• ७ वैशाख २०८१, शुक्रबार

भवन अलपत्र, ठेकेदार बेपत्ता

blog

खोटाङ, जेठ १० गते । निर्माण कम्पनीको लापरबाहीका कारण हलेसी तुवाचुङ नगरपालिका–१, बाहुनीडाँडा स्वास्थ्य चौकी भाडाको साँघुरो कोठामा सञ्चालन हुँदै आइरहेको छ। स्वास्थ्य चौकीको आफ्नै भवन ठेकेदार कम्पनीले अलपत्र अवस्थामा छाडिदिएपछि यो अवस्था आएको हो। 

गौरी पार्वती न्यू टेक्निकल जेभीले २०७८ फागुन २७ गतेभित्र सम्पन्न गर्ने गरी २०७७ मङ्सिर ११ गते बाहुनीडाँडा स्वास्थ्य चौकीको भवन निर्माणको सम्झौता गरेको थियो। सम्झौता भएको मितिमा काम सम्पन्न नभएपछि दोस्रो पटक थप भएको म्याद पनि २०७९ माघ २ गते सकिएको छ। एक वर्षयता भवन अलपत्र अवस्थामा छ। अझै म्याद थप गर्न कम्पनीले माग गरिरहेको सघन सहरी विकास तथा भवन निर्माण आयोजनाको कार्यालय ओखलढुङ्गाका इन्जिनियर सुशील चौधरीले बताउनुभयो। ठेकेदारका प्रतिनिधिले काम गर्नुको सट्टा हाकिमको सरुवा गरेपछि मात्र काम अघि बढ्ने धम्की दिने गरेको कार्यालयको भनाइ छ।

हालसम्म निर्माण भएको भवनको काम गुणस्तरहीन भएको स्थानीय बासिन्दा बताउँछन्। स्वास्थ्य चौकीको पर्खाल कमसल बनेको स्थानीय बासिन्दा एलबी राईले बताउनुभयो। कतिपय ठाउँमा इँटाको पर्खाल ठेल्दा भत्किने गरेको छ। काम गरेका कामदारले ठेकेदारबाट पूरा पारिश्रमिक पनि पाएका छैनन्। काम सम्पन्न भएपछि पूरा पारिश्रमिक दिने भन्दै काम लगाएर अहिले ठेकेदार बेपत्ता भएको कामदार हरिकुमार राईले बताउनुभयो। स्थानीय पसल र कामदारको गरेर करिब दुई लाखभन्दा बढी रकम नतिरी ठेकेदार बेपत्ता भएको उहाँको भनाइ छ। 

स्वास्थ्य चौकीको भवन अलपत्र पार्ने ठेकेदारलाई पटक पटक भवन निर्माणको काम सम्पन्न गर्न ताकेता गरे पनि अटेर गरेको वडाध्यक्ष रुद्र राईको भनाइ छ। अहिले स्थानीय झोक्रे  राईको घरको दुई वटा कोठा भाडामा लिएर स्वास्थ्य चौकी सञ्चालन हुँदैआएको छ। यसअघि तत्कालीन गाविसको जीर्ण भवनको साँघुरो कोठाबाट स्वास्थ्य चौकीको सेवा प्रवाह हुँदैआएको थियो। अहिले गाविसको भवनलाई भत्काएर वडा कार्यालयको भवन निर्माणको काम सुरु गरिएपछि स्वास्थ्य चौकीलाई गत माघदेखि भाडाको घरमा सारिएको हो।  

स्वास्थ्य चौकीले लिएको भाडाको कोठा पनि साँघुरो छ। कोठामा दुई वटा मात्र कुर्सी अटाइएका छन्। एकै पटक धेरै बिरामी उपचारमा आए उभ्याएर राख्नुपर्ने बाध्यता रहेको स्वास्थ्य चौकीका इन्चार्ज लीलामाया लामिछानेले बताउनुभयो। पर्याप्त कोठा नहुँदा व्यक्तिगत गोपनीयता कायम गर्नसमेत नसकिएको उहाँको भनाइ छ। स्वास्थ्य चौकीको भाडामा मासिक पाँच हजार रुपियाँ खर्च हुने गरेको छ। 

स्वास्थ्य चौकीको आफ्नै भवन नहुँदा बर्थिङ सेन्टरलाई पनि स्थानीय उषा राईको घरमा राखिएको छ। स्वास्थ्य चौकीसँग नजिक रहनुपर्ने बर्थिङ सेन्टरलाई केही दूरीमा राखिएको छ। २०७५ सालदेखि मासिक चार हजार रुपियाँमा व्यक्तिको घरमा राखिएको बर्थिङ सेन्टरको कोठा पनि साँघुरो छ। बर्थिङ सेन्टरको व्यवस्थापन पक्ष कमजोर हुँदा वडामा डेलिभरि सङ्ख्या बढाउन सकिएको छैन। 

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमार्फत एउटै ठेक्कामा खोटाङको बाहुनीडाँडा, मङ्गलटार, बतासे, राखाबाँदेल र दोर्पाचिउरीडाँडा स्वास्थ्य चौकी भवन निर्माणको काम सुरु गरिएको थियो। गौरी पार्वती न्यू टेक्निकल जेभीले भ्याटबाहेक सात करोड ४० लाख ८४ हजार २९६ रुपियाँमा पाँच स्वास्थ्य चौकीको भवन निर्माणको ठेक्का लिएको थियो। समग्रमा पाँच वटै स्वास्थ्य चौकीको भौतिक प्रगति करिब ६० प्रतिशत र वित्तीय प्रगति करिब ४७/४८ प्रतिशत मात्र भएको इन्जिनियर चौधरीले बताउनुभयो तर एक वर्षयता सबै स्वास्थ्य चौकीको भवन निर्माण अलपत्र छ।