• १२ पुस २०८१, शुक्रबार

संसारीमाई महापूजाको तयारी तीव्र

blog

जलेश्वर समाचारदाता 

जलेश्वर, जेठ ९ गते । जलेश्वरमा पाँच वर्षपछि लाग्न गइरहेको संसारीमाई मेला नजिकिँदै जाँदा खसीबोकाको माग र मूल्य बढेको छ। जेठ १९ देखि २६ गतेसम्म हुने संसारीमाई महापूजाका लागि खसीबोकाको माग बढेको स्थानीय बासिन्दाले बताएका छन्। 

महापूजा मूल समारोह समितिका अध्यक्ष अशोक साहका अनुसार संसारीमाई महापूजाको अन्तिम दिन १० हजारभन्दा बढी खसीबोकाको बलि दिइने अनुमान छ। लामो अन्तरालपछि संसारीमाईको मेला लाग्ने भएकाले बलि प्रदान गर्नेको सङ्ख्या बढ्दै गएको र यस पटक १० हजारभन्दा बढी खसीबोकाको बलि प्रदान हुने अनुमान छ। 

जलेश्वर नगर क्षेत्रभित्र बसोबास गर्ने प्रत्येक घरबाट एक एक थान खसीबोका बलि प्रदान गर्ने प्रचलन रहेकाले माग बढेको साहको कथन छ। “माग बढेपछि मूल्य बढ्नु स्वाभाविक नै हो,” अध्यक्ष साहले भन्नुभयो, “माग अनुसारका खसीबोका स्थानीयस्तरमै नपाइएमा भारतीय बजार गएर खसीबोका खरिद गर्न थालेपछि सीमापारि पनि माग र मूल्य बढेको छ।”

“अहिले बजारमा १० हजार रुपियाँभन्दा कम्तीका खसीबोका नै पाइँदैनन्,” स्थानीय विजय साहले भन्नुभयो, “अन्य समयमा तौलको हिसाबले खसीबोकाको मूल्य रहने गरेको थियो तर अहिले हाराहारीमा १० हजारदेखि २० हजार रुपियाँसम्म मूल्यमा किन्नु परेको छ।” अन्य समयभन्दा अहिले खसीबोकाको मूल्य अचाक्ली बढेको गुनासो गर्दै उहाँले भन्नुभयो, “यति ठुलो मेला आयोजना हुँदा माग अनुरूप बजार व्यवस्थापनतर्फ पनि सम्बन्धित सरोकारवाला निकायले ध्यान दिनुपर्ने अति आवश्यक छ।” 

यता पाँच वर्षपछि हुन लागेको संसारीमाई महापूजाको तयारी तीव्र पारिएको छ। जलेश्वरनाथ महादेव मन्दिर अगाडि रहेको वरुणसरको पूर्वी मुहारमा अवस्थित संसारीमाई मन्दिरका पुजारी महेन्द्र मुखियाले जेठ २६ गतेका लागि महापूजाको तिथि तय गरेपछि तयारी तीव्र पारिएको मूल सामारोह समितिले जनाएको छ। मेला स्थलको बाटोघाटो निर्माण गर्नुका साथै नगरभरि नै स्वागतद्वार निर्माण गरिएको र भव्य पन्डाल निर्माण कार्य पनि भइरहेको जनाइएको छ। 

एक करोड रुपियाँभन्दा बढी खर्च हुने अनुमान गरिएको यस महापूजामा १० हजारभन्दा बढी बोका, हाँस, कुखुरा, परेवा, सुँगुर र राँगाको बलि दिइने अनुमान गर्दै समितिका अध्यक्ष साहले भन्नुभयो, “विभिन्न ठाउँबाट प्राप्त हुने सहयोग तथा पशु बलिका लागि लिइने शुल्कबाट महापूजाको खर्च सङ्कलन भइरहेको छ।”

संसारीमाईसँग भाकल गरेका भारत तथा विभिन्न जिल्लाका भक्तजनले समेत आआफ्ना गच्छे अनुसार बल दिने परम्परा रहिआएको छ। परापूर्वकालमा महामारी आएर दर्जनौँ व्यक्तिको मृत्यु भइरहेका बेला स्थानीयवासीले संसारीमाईलाई आह्वान गरी महामारी रोकिए पूजा गर्ने वचनबद्धता प्रकट गरेपछि माता संसारीमाईले महामारी रोकिदिएको र सोही बेलादेखि स्थानीयवासीले माता संसारीमाईको पूजा गर्दै आएको किंवदन्ती रहेको अध्यक्ष साहले बताउनुभयो। यो पूजा कहिले र कसले सुरु गरेको भन्ने बारेमा यकिन जानकारी नभए पनि जलेश्वर नगरको रक्षा गर्ने देवीका रूपमा संसारीमाईलाई लिने गरिएको जानकारी उहाँले दिनुभयो।

यसअघि प्रत्येक १२ वर्षमा यो महापूजा हुँदै आएको थियो। त्यसपछि सात वर्षमा र गएको केही वर्षदेखि पाँच पाँच वर्षको अन्तरालमा महापूजा भइरहेको छ। संसारीमाईको पूजा र भाकल गर्नाले दैवी प्रकोप नलाग्ने, सुख समृद्धि र शान्ति पाइने विश्वास रहेको छ। संसारीमाई महापूजामा यस वर्ष वृन्दावनका प्रसिद्ध रासलीला तथा प्रवचनकर्ता ल्याइने र १० लाखभन्दा बढी दर्शनार्थी पूजापाठमा सरिक हुने अनुमान रहेको मूल समारोह समितिले जनाएको छ।