गोरखापत्र समाचारदाता
काठमाडौँ, असार ५ गते । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले नेपालमा सञ्चार क्षेत्र समावेशिताको उत्कृष्ट उदाहरण बन्दै गएको बताउनुभएको छ ।
मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र बहालीपछि सञ्चार तथा सूचना प्रविधि क्षेत्र सबभन्दा बढी समावेशी बनेको उहाँको भनाइ छ । उहाँले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय समावेशिताको मूल ‘इपिसेन्टर’ रहेको समेत उल्लेख गर्नुभयो । असार २ गते बसेको मन्त्रीपरिषद् बैठकका निर्णय सार्वजनिक गर्ने क्रममा बुधबार सिंहदरबारमा सञ्चारकर्मीको जिज्ञासामा मन्त्री गुरुङले त्यस्तो बताउनुभएको हो ।
सार्वजनिक सेवा प्रसारण (पिएसबी) को पहिलो उद्देश्य नै ‘पिपुल्स फस्ट, नेसन फस्ट’ रहेको र अहिले यसमै आधारित भएर कार्यक्रम उत्पादन गर्ने, समाचार प्रसारण गर्ने गरिएको बताउँदै उहाँले भन्नुभयो, “हाम्रो मुख्य लक्ष्य नै यही हो, नेपालमा बोलिने सबै भाषाको समाचार र कार्यक्रम प्रसारण गर्ने हो । अहिले हामी यो अभियानमा छौँ ।”
उहाँले नेपाल दक्षिण एसियामा सार्वजनिक सेवा प्रसारण ऐन कार्यान्वयन गर्ने अग्रणी देशमध्ये एक रहेको उल्लेख गर्दै गोरखापत्र दैनिकमा विभिन्न ४५ भाषामा, रेडियो नेपालबाट २५ भाषामा समाचार र अतिरिक्त सामग्रीको प्रकाशन/प्रसारण भइरहेको जानकारी दिनुभयो । त्यसै गरी राष्ट्रिय समाचार समिति (रासस) र नेपाल टेलिभिजनबाट समेत विभिन्न भाषामा समाचार र विभिन्न सामग्रीको उत्पादन भई सम्प्रेषण तथा प्रसारण भइरहेको उहाँले बताउनुभयो । “राससमा मैथिली र नेपाल भाषा पनि जोडेका छौँ । हामी अब चाँडै तामाङ र भोजपुरी भाषा पनि समावेश गर्छौं,” उहाँले भन्नुभयो ।
निर्णयहरू
मन्त्रीपरिषद् बैठकले पुल सुधार तथा मर्मत कार्यक्रम तेस्रो चरणका लागि विश्व बैङ्कबाट प्राप्त हुने करिब २० अर्ब ७९ करोड रुपियाँ र रणनीतिक सडक सञ्जाल तथा व्यापारिक मार्ग सुधार आयोजनाका लागि विश्व बैङ्क समूहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट प्राप्त हुने करिब २९ अर्ब ७२ करोड रुपियाँ बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको मन्त्री गुरुङले जानकारी दिनुभयो ।
त्यसै गरी बर्दियामा सञ्चालन हुने समावेशी ग्रामीण विकास परियोजनाका लागि दक्षिण कोरिया सरकारबाट प्राप्त हुने करिब एक अर्ब आठ करोड ८० लाख रुपियाँ बराबरको अनुदान सहायता स्वीकार गर्ने र मत्स्यपालन अनुदानसम्बन्धी विश्व व्यापार सङ्गठन सम्झौता अनुमोदनका लागि सङ्घीय संसद्मा पेस गर्न स्वीकृति दिने निर्णय मन्त्रीपरिषद् बैठकले गरेको हो ।
मन्त्री गुरुङका अनुसार वैदेशिक रोजगार न्यायाधीकरणको अध्यक्ष पदमा उच्च अदालत पाटन, हेटौँडा इजलासका न्यायाधीश डा. शान्ता सेढाईं सापकोटालाई तोक्ने, सत्य निरूपण तथा मेलमिलाप आयोगका सचिव पाराश्वर ढुङ्गानालाई कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको सचिव पदमा सरुवा गर्ने, सशस्त्र प्रहरी नायब महानिरीक्षक गणेशबहादुर ठाडामगरलाई सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा गरी पदस्थापन गर्ने मन्त्रीपरिषद्ले निर्णय गरेको छ ।
त्यसै गरी इन्टरनेसनल बिग क्याट एलाइन्सको सदस्यता प्राप्त गर्न स्वीकृति दिने, नेपाल प्रशासन सेवा समूहीकरणतर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको रिक्त पदमा सहसचिव डा. खगेन्द्रप्रसाद सुवेदीलाई बढुवा गर्ने, प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका सहसचिव निर्मला अधिकारी भट्टराईलाई सत्य निरूपण तथा मेलमिलाप आयोगको सचिव पदमा कायममुकायम नियुक्त गर्ने निर्णय बैठकले गरेको हो ।
त्यसै गरी तनहुँको आँबुखैरेनीमा नेपाल सरकारको नाममा दर्ता रहेको १० रोपनी जग्गामा १५ शøयाको अस्पताल निर्माण गर्न आँबुखैरेनी गाउँपालिकालाई स्वीकृति दिने, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र चितवनलाई दुई बिघा १३ कट्ठा १५ धुर सार्वजनिक प्रकृतिको जग्गा सय शय्याको आयुर्वेद अस्पताल निर्माणका लागि प्रयोग गर्न स्वीकृति दिने र मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसिए) लाई चार सय केभी डबल सर्किट विद्युत् प्रसारण लाइन आयोजनाका लागि नवलपरासी (बर्दघाट सुस्तापश्चिम) जिल्लाको सुनवल, रामग्राम र बर्दघाट नगरपालिकामा रहेको ४३.६६ हेक्टर राष्ट्रिय वन प्रयोग गर्न स्वीकृति दिने निर्णय गरिएको हो ।
भ्रमण स्वीकृत
२०८२ असार २३ देखि २७ गतेसम्म स्विट्जरल्यान्डको जेनेभामा सञ्चालन हुने ‘वल्र्ड समिट अन दी इन्फर्मेसन सोसाइटी फोरम हाई लेभल इभेन्ट तथा एआई फर गुड ग्लोबल समिट २०२५’ कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङलाई सहभागी गराउने, २०८२ असार ९ देखि १३ गतेसम्म थाइल्यान्डको बैङ्ककमा आयोजना हुने ‘थर्ड मिनिस्ट्रियल कन्फरेन्स अन सिभिल रजिस्ट्रेसन एन्ड भाइटल स्ट्याटिस्टिक्स इन एसिया एन्ड दी प्यासिफिक’ कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेललाई सहभागी गराउने निर्णय बैठकले गरेको छ ।
त्यसै गरी असार १३ देखि १५ गतेसम्म टर्कीमा आयोजना हुने ‘ग्लोबल ट्रान्सपोर्ट कनेक्टिभिटी फोरम २०२५’ कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाललाई सहभागी गराउने, असार ३ र ४ गते दुबईमा आयोजना हुने २० औँ एसिया–ओसिनिया क्षेत्र अन्तरसरकारी मन्त्रीस्तरीय बैठकमा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीलाई, असार ९ र १० गते भारतको पुणेमा आयोजना हुने नेपाल–भारत द्विपक्षीय परामर्श समूहको १६ औँ बैठकमा सहभागी हुने नेपाली प्रतिनिधिमण्डल गठन गर्ने निर्णय मन्त्रीपरिषद्ले गरेको मन्त्री गुरुङले जानकारी दिनुभयो ।