• १० मंसिर २०८१, सोमबार

विश्वकप छनोट : नेपालको पहिलो खेल जिम्बावेसँग

blog

फाइल तस्बिर ।

काठमाडौं, जेठ ९ गते । जिम्बावेमा असार ३ गतेदेखि आयोजना हुने आइसीसी एक दिवसीय विश्वकप छनोट खेलमा नेपालले पहिलो खेल जिम्बावेसँग खेल्ने भएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) ले मंगलबार सार्वजनिक गरेको खेल तालिका अनुसार नेपालको पहिलो खेल आयोजक जिम्बावेसँग परेको हो । तालिका अनुसार समूह ‘ए’ मा रहेको नेपालले असार ३ गते उद्घाटन खेलमा जिम्बावेको सामना गर्नेछ ।

नेपालले दोस्रो खेल असार ५ गते अमेरिका, असार ७ गते वेस्ट इन्डिज र असार ९ गते नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्नेछ । नेपालले विश्वकप छनोटअघि दक्षिण अफ्रिकामा १० दिन प्रशिक्षण गर्नेछ । नेपालले मंगलबार देखिनै बन्द प्रशिक्षण सुरु गरेको छ ।

नेपालले दक्षिण अफ्रिकामा अभ्यास खेल समेत खेल्नेछ । नेपाली टोली अफ्रिकाबाटै जिम्बावे प्रस्थान गर्नेछ । १० टोली सहभागी छनोट खेलको समूह ‘बी’ मा श्रीलंका, आयरल्याण्ड, स्कटल्याण्ड, ओमान र संयुक्त अरब इमिरेट्स (युएई) रहेको छ । नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार मात्र विश्वकप क्रिकेट छनोटका लागि २२ सदस्यीय प्रारम्भिक खेलाडी टोलीको घोषणा गरेको थियो ।

नेपाली टोलीका प्रशिक्षक मोन्टी देसाईले प्रारम्भिक टोलीमा यसअघि रहेका पुराना खेलाडीलाई नै निरन्तरता दिनुभएको छ । एक साताको तयारी पछि अन्तिम टोलीको घोषणा गरिने पनि क्यानले जनाएको छ । 

छनोट खेलमा समूहमा शीर्ष तीन टोली सुपर सिक्समा प्रवेश गर्नेछन् । सुपर सिक्समा प्रत्येक टोलीले एक अर्कासँग खेलेपछि शीर्ष दुई टोली फाइनल पुग्नेछन् । फाइनल पुग्ने दुई टोली आगामी अक्टोबर नोभेम्बरमा भारतमा हुने एक दिवसीय  विश्वकपमा छनोट हुनेछन् ।

भारतमा हुने विश्वकपमा कूल १० टोलीको सहभागिता रहनेछ । विश्वकपमा आयोजक भारत, पाकिस्तान, अस्ट्रेलिया, न्युजिल्यान्ड, बङ्गलादेश, इङ्ल्यान्ड, अफगानिस्तान र दक्षिण अफ्रिकाले स्थान बनाइसकेका छन् ।