• ७ वैशाख २०८१, शुक्रबार

अन्नपूर्णलाई आठ करोड बढी रोयल्टी

blog

जलविद्युत् आयोजनाको हवका रुपमा विकास भएको अन्नपूर्ण गाउँपालिका ४ नम्बर वडा नारच्याङ गाउँ । तस्विर : ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य

म्याग्दी, जेठ ९ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले चालु आर्थिक वर्षमा सङ्घीय सरकारबाट आठ करोड रुपियाँ भन्दा बढी रोयल्टी प्राप्त गर्ने भएको छ । जलविद्युत र पर्यटन क्षेत्रमा राम्रो सम्भावना भएको अन्नपूर्णले यस वर्ष आठ करोड ७८ हजार रुपियाँ रोयल्टीबापतको रकम पाउने भएको हो । 

जलविद्युत् आयोजनाको हवका रूपमा चिनिएका अन्नपूर्ण गाउँपालिकाले यस वर्ष प्राकृतिक स्रोत परिचालन बापतको उक्त रोयल्टी रकम प्राप्त हुने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले बताउनुभयो । ७८ लाख रुपियाँ पालिकालाई प्राप्त भइसकेको र बाँकी रकम असार मसान्त भित्रनै प्राप्त हुने उहाँले जानकारी दिनुभयो ।

रोयल्टी बापत प्राप्त भएको रकमलाई सबैभन्दा धेरै प्रभावित वडा र कम प्रभावितमा विभाजन गरेर विकास योजना र सामाजिक क्षेत्रमा खर्चिने कार्यपालिकाले निर्णय गरेको छ। कार्यपालिकाको बैठकले रोयल्टी बाँडफाँट गर्ने नीति बनाउने निर्णय गरेको पालिकाले जनाएको छ । प्रमुख प्रशासकीय अधिकृत सुवेदीका अनुसार जलविद्युत आयोजनाबाट सबैभन्दा बढी प्रभावित र आयोजनादेखि नजिक रहेको वडालाई २५-२५ प्रतिशतका दरले र पालिकाका स्तरीय योजनाका लागि ५० प्रतिशतका दरले रोयल्टी बाँडफाँट गरिने भएको छ । 

पालिकालाई प्राप्त हुने रोयल्टीको रकम बाँडफाँटका लागि भविष्यमा पनि सहज होस् भनेर कार्यपालिकाले नीति बनाउन लागेको प्रमुख प्रशासकीय अधिकृत सुवेदीले बताउनुभयो । 

यता नारच्याङका स्थानीयहरूले भने जलविद्युत आयोजनाबाट सबैभन्दा धेरै प्रभावित वडा भएकाले रोयल्टीको पचास प्रतिशत रकम पाउनुपर्ने स्थानीयहरूले माग गरेका छन् । कार्यपालिकाको बैठकमा नारच्याङले पचास प्रतिशत पाउनुपर्ने माग राखेको वडाध्यक्ष लोकबहादुर फगामीले बताउनुभयो । उहाँले भन्नुभयो, "जलविद्युत् आयोजनाहरू धेरै नारच्याङमा सञ्चालन भएको र पालिकाका अन्य वडाभन्दा नारच्याङ धेरै प्रभावित वडा भएकाले पालिकामा आउने रोयल्टी बापतको रकमको कम्तीमा पचास प्रतिशत पाउनुपर्दछ । यो न्यायसङ्गत पनि हुन्छ । पचास प्रतिशत नपाए हामी आन्दोलनमा जान्छौँ ।"

"पालिकाको निर्णयमा मेरो सहमति छैन । दुईचार दिनभित्र गाउँको भेला गरेर के गर्ने भन्ने निर्णयमा पुग्छौँ," वडाध्यक्ष फगामीले भन्नुभयो, "जलविद्युत आयोजनाबाट सबैभन्दा धेरै  प्रभावित वडा नारच्याङ हो, हामीले हाम्रो जमिन गुमायौँ, पानीका मुहानहरूमा गुमायौँ । बम ब्लास्टिङले वातावरणमा असर पुर्‍याएको छ । हाम्रो पारिस्थितिक प्रणाली अस्तव्यस्त भएको छ र चारैतिर बिजुलीका तारैतारले गाउँलाई नै कुरूप बनाएको छ ।" रोयल्टी रकममा नारच्याङको धेरै योगदान रहेकाले त्यही अनुरूप रकम पाउनुपर्ने उहाँको भनाइ छ । 

अन्नपूर्णमा ४२ मेगावाट क्षमताको मिस्त्रीखोला र ६ मेगावाट क्षमताको घलेम्दी जलविद्युत आयोजना सञ्चालनमा छन् भने १४ मेगावाट क्षमताको घारखोला, एक सय ९ मेगावाटको निलगिरि क्यासकेड र ६ मेगावाट क्षमताको रेलेखोला जलविद्युत आयोजना निर्माणको अन्तिम चरणमा पुगेका छन् । एकसय १८० मेगावाट क्षमताको कालिगण्डकी गर्ज निर्माणमा प्रक्रियामा छ ।