन नै खल्बलिन सक्ने सम्भावनाका कारणले गर्दा अध्यात्मवादी मात्र होइन समाजविज्ञानी र बहुसङ्ख्यक कानुन निर्माताहरू पनि यस्ता अभ्यासको विपक्षमा देखिएका छन् ।
त्यसो भए पुरुष शुक्रकीट र स्त्री डिम्बको मिलन भएर भ्रूण बन्नुअघि नै अर्थात् जीवनको सुरुवात हुनुअगावै भावी शिशुको लिङ्ग निर्धारण गर्न विज्ञान सक्षम छ त ? भन्ने प्रश्नको जवाफ छैन भन्ने कुरा आजको यथार्थ हो । कुनै पनि ज्ञाता वा वैज्ञानिकले आजसम्म यस्तो भविष्यवाणी गरेर वैज्ञानिक रूपमा यसलाई प्रमाणित गर्न सकेको छैन ।
त्यसो भए पनि भ्रूणको लिङ्ग निर्धारण तथा त्यसका आनुवंशिक (न्भलभतष्अ) आधारका नियमको अध्ययन गर्ने मानिसको प्रयास भने जारी छ ।
यो प्रयास पौराणिककालदेखि नै हाम्रा पूर्वजले पनि गर्दै आएको कुरा व्यावहारिक अध्ययनहरूबाट स्पष्ट हुन्छ । विश्वका अन्य उन्नत सभ्यताको उत्कर्षमा पनि यसका लागि विभिन्न व्यावहारिक अभ्यास गरिएको देखिन्छ ।
हाम्रो संस्कृतिमा आयुर्वेद वैज्ञानिक चिकित्सा पद्धतिका रूपमा विकसित भएको कुरा यथार्थ हो । महिनावारी र यसमा हुने विभिन्न परिवर्तनको अध्ययन आयुर्वेदले राम्रोसँग गरेको छ । स्त्री रज र पुरुष वीर्यको महìव तथा सान्दर्भिकताको विषयमा पनि आयुर्वेद धेरै स्पष्ट छ । लिङ्ग निर्धारणका आनुवंशिक आधारहरूको अध्ययनमा भने आधुनिक चिकित्सा विज्ञान निकै अगाडि छ । वीर्यद्वारा डिम्बको निषेचन हुने समयको आकलन र त्यसका विधिको उपयुक्त प्रयोगको आधारमा चाहना अनुकूलको लिङ्गसहितको शिशु जन्माउने प्रयास गर्ने विधिलाई ‘पुंसवन विधि’का रूपमा प्रयोग गर्न आयुर्वेद विज्ञहरूले परापूर्वकाल देखि नै सल्लाह दिने गरेको तथा यसमा सफलता पनि प्राप्त हुने गरेको कुरा सुनिए पनि यो अकाट्य नियमका रूपमा स्थापितचाहिँ भएको छैन ।
सम्भोगका समयमा विशिष्ट आसनहरूको प्रयोग तथा निषेचन सम्भव भएको समयअनुसार सम्भोगको समय निर्धारण गर्ने अभ्यास ‘पुंसवन विधि’ को मूल आधार रहेको छ । आधुनिक विज्ञानले गरेको अध्ययन र त्यसबाट निर्धारित नियमहरूसँग यस्तो अभ्यासका बीच उल्लेख्य समानता रहेको छ ।
चिनियाँहरूले धेरै कालअघिदेखि नै इच्छाइएको लिङ्गको सन्तान प्राप्तिका लागि विशेष विधि अवलम्बन गर्ने गरेका थिए । उनीहरूको यो अभ्यास सम्भावित आमाको उमेर तथा गर्भधारणको समयअनुरूप अनुकूल समयमा सम्भोगद्वारा गर्भ स्थापित गर्ने नियमसँग सम्बन्धित छ । उनीहरूले यस्तो उमेर र समय हिसाब गर्दा चन्द्रमास (ीगलबच अबभिलमबच) बाट हिसाब गर्दछन् र त्यस्तो पात्रो तयार गरेर विशेष दिनहरूमा सम्भोग गर्ने सल्लाह दिन्छन् । यो तरिका धेरै हदसम्म (करिब ९० प्रतिशत) सफल हुने दाबी यस प्रणालीको बारेमा सल्लाह दिनेहरू गर्छन् ।
