काठमाडौं, जेठ ८ गते । नक्कली भुटानी शरणार्थी ठगी प्रकरणमा संलग्न रहेकाहरूलाई राज्यविरुद्धको कसुर, ठगी र सङ्गठित अपराधको प्रस्तावसहित प्रहरीले प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको छ ।
सोमबार बुझाइएको प्रतिवेदनमा १६ जना पक्राउ परेका र १४ जना फरार रहेका अभियुक्तहरूको नाम संलग्न रहेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दानबहादुर कार्कीले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न १४ जना फरार रहेको जानकारी दिनुभयो ।
प्रहरीले पूर्व उपप्रधानमन्त्री, पूर्वमन्त्रीदेखि सुरक्षा सल्लाहकारसम्म गरी १६ जनालाई पक्राउ गरी अनुसन्धानपछि यो प्रतिवेदन तयार पारेको हो । प्रतिवेदनमा थप अनुसन्धान गर्नका लागि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई अनुसन्धानका लागि सिफारिस गरिएको छ ।
अपराध संहिता २०७४ दफा ५१ मा राष्ट्रहित प्रतिकूल काम गर्न नहुने उल्लेख छ । साथै कसैले राष्ट्रहित प्रतिकूल हुने कुनै काम गर्नु वा गराउनु हुँदैन स्पष्ट व्यवस्था गरिएको छ ।
१४ फरार अभियुक्त
अनुसन्धान प्रतिवेदनमा प्रतिक थापा, केशव तुलाधर, हरिभक्त महर्जन, राजेश अर्याल, लक्ष्मी महर्जन, धिरेन राई, मोहनराज राई, नीरज राई, सुनिता बुढाथोकी, विनीता लिम्बु, दीपा हुमागाईँ, निरञ्जन बहादुर खरेल, आशीष बुढाथोकी र अशोक पौडेल फरारको उल्लेख छ । फरारमध्ये अशोक पौडेल अमेरिकामा रहेको प्रहरीको दाबी छ ।
पक्राउ पर्नेमा उपप्रधानमन्त्रीदेखि सुरक्षा सल्लाहकारसम्म
यस प्रकरणमा प्रहरीले पूर्वउपप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी एमालेका सचिव (निलम्बित) टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाण, तत्कालीन गृहसचिव टेकनारायण पाण्डेलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ ।
यसैगरी, संविधान सभा सदस्य आङ्टावा शेर्पा, नेपाल हज कमिटीका अध्यक्ष शमशेर मियाँ, भुटानी अधिकारकर्मी नेता टेकनाथ रिजाललाई हिरासतमा राखेर अनुसन्धान भइरहेको छ । यसै गरी तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’ का सुरक्षा सल्लाहकार इन्द्रजित राई, सानु भण्डारी, केशव दुलाल, टङ्क गुरुङ, सन्दीप शर्मा, नरेन्द्र केसी, सागर राई र सन्देश शर्मामाथि अनुसन्धान भइरहेको छ ।
 
                                 
                                                 
                                                                             
                                                             
                                                                 
                                                                 
                                                             
                                                                 
                                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                