• १२ मंसिर २०८१, बुधबार

भत्किएको सडक मर्मत गरिँदै

blog

बाजुरा समाचारदाता

बाजुरा, जेठ १० गते । अविरल वर्षाका कारण भत्किएको साँफे–मार्तडी सडक मर्मत हुन थालेको छ। यस सडकखण्ड अन्तर्गत बार्जुगाड–सेराबजार, बल्दे–अम्कोट, तिपाडालगायतका स्थानमा सडक मर्मत गरिन थालेको छ। सडक डिभिजन कार्यालय अछामले साँफेमा मार्तडी राजमार्ग अन्तर्गत पर्ने विभिन्न स्थानमा बाढीपहिरोले क्षति पु-याएको सडकको मर्मत भइरहेको जनाएको छ। अविरल वर्षाका कारण उक्त सडकखण्ड विगत दुई वर्षदेखि मर्मतसम्भारको अवस्थामा छ। 

सडक डिभिजन कार्यालयका सुपरभाइजर गोकुल गिरीले साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने बाजुर्गाडमा डोजरले सडक मर्मत गर्दै जाने र वर्षायाममा फेरि भत्किँदै आएपछि सडक मर्मतको काममा ढिलाइ भएको बताउनुभयो। पछिल्लो समयमा वर्षा रोकिएपछि सो ठाउँमा सडक मर्मत कार्य अन्तिम चरणमा पुगेको छ। बल्दे–अम्कोट सडकखण्डको माटो परीक्षणका लागि केन्द्र पठाइएको र त्यसको रिपोर्ट नआइपुगेकोले सडक मर्मत हुन समय लागेको उहाँले बताउनुभयो।