आधुनिक चिकित्सा विज्ञानले प्रजनन प्रणालीमा हुने शारीरिक परिवर्तन र आनुवंशिक पक्ष दुवैको अध्ययन गरेर केही स्पष्ट तथा केही सम्भावित नियम र विधि प्रवर्तन गरेको छ । सन् १९६० ताका डा. लान्ड्रुम सेटल्स र डेभिड रोर्भिकले गर्भको लिङ्गका बारेमा केही रोचक तथ्य उजागर गरेका थिए, जसलाई ‘सेटल्स विधि’ भनिन्छ । लिङ्ग निर्धारणको सम्पूर्ण श्रेय र दोष पुरुषको हुन्छ भन्ने यसको निष्कर्ष छ ।
१. आनुवंशिक तथ्य
पुरुषको शुक्रकीटमा ‘एक्स’ र ‘वाई’ दुईमध्ये एक आनुवंशिक गुण रहेको हुन्छ । वीर्यमा यी दुवैथरी लगभग बराबर सङ्ख्या (एक्सभन्दा वाई थोरै बढी) हुन्छन् । स्त्री डिम्बमा भने ‘एक्स’ गुण मात्र हुन्छ । निषेचनका बेला ‘वाई’ गुण भएको पुरुष शुक्रकीटले स्त्री डिम्बलाई निषेचन गरेमा पुरुषको ‘वाई’ र स्त्रीको ‘एक्स’ मिलेर ‘एक्स–वाई’ हुन्छ अनि पुरुष सन्तानको गर्भ बस्छ । त्यस्तै पुरुषको एक्स र स्त्रीको एक्स मिलेमा स्त्री सन्तानको गर्भ बस्छ ।
‘एक्स’ गुण भएको शुक्रकीटको टाउको ठूलो हुन्छ तथा यिनीहरू बलिया र धेरै समय बाँच्ने खालका हुन्छन् । ‘वाई’ शुक्रकीट भने कमजोर, थोरै समय बाँच्ने तर फूर्तिला र तेज हुन्छन् । यिनीहरू उपयुक्त वातावरण पाए मात्र बाँच्छन् तर एक्सभन्दा अत्यन्त छिटै स्त्री डिम्बसम्म दौडेर पुग्न सक्छन् । ‘एक्स’ शुक्रकीट भने तुलनात्मक रूपले प्रतिकूल वातावरणमा पनि बाँच्छन् तर विस्तारै ढिलो स्त्री डिम्बसम्म पुग्छन् ।
– ‘वाई’ गुणधारी शुक्रकीटहरू सालाखाला २४ देखि ४८ घण्टा मात्र बाँच्छन् भने ‘एक्स’ गुणधारी शुक्रकीटहरू ४८ देखि १२० घण्टासम्म बाँच्छन् ।
– स्त्री डिम्बको आयु तुलनात्मक रूपमा थोरै हुन्छ । बढीमा ४८ घण्टासम्म बाँचे पनि सक्रिय भएको १२ देखि २४ घण्टाभित्रै शुक्रकीटले निषेचन नगरेमा निष्क्रिय हुन्छ ।
२. शारीरिक तथ्य
क) महिनावारी र डिम्ब निष्कासन
सालाखाला प्रत्येक २८ दिनमा महिनावारी हुने स्त्रीमा महिनावारी सुरु भएको दिनदेखि गन्दा सरदर १४ दिनमा डिम्ब निष्कासन हुन्छ । महिनावारीको समय लामो भएमा त्यहीअनुसार १५, १६, १७ वा महिनावारीको सालाखाला लम्बाइअनुसार अझै ढिलो डिम्ब निष्कासन हुने गर्छ । महिनावारीको सालाखाला समय २८ दिनभन्दा कम हुने स्त्रीमा त्यसअनुसार १४ दिन भन्दा पहिले नै डिम्ब निष्कासन हुन्छ ।
धेरै दिन पहिलेको यौनसम्पर्कबाट निष्किएको वीर्य विस्तारै हिँड्ने तर बलिया भएकाले धेरै बाँच्ने एक्स शुक्रकीट पनि पछिसम्म निषेचन गर्न बढी सक्षम हुन्छन् र स्त्री सन्तानको गर्भ बस्ने सम्भावना बढी हुन्छ । डिम्ब निष्कासन हुनुभन्दा ठ्याक्कै अगाडि वा त्यसैदिनको सम्भोगबाट निस्किएको वीर्यका थोरै समय बाँच्ने तर फूर्तिला ‘वाई’ शुक्रकीटहरू निषेचन गर्न बढी सक्षम हुन्छन् ।
ख) खानपान र रहनसहन
योनी मार्गको रासायनिक वातावरण स्वस्थ अवस्थामा अम्लीय हुन्छ भने वीर्य क्षारीय गुण भएको हुन्छ ।
तुलनात्मक रूपले बढी क्षारीय अवस्था ‘वाई’ शुक्रकीटले निषेचन गर्न र पुरुष सन्तानको गर्भ बस्न बढी अनुकूल हुन्छ । खानपानले स्त्री योनीको रासायनिक वातावरणमा फरक ल्याउन सक्छ । शुक्रकीट वरपरको रासायनिक वातावरण क्षारीय बनाउन सहयोग गरेर ‘वाई’ शुक्रकीटलाई निषेचन गर्न र पुरुष सन्तानको गर्भ बस्न सहयोग गर्ने खानेकुरामा बढी सोडियम तथा पोटासियम हुने नुनिला खाद्य पदार्थ, आलु, केरा, एभोकाडो, साल्मन जातको माछा, ब्रोकाउली, पालुङ्गो आदि उल्लेखनीय छन् ।
योनीमार्गको रासायनिक प्रतिक्रियालाई तुलनात्मक रूपले बढी अम्लीय बनाएर ‘एक्स’ शुक्रकीटलाई निषेचन गराई स्त्री सन्तानको गर्भ बस्न सघाउने खानेकुरामा सोडियम र पोटासियम कम हुने दूध, दही र तिनका परिकार, माछा, सागपात, मासु, अन्न, ओखर, केराउ, बदाम, काजु, किसमिस, बयर, तोरी, भेनेगर आदि उल्लेख्य छन् ।
धूमपान, मद्यपान, बढी तातो वा चिसो वातावरण तथा नियमित यौन सम्पर्कले शुक्रकीटमा सङ्ख्यात्मक र गुणात्मक कमी एवं शिथिलता ल्याउँछ । यो अवस्था बलिया ‘एक्स’ शुक्रकीटको निषेचन अर्थात् स्त्री गर्भको लागि एक हदसम्म अनुकूल हुन सक्छ भने कमजोर ‘वाई’ शुक्रकीटको निषेचन अर्थात् पुरुष गर्भका लागि प्रतिकूल हुन सक्छ ।
ग) यौन सम्पर्क र वीर्य स्खलन
पुरुष शुक्रकीट र स्त्री डिम्बको मिलन स्त्रीको डिम्बाशयबाट गर्भाशयसम्म डिम्ब ओसार्ने डिम्ब वाहिनी नलीमा हुन्छ । निषेचनपछि भ्रूण गर्भाशयमा सरेर गर्भ रहन्छ । यसरी शुक्रकीटले डिम्बसँग मिल्न योनीमार्गबाट पाठेघर छिचोल्दै डिम्ब वाहिनी नलीसम्म पुग्नु पर्ने हुन्छ । योनी मार्गको मुख वा तुलनात्मक रूपमा बाहिरी आधा भागसम्म रहेका ‘एक्स’ शुक्रकीटहरू सशक्त भएका कारणले विस्तारै त्यो बाटो छिचोल्न सक्छन् र स्त्री सन्तानको गर्भ बस्न सक्छ । अर्काेतिर योनी मार्गको भित्री भाग वा पाठेघरको मुखनेरी स्खलन भएको वीर्यका कमजोर तर फूर्तिला ‘वाई’ शुक्रकीटले डिम्ब निषेचन गरेर पुरुष गर्भ बस्ने बढी सम्भावना रहन्छ । यसरी यौन सम्पर्कका बेला प्रयोग गरिने आसनले स्खलनको स्थानलाई प्रभावित गर्न सक्छ र गर्भ रहने भ्रूणको लिङ्ग निर्धारणमा भूमिका खेल्न सक्छ ।
यौन समागमको बेला स्त्रीको पाठेघरको मुख र योनी मार्गमा हुने सङ्कुचनले शुक्रकीटलाई पाठेघरतर्फ छिटो धकेल्छ र ‘वाई’ शुक्रकीटलाई निषेचन गर्न सहज हुन्छ । जसले गर्दा पुरुष गर्भ रहन सहज हुन्छ । यसको विपरीत पुरुष पहिले चरमोत्कर्षमा पुगेर स्खलित हुँदा स्त्रीको चरमोत्कर्ष टरेर जान्छ र स्त्री गर्भ बस्न सहज हुन्छ ।