• ८ वैशाख २०८१, शनिबार

पर्यटक लोभ्याउने फुतफुते झरनाको सुन्दरता (फोटो फिचर)

blog

ठाकुरप्रसाद आचार्य

म्याग्दी, जेठ ८ गते । निलो रङ देखिने सफा पानी । पहाडको खोचमा आकर्षक झरना । वरिपरि सेताम्मे हिमाल । मौरिस हर्जोग पदमार्गमा पर्ने यो झरनाले पर्यटकलाई लोभ्याउँछ । यो झरना म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङ हुँदै अन्नपूर्ण प्रथम हिमालको उत्तरी आधार शिविर जाने मौरिस हर्जोग पदमार्गमा पर्दछ । झरनाको सुन्दरतामा पर्यटकहरू रमाउने गर्दछन् । 

अन्नपूर्ण, अन्नपूर्ण साउथ, निलगिरि र बराहशिखर हिमालबाट हिउँ पग्लिएर बनेको मिस्त्री खोलामा पर्ने यो फुतफुते झरनाले पदमार्गलाई सुन्दरता दिएको छ । हुमखोलाबाट एक घण्टाको पैदलयात्रापछि झरनामा पुग्न सकिन्छ । नारच्याङबाट  सवारी साधनको प्रयोग गरेर दुई