• १३ वैशाख २०८१, बिहिबार

भलिबललाई राष्ट्रिय खेल घोषणा गर्न पाउनु गौरव : प्रधानमन्त्री ‘प्रचण्ड’

blog

काभा महिला भलिबल च्यालेन्ज कपको उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ । तस्बिर : प्रदीपराज वन्त

काठमाडौं, जेठ ८ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको लोकप्रिय खेल भलिबललाई आफू दोस्रो पटक प्रधानमन्त्री भएको समयमा राष्ट्रिय खेल घोषणा गर्न पाउनु गौरव र खुसीको क्षण भएको बताउनुभएको छ ।

सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला भलिबल च्यालेन्ज कप सोमबार त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री ‘प्रचण्ड’ले भलिबललाई नेपालको राष्ट्रिय खेल घोषणा भएको दिनमा काभा महिला भलिबल च्यालेन्ज कपको उद्घाटन गर्न पाउनु आफ्ना लागि अर्को खुसीको संयोग भएको बताउनुभयो । 

यसअघि ‘प्रचण्ड’ प्रधानमन्त्री रहँदा २०७४ जेठ ८ गते भलिबललाई नेपालको राष्ट्रिय खेल घोषणा गरिएको थियो । नेपाल भलिबल सङ्घले जेठ ८ गतेलाई भलिबल दिवसको रूपमा पनि मनाउँदै आएको छ । प्रधानमन्त्री ‘प्रचण्ड’ले प्रतियोगिताको पूर्ण सफलताको कामना गर्दै सहभागी देशका खेलाडी र अफिसियललाई धन्यवाद समेत दिनुभयो ।


जेठ १४ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा दक्षिण एसिया तथा सेन्ट्रल एसियाका आठ राष्ट्रको सहभागिता रहनेछ ।  उद्घाटन खेलमा नेपालले किर्गिस्तानसँग प्रतिस्पर्धा गरेको छ । उद्घाटन अघि सोमबार नै भएको खेलमा भारत र उज्बेकिस्तानले विजयी सुरुवात गरेको छ । भारतले बङ्गलादेशलाई ३-० को सोझो सेटमा हराएको छ ।

एकपक्षीय प्रदर्शन गरेको भारतले २५-३, २५-९, २५-६ को जित निकालेको हो । यस्तै उज्बेकिस्तानले श्रीलङ्कालाई ३–० को सोझो सेटमा हरायो । उज्बेकिस्तानले २७-२५, २५-२०, २५-१४ को जित निकालेको थियो । 

च्यालेन्ज कपमा सहभागी टोलीमा आयोजक नेपालसहित बङ्गलादेश, भारत, मालदिभ्स, श्रीलङ्का, कजाकस्तान, किर्गिस्तान र उज्बेकिस्तान छन् । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।

समूह ‘ए’ मा नेपालसँगै भारत, बङ्गलादेश र किर्गिस्तान रहेको छ । समूह ‘बी’मा उज्बेकिस्तान, श्रीलङ्का, मालदिभ्स र काजकिस्तान रहेको छ । समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।