• २८ पुस २०८१, आइतबार

पाँच विकास बैङ्क र फाइनान्स कारबाहीमा

blog

काठमाडौँ, जेठ ९ गते । तोकिएको कर्जा/निक्षेप अनुपात (सिडी रेसियो) उल्लङ्घन र अनिवार्य नगद अनुपात कायम नगर्ने पाँच विकास बैङ्क र एक फाइनान्स कम्पनीलाई नियामक निकाय नेपाल राष्ट्र बैङ्कले कारबाही गरेको छ ।

तेस्रो त्रैमासमा कर्पोरेट डेभलपमेन्ट बैङ्क, साल्पा विकास बैङ्क, नारायणी डेभलपमेन्ट बैङ्क, सप्तकोशी डेभलपमेन्ट बैङ्क, नारायणी डेभलपमेन्ट बैङ्क र मल्टिपर्पस फाइनान्सलाई राष्ट्र बैङ्कको नियम उल्लङ्घन गरेको भन्दै जरिवाना तिराइएको हो ।

राष्ट्र बैङ्कले सप्तकोशी डेभलपमेन्ट बैङ्कलाई सिडी रेसियो कायम नगरेको भन्दै १९ लाख ३६ हजार रुपियाँ जरिवाना तिराएको छ भने नारायणी डेभलपमेन्ट बैङ्कलाई दुई लाख ५१ हजार रुपियाँ, साल्पा विकास बैङ्कलाई एक लाख १० हजार रुपियाँ र कर्पोरेट डेभलपमेन्ट बैङ्कलाई एक लाख ९६ हजार रुपियाँ जरिवाना तिराएको छ ।

नारायणी डेभलपमेन्ट बैङ्कलाई अनिवार्य नगद अनुपात कायम नगरेको भन्दै तीन पटकसम्म जरिवाना तिराएको राष्ट्र बैङ्कले मल्टिपर्पस फाइनान्सलाई पनि अनिवार्य नगद अनुपात कायम नगर्दा दुई हजार ७०१ रुपियाँ जरिवाना तिराएको छ ।

ठ्याक्कै एक महिनाअगाडि तोकिएको कर्जा/निक्षेप अनुपात (सिडी रेसियो) उल्लङ्घन, सहुलियतपूर्ण कर्जाको दुरुपयोग, सम्पत्ति शुद्धीकरणसम्बन्धी ऐन निर्देशनको उल्लङ्घन गर्ने ‘क’ वर्गका नौ वटा वाणिज्य बैङ्कलाई पनि राष्ट्र बैङ्कले कारबाही गरेको थियो ।

राष्ट्र बैङ्कको कारबाहीमा पर्ने अधिकांश बैङ्कले तोकिएको कर्जा/निक्षेप अनुपात (सिडी रेसियो) लाई उल्लङ्घन गरेका थिए । केही बैङ्क भने सहुलियतपूर्ण कर्जाको दुरुपयोगमा कारबाही गरिएको राष्ट्र बैङ्कले जनाएको छ ।

सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैङ्क सम्पत्ति शुद्धीकरणसम्बन्धी कारबाहीमा परेको थियो । 

सम्पत्ति शुद्धीकरणसम्बन्धी ऐन निर्देशनको उल्लङ्घन गरेको यो बैङ्कलाई १० लाख रुपियाँ नगद जरिवाना गरिएको थियो ।