इतिहासलाई जीवन्त राख्ने अभिलेख र संस्मरण नै थिए उहाँका सम्पत्ति । प्रजातन्त्रप्रतिको निष्ठा, समर्पण र त्यागको सादगी जीवन अनि सशक्त कलम, सिर्जनशील र सव्रिmय व्यक्तित्व यति हो उहाँका कमाइ । अर्काका लागि सोच्दासोच्दै बितेको जीवन नसोचेको समयले चटक्क लिएर गयो २०८० सालकोे वैशाख २९ गते । छ दशकदेखि बसोबास गर्दै आएको आफ्नै घरको सङ्ग्राहलयजस्तो लाग्ने आफ्नै कोठामा । ७८ वर्षको जीवनसम्म कर्म गर्दागर्दै पूर्णविराम लागेपछि इतिहासका कैयौँ पाटामा पनि पूर्णविराम लाग्न पुग्यो, आफैँले लेखेर राखेका कथाका, कविताका, निबन्धका, संस्मरणका कृति प्रकाशन गर्ने योजना पनि त्यत्तिकै तुहियो । आफ्नै बलबुताले उभिएर बनेको व्यक्तित्व हातमा कलम लिएर केही लेख्ने सोच बनाउँदा बनाउँदै अनायास मृत्युवरण गर्न पुगेपछि प्रजातन्त्रका लागि जीवन समर्पित गर्ने, सिर्जना र साधनाबाट बढी चिनिएको पुरुषोत्तम बस्नेत स्मृतिमा मात्र रहनुभयो ।
कुनै समय थियो, बीसको दशकको कुरा गर्दै छु, साहित्यमा त्यतिखेर द्वारिका श्रेष्ठ, कृष्णभक्त श्रेष्ठ, मदन रेग्मी, पुरुषोत्तम बस्नेत जस्ता युवा साहित्यमा निकै सक्रिय थिए, सक्रिय मात्र थिएनन्, आधुनिक कवितामार्फत साहित्यमा चर्चाको केन्द्रमा थिए । समय फेरिएको छ, बीसको दशकअघिको समय । असीको दशक छोइसकेको छ । माथिका युवामध्ये केही अहिले पनि साहित्यमा कलम चलाइरहनुभएको छ, उमेरले आठ दशक काटिसक्दासम्म । लेखनमा फाट्टफुट्ट, सभा समारोहमा धेरै कम, प्रायः घरमै बसेर बुढ्यौली जीवन बाँच्दै हुनुहुन्छ । विगत बनिसकेको, साहित्यको इतिहासमा अङ्कित भएको यिनैमध्ये पुरुषोत्तम बस्नेतलाई धेरैले उहाँको विगतभन्दा वर्तमानलाई बढी चिने । नेपाली कांग्रेससँगको आबद्धता, प्रजातान्त्रिक आन्दोलनमा विशेष योगदान दिनुभएको व्यक्तित्वको रूपमा । यिनै पुरुषोत्तम बस्नेतलाई कवि, कथाकार, साहित्यिक पत्रकार, निबन्धकार भनेर चिन्न र सम्झनु पर्छ भन्ने धेरै कमले सोचे ।
६० वर्षअघि नै कविता छपाएर साहित्यमा प्रवेश गर्ने पुरुषोत्तम बस्नेतले जीवनको अन्तिम समयसम्म कलमको साथ छोड्नुभएन न त आफ्नो आस्था र विश्वासबाट विचलित हुनु भयो । निस्वार्थ भावनाले जीवन उत्सर्ग गर्नसक्ने धेरै कम मात्र पात्र भेटिन्छन्, उहाँ यस्तै पात्र हो । २०१९ सालमा ‘आमा’ शीर्षकको कविता बनारसबाट कुनै पत्रिकामा छापिएको थियो । छ दशकको कविता यात्रामा छ दर्जन जति कविता लेख्नुभयो, तिनलाई समेटेर सङ्ग्रहको रूप दिने जाँगरसम्म चलाउनुभएन । छापिएका, छरिएका कथा, निबन्ध, संस्मरण समेटेर कृतिको रूप दिने हो भने आधा दर्जन कृति मजाले पुग्छन् । कथा, निबन्धमा पनि उत्कृष्ट सिर्जना गर्न सक्ने उहाँको साहित्यिक व्यक्तित्वलाई राजनीतिक व्यक्तित्वले ओझल पारेको हो कि, राजनीतिको पूर्वाग्रहले काम गरेको हो ? पुरुषोत्तम बस्नेतलाई योगदानभन्दा धेरै कम मूल्याङ्कन भएको साधक भनेर सम्झँदा उपयुक्त होला ।
सिफलको उकालो काट्दा नकाट्दै देब्रेतिर रहेको पुरानो घरमा छ दशकदेखि सादा जीवन उच्च विचार लिएर बिते उहाँको जीवन । राजनीतिका, पत्रकारिताका, साहित्यका विभिन्न खाले मान्छेको आउजाउ भइरहने उहाँको घर । गएर बस्न पाएको छैन ससम्मान आइपुग्थ्यो चिया । चउर, कोठा जहाँ बसे पनि पत्रपत्रिकाका चाङ हुन्थे । संविधान सभाका सदस्य, नेपाली कांग्रेसका सदस्य भएर पनि सबै खाले राजनीति आस्था भएकाहरू पनि उहाँसँग निकट थिए । कलम र सङ्घर्षमा जीवन बिताउने पुरुषोत्तम बस्नेतलाई भेट्न पुगिरहनेहरू यसपालि अन्तिम दर्शनका लागि पुगेका थिए । त्यही घरमा वैशाख २९ गतेको बिहानैदेखि मानिसको आउजाउ भइरहेको थियो । लेखन र राजनीतिक आन्दोलनमा जीवन बिताएरै अन्तिम सास फेर्नुभएका पुरुषोत्तम बस्नेत कुनै बखत साहित्य, साहित्यिक पत्रकारिता, साहित्यिक सङ्गठन र आन्दोलनमा निकै सक्रिय
उहाँ केही वर्षदेखि अलि सुस्ताउनुभएको थियो । योजनामा परेका मूर्त रूप नलिएका कृतिहरू सिफलको घरको कुनै कुनामा थन्किएका छन् । नेपाली कांग्रेसको इतिहासका दुई भाग प्रकाशमा ल्याएर इतिहासका कैयौँ पाटालाई उजागर गर्ने उहाँ इतिहासका अध्येता त हुनुहुन्थ्यो नै ज्ञाता पनि ।
साहित्यका कृति प्रकाशमा नआए पनि साठी वर्षदेखि निरन्तर साहित्यका विविध विधामा कलम चलाउने उहाँ साहित्यिक पत्रकारितामा पनि त्यत्तिकै सक्रिय हुनुहुन्थ्यो । साहित्यिक पत्रकार सङ्घका संस्थापक सदस्य, मुकुट, सिउँडी, कल्पना, पूजा, सङ्व्रmान्ति जस्ता साहित्यिक पत्रिका र राजधानी, नेपाल पुकार, राष्ट्र पुकारसँग आबद्ध भएर पत्रकारितामा उहाँले दिएको योगदान उल्लेख्य छ । कुनै बेला नेपाली साहित्यमा अमलेखको गठन गरेर साहित्यमा तरङ्ग ल्याउने उहाँले यसको गठनको बारेमा भन्नुभएको थियो– पहिले राजनीतिक गतिविधि त्यति थिएन । त्यसैले तत्कालीन पञ्चायत व्यवस्थाविरोधी साहित्यिक गतिविधि गर्न हामीले अमलेखको गठन ग-यौँ । यसमा मोहन कोइराला, कृष्णभक्त श्रेष्ठ, रत्नशमशेर थापा, भूपि शेरचन, द्वारिका श्रेष्ठ, धु्रवचन्द्र गौतम, भुवन कोइराला (ढुङ्गाना), मदन रेग्मी र म थियौँ । पछि भुवन ढुङ्गाना र म मिलेर सिउँडी साहित्यिक पत्रिका पनि निकाल्यौँ । त्यतिबेला साहित्य क्षेत्रमा हामी निकै सक्रिय भयौँ । पछि यो सक्रियता त्यति हुन सकेन हामी केहीको ।
अमलेख समूहका सदस्यसमेत रहनुभएका विशिष्ट साधक डा धु्रवचन्द्र गौतमले साहित्यकार पुरुषोत्तम बस्नेतका बारेमा मधुपर्क (२०७९ साउन) मा लेख्नुभएको छ–उहाँका कथाहरू गजबका छन् । मलाई उहाँको निबन्ध र संस्मरण पनि उत्तिकै राम्रो लाग्छ । नेपाली साहित्यमा स्थापित पाठकले रुचाएका लेखक बस्नेत मेरा साथी मात्र नभएर मनपर्ने लेखक हुनुहुन्छ । नेपाली साहित्यमा उहाँको स्थान ठ्याक्कै कहाँ छ, त्यो त म तोक्न त सक्दिनँ । मलाई आफ्नै स्थान त थाहा छैन तर पनि भन्न सक्छु कि मेरा प्यारा मित्र बस्नेत मेरा समकालीन हुनुहुन्छ । उहाँको लेखनी उत्कृष्ट छ ।
सन् १९४५ को डिसेम्बरमा सोलुखुम्बुको सिरुवामा जन्मिनुभएका पुरुषोत्तम बस्नेत किशोरावस्थामै काठमाडौँ आई सुरुमा ज्ञानेश्वरमा बस्न थाल्नुभयो । त्यतिबेलादेखि नै साहित्यमा उहाँको चासो बढिसकेको थियो । प्रारम्भिक शिक्षा जन्मथलोमै भए पनि उच्च शिक्षा काठमाडौँको पब्लिक साइन्स कलेजबाट अघि बढ्यो । पढाइकै व्रmममा धरणीधर कोइराला, तुलसी दिवस, भीमबहादुर तामाङ जस्ता साहित्यकार र राजनीतिज्ञसँग पढ्न पाउनुभयो । प्रजातन्त्रप्रति होमिएको परिवारमा जन्मिएकोले पनि होला प्रजातान्त्रिक आन्दोलनमा किशोरावस्थादेखि नै होमिनुभएका उहाँले कहिले विद्यार्थी आन्दोलनको व्रmममा, कहिले विद्यार्थी भड्काएको आरोपमा र कैयौँ पटक राजकाज मुद्दामा जेल
जीवन भोग्नुप-यो । विसं २०४८ देखि २०५१ सम्म गोरखापत्र संस्थानमा कार्यकारी अध्यक्ष उहाँ पछिल्लो समय बीपी प्रतिष्ठानसँग आबद्ध भएर साहित्य र राजनीतिका साधक र योद्धाहरूको सम्मानमा सक्रिय भएर लाग्नुभएको थियो ।
जीवनमा प्रजातन्त्रका लागि, साहित्यका लागि, पत्रकारिताका लागि जीवन अर्पने उहाँले २०७९ सालको मधुपर्क सम्मानबाहेक अरू सम्मान पुरस्कार पाउनु भएन । जीवन लिनभन्दा दिनका लागि हो भने जस्तै जीवन बाँचेर अस्ताउनुभयो उहाँ आफ्ना कृति र कीर्ति छाडेर ।
लेखक मधुपर्क मासिकका सम्पादक हुनुहुन्छ ।