वि.सं. १९९२ मा महाकवि लक्ष्मीप्रसाद देवकोटाले ‘मुनामदन’ खण्डकाव्य लेखेर नेपाली साहित्यलाई धन्य तुल्याए र आफूलाई पनि अमर बनाए । ठीक त्यसको ५२ वर्षपछि अर्थात् २०४४ सालमा जननीप्रसाद रिजालले विराटनगरबाट त्यस्तै शिल्प र शैलीमा त्यत्रै ‘मुना र मदन’ लेखेर लोकलाई प्रदान गरे । त्यसबेला रिजालको मुना र मदनले लोकमा खासै प्रभाव पारेजस्तो लागेन । किनभने म २०२३ सालदेखि निरन्तर विराटनगरमा बसोबास गर्दै आएको र उनका साहित्यिक सन्ततिहरूसँग पटक पटक भेटघाट र साहित्यिक चिन्तन–मनन गर्दा पनि जननीप्रसाद र उनको मुना र मदनको सन्दर्भ कहिल्यै चर्चामा आएन । लेखकको निधन भएको १७ वर्षपछि प्रकाशक सरलादेवी रिजाल, एकप्रति रु. ५-– र प्रकाशकमा भोमी प्रिन्टिङ प्रेस डिल्लीबजार, काठमाडौँ लेखिएको ४० पेजको मुना र मदन मेरै प्रयत्नले स्थापना भएको विराटनगरको सुविधा सम्पन्न ‘परोपकार सार्वजनिक पुस्तकालय’मा यसै वर्ष आइपुग्यो र मैले सर्वप्रथम यो कृति पढ्ने अवसर पाएँ ।
देवकोटाले आफ्नो ४४ पेजको ‘मुनामदन’को प्रारम्भ बैँसालु मुनालाई घरमा छाडेर धन कमाउन परदेश अर्थात् भोट जान लागेको प्रसङ्गबाट अगाडि बढाएका छन् भने रिजालले आफ्नो ‘मुना र मदन’मा मुनाका बाबुआमा चित्लाङबाट थानकोट बसाइँ जाने र छोरी मुनाको जन्मको प्रसङ्गदेखि प्रारम्भ गरेका छन् । अर्थात् रिजाले आफ्नो मुना र मदनमा उनीहरूको जन्म, बाल्यकाल, परिवेश र विवाह भएसम्मका कुरा लेखेका छन् । रिजालको ठम्याइमा उनको कृति पूर्वाद्र्ध र देवकोटाको उत्तराद्र्ध हो । उनले आफ्ना दुई शब्दमा लेखेका छन्–
“यो पैलो भाग मदन मुना सपना देखेर
लेखेको मैले स्वर्गीय महाकविलाई सोधेर” भन्दै रिजालले मुना–मदनको पहिलो भाग लेखेका छन् र देवकोटाकोलाई दोस्रो भाग ठह-याएका छन् । भाषा, शैली, लय आदिको अनुसरण देवकोटाकै गरिएको छ । रिजाल लेख्छन्–
“नेपाली जन नेपाली मन नेपाली डाँडामा
गाउँदै हिँड्छन् नेपाली गीत सुसेली पारामा”
देवकोटा लेख्छन् –
“नेपाली गेडा, नेपाली दाना, नेपाली रसले
भिजेको मीठो रसिलो गीत नेपाली कसले”
यी दुवै उद्धरणका झ्याउरे लयभित्र नेपाल, नेपाली र नेपालीपनको बोध हुन्छ । यी पङ्क्तिहरू पढ्दा नेपाली मौलिकताको अनुभूति हुन्छ । यहाँ शब्द–ब्रह्मको उपस्थिति पाइन्छ । त्यसैले म वेदको अन्तिम वाक्य ‘अहम् ब्रह्मास्मि’लाई आत्मसात् गर्न पुग्दछु । यी दुवै उद्धरणमा राष्ट्रियता र मानवताको अनुभूति गर्न सकिन्छ । रिजाल र देवकोटाका दुवै ग्रन्थमा शिल्पसौन्दर्य, जीवन र जगत्को अनुभूति, मानवताको मर्म, निम्न वर्गीय नेपाली जनताले बेहोर्नुपरेको विपन्नता एवम् नेपाली संस्कार र संस्कृतिको
चोखोपनको व्यापक प्रस्तुति पाइन्छ । रिजालका ‘मुना र मदन’ को सङ्क्षिप्त कथासार यस्तो रहेको छ–
काठमाडौँ उपत्यकाको पर भित्तालाई आजभोलि पनि ‘काँठ’ भन्ने चलन छ । त्यसै काँठको चित्लाङ भन्ने ठाउँमा चियाचमेनाको सानो गाउँले होटेल चलाएर गुजारा गर्दै आएका मुनाका बुबाआमा थानकोट सरेर त्यस्तै पसल गर्न थाल्छन् । एक दिन राति मुनाकी आमालाई सुत्केरी बेथाले च्याप्छ र बिहान बेहोस अवस्थामा नजिकैको माइतीघर पु-याइन्छ र त्यहीँ मुनाको जन्म हुन्छ । सुत्केरी मुनाकी आमा ६ हप्तासम्म माइतमा बसेर शरीर तयार भएपछि छोरी च्यापेर पसल चलाउन फर्किन्छिन् । मुना बढ्दै गइन् । एकान्तको पसलमा मुनासँग खेल्ने केटाकेटी साथी नभएकाले मुनालाई मावलमा लगेर राखिन्छ । मुना वरिपरिका केटाकेटीसँग खेल्दै रमाइला दिन बिताउन थाल्छिन् । यस्तै परिस्थितिमा मुनाका बुबाआमाले चलाउँदै गरेको पसल लुटेराहरूले लुटेर पसलसमेत जलाइदिन्छन् । मुनाका आमाबुबा केही दिन माइतमा शरण दिएर डेरा खोज्दै कालिमाटी आइपुग्छन् । त्यहाँ आश्रय लिएको झुप्रो टुहुरो मदन र उसकी आमाको हुन्छ । त्यसै झुप्रोमा मदन र मुनाको बालक्रीडा अगाडि बढ्छ र प्रेमको मुना लहलहाउँछ । त्यसैबेला दमको रोगी मुनाका बाबुको मृत्यु हुन्छ र काकी आमाले मुना र उसकी आमालाई शरण दिन्छिन् ।
मुना पूर्णिमाको जूनजस्तै रूपलावण्य र बैँसले परिपूर्ण भइन् । त्यसैबेला मुनाकी आमाको पनि मृत्यु हुन्छ र मुनाका मामाले दोहोरो खर्च व्यहोर्ने केटो खोजी मुनाको बिहे गरिदिने अठोट गरे पनि मुना मान्दिन । मदनसँगै विवाह गर्ने प्रस्ताव अगाडि बढाउँछे । मामा मान्दैन र भन्छ–
“गरिबको छोरो मदन कठै झुप्राको बास छ
जागिर छैन, धन पनि छैन के गरी पाल्दछ” भन्दै अर्को केटो खोजेर विवाहको तयारीमा लाग्छ । मामाको जिद्दी देखेर मुना भन्छे–
“मदनबाहेक गर्दिन बिहे सात् जन्म पर्खन्छु
अरूलाई अब नदेऊ मामा विष खाई मर्दछु”
मुनालाई मदनको चिठी आयो । मुनाको अनुपस्थितिमा टीकोटालो भयो । काकीले मामाले खोजेको केटोलाई यथार्थबोध गराएर बेहुलो हुनबाट रोकिन् । त्यसैबेला मदन भेष बदलेर बेहुलो भएर आयो र बेहुली मुनालाई लिएर गयो । काकीको यो तारतम्य मामाले पनि चाल पाएनन् । मुना र मदनको जित भयो । यस कृतिको अन्तिममा कविले लेखेका छन्–
“खपेर दुःख मदन–मुना झरी र बतास
मिलायो जोडी दैवले भन्छ जननीप्रसाद”
यसरी नै महाकवि देवकोटाले पनि आफ्नो ‘मुनामदन’को अन्त्य यसरी गरेका थिए–
“मनको बत्ती तनको बली स्वर्ग छ प्रसाद
कर्ममै पूज ईश्वर भन्छ यो लक्ष्मीप्रसाद”
कवि रिजाल देवकोटाको काव्यकलाको अर्थात् १९९२ मा लेखिएको ‘मुनामदन’को अनुकरण गर्न ज्यादै सिपालु देखिएका छन् । त्यसैले उनी मुनामदनको पूर्वाद्ध लेख्न सफल भए ।
अन्त्यमा प्रस्तुत कृतिका लेखक जननीप्रसाद रिजाल (१९७२–२०६२) महाकवि देवकोटाका समकालीन ठहरिए । यिनले ‘जिन्दगीका पानाहरू’ (कविता सङ्ग्रह–२०६६) र ‘इच्छापत्र’ पनि लेखेको पाइन्छ । यिनले देवकोटाको ‘मुनामदन’ धेरै पढे, कण्ठ पारे र नै हुबहु अनुकरण गरेर २०४४ सालमा ‘मुना र मदन’ खण्डकाव्य लेखेर छपाए । आफूले लेखेको ‘मुना र मदन’लाई पूर्वाद्र्ध र देवकोटाले लेखेको ‘मुनामदन’लाई उत्तराद्र्ध ठह¥याए । भाषा, शैली, लय, गेडा, दाना, विषय, विचार, नायक–नायिका र प्रस्तुति आदि विचार गरेर हेर्दा एउटै कृतिको दुई भाग देखिन आयो । यस्तो तारतम्य मिल्नुलाई गजबको संयोग मान्नुपर्छ ।
अब जननीप्रसाद रिजालका सुपुत्र साहित्यकार एवं गीतकार डा. भोलाप्रसाद रिजालले महाकवि लक्ष्मीप्रसाद देवकोटाका उत्तराधिकारीसँग सहमति लिएर दुवै कृतिलाई एकै ठाउँमा ‘मुनामदन’का नामले छपाएर पूर्वाद्र्धका लेखक जननीप्रसाद र उत्तराद्र्धका लेखक लक्ष्मीप्रसाद भनेर प्रष्ट पारिदिनुपर्छ । यसो गरियो भने दुवै लेखकप्रति अन्याय हुँदैन र पाठकप्रति पूर्ण न्याय भएको ठहरिने छ ।
तसर्थ यो ऐतिहासिक कार्य अविलम्ब सम्पन्न गरेर महाकवि देवकोटा, आफ्ना पिता जननीप्रसाद रिजाल हामी पाठक र नेपाली वाङ्मयप्रति न्याय गरिदिन डा. भोलाप्रसाद रिजालले अग्रसरता देखाइदिए उचित हुने थियो ।
विराटनगर