• १२ मंसिर २०८१, बुधबार

सामुदायिक विद्यालयमा विद्यार्थी चाप

blog

बुलबुले समाचारदाता

सुर्खेत, जेठ १० गते । सामुदायिक विद्यालयको शिक्षामा सुधार आएसँगै विद्यार्थी सङ्ख्या बढ्न थालेको छ। सामुदायिक विद्यालयमा समेत अङ्ग्रेजी माध्यममा अध्यापन गरिन थालेपछि विद्यार्थी चाप बढ्न थालेको बताइन्छ। वीरेन्द्रनगर नगरपालिका–१२ स्थित अमरज्योति नमुना माध्यमिक विद्यालयमा यस शैक्षिक सत्रमा २२५ विद्यार्थी थपिए।

विद्यालयका प्रधानाध्यापक खगेन्द्र थापाका अनुसार कक्षा ६ मा १७५ जना नयाँ विद्यार्थी भर्ना भएका छन्। कक्षा ७ मा नयाँ शैक्षिक सत्रमा ५० जना नयाँ विद्यार्थी थपिएका छन्। ७ कक्षामा दुई सय विद्यार्थी छन्। विद्यार्थीको चाप बढ्दा कक्षा कोठाको अभाव हुन थालेको विद्यालयका प्रधानाध्यापक थापाले बताउनुभयो। उहाँले भन्नुभयो, “गएका वर्ष २०/२५ नयाँ विद्यार्थी थपिन्थे। यो वर्ष एक सयभन्दा बढी एउटै कक्षामा थपिए। उनीहरूलाई व्यवस्थापन गर्न भवनको अभाव छ।”

अमरज्योतिमा कक्षा १२ सम्म पढाइ हुन्छ। कक्षा १ देखि १० सम्म अहिले एक हजार सात सय विद्यार्थी छन्।   विद्यालयमा स्थायी शिक्षक २५ र करार गरी ४५ जना शिक्षक छन्। प्रधानाध्यापक थापाले एउटै कक्षामा ६०/६१ जना विद्यार्थी राखेर पढाउन बाध्य भएको बताउनुभयो।

श्रीकृष्ण संस्कृत तथा साधारण माध्यमिक विद्यालय इत्राममा विद्यार्थीको सङ्ख्या बढेको छ। विद्यार्थीको चाप हरेक वर्ष बढ्दो व्रmममा रहेको प्रधानाध्यापक लोकबहादुर खत्रीले बताउनुभयो। उहाँका अनुसार यो वर्ष मात्र कक्षा ५ मा ३९, कक्षा ६ मा ४७, कक्षा ८ मा ७० जना नयाँ विद्यार्थी थपिएका छन्। विद्यार्थीको सङ्ख्या बढेपछि कक्षाकोठाको अभाव भएको छ। उहाँले भन्नुभयो, “आएका विद्यार्थीलाई फर्काउन पनि नसकिने, सीमित स्रोतसाधनका बिच अध्यापन गराउनुपर्ने बाध्यता छ।”

विद्यालयले प्रत्येक कक्षामा तीन/चार सेक्सनमा पठनपाठन गराइरहेको छ। भौतिक संरचना र पर्याप्त जनशक्ति नभएकाले जनमाध्यमिक विद्यालयले यस पटक थोरै सङ्ख्यामा मात्रै नयाँ विद्यार्थी भर्ना लिएको छ। विद्यालयका प्रधानाध्यापक याम श्रेष्ठले भौतिक स्रोतसाधन र जनशक्ति अभावमा नयाँ विद्यार्थी सीमित मात्र लगिएको बताउनुभयो। नयाँ शैक्षिक सत्रमा बाल विकास, कक्षा ६ र ९ मा मात्र बाहिरबाट विद्यार्थी भर्ना गरिएको उहाँले बताउनुभयो।

भौतिक पूर्वाधार, जनशक्तिको क्षमताका आधारमा भर्ना लिने गरेको श्रेष्ठले जानकारी दिनुभयो। जनमाविमा कक्षा १ देखि १० सम्मका विद्यार्थीको सङ्ख्या दुई हजार छ। श्रेष्ठले भन्नुभयो, “यही भौतिक संरचनामा अब हामी योभन्दा बढी विद्यार्थी पढाउन नसक्ने अवस्थामा पुगेका थियौँ। यस वर्ष भर्नाका लागि आएका धेरै विद्यार्थीलाई हामीले फिर्ता गर्नुप-यो। योभन्दा बढी विद्यार्थी अब विद्यालयले धान्नै नसक्ने अवस्था आएको छ।”

पछिल्लो समय वीरेन्द्रनगरभित्रका सामुदायिक विद्यालयमा विद्यार्थीको चाप निकै बढिरहेको छ। सुर्खेतकै ग्रामीण क्षेत्रका साथै कर्णाली प्रदेशका अन्य जिल्लाबाट पनि बर्सेनि ठूलो सङ्ख्यामा विद्यार्थी वीरेन्द्रनगर आउने गरेका छन्। अन्यत्रभन्दा सुविधासम्पन्न र शैक्षिक गुणस्तर हुने भन्दै अभिभावकले पनि सदरमुकामकै विद्यालय रोज्ने गरेका छन्।

विद्यालयमा अङ्ग्रेजी माध्यममा पठनपाठन हुनु, शैक्षिक गुणस्तर राम्रो भएकाले पनि अभिभावकको रोजाइमा सामुदायिक विद्यालय परेको हो। यहाँका अधिकांश विद्यालयमा अहिले अङ्ग्रेजी र नेपाली माध्यमबाट पठनपाठन भइरहेको छ। गत वर्ष कक्षा ६–१० सम्म अङ्ग्रेजी माध्यमबाट पढाइ हुने गरेको इत्राममा यो वर्षदेखि कक्षा ५ देखि १० सम्म अङ्ग्रेजी माध्यमबाट पढाउन सुरु गरिएको छ। शैक्षिक गुणस्तरमा नाम चलेको विद्यालयका रूपमा रहेको जनमाविले कक्षा १ देखि १० सम्म अङ्ग्रेजी र नेपाली माध्यममा पठनपाठन गर्दै आएको छ।

राष्ट्रिय अभियानका कर्णाली प्रदेश संयोजक भूपेन्द्र कँडेलले बोर्डिङ स्कुल छोडेर सामुदायिक विद्यालयमा भर्ना हुने विद्यार्थीको सङ्ख्या बढेको बताउनुभयो।

वीरेन्द्रनगर नगरपालिकाका शिक्षा शाखा प्रमुख धीरेन्द्रप्रसाद लम्सालका अनुसार शिक्षाको गुणस्तरमा अभिभावकको विश्वास, विद्यालयको सिकाइप्रति अभिभावक र विद्यार्थीको सन्तुष्टिले सामुदायिक विद्यालयमा विद्यार्थीको चाप बढेको हो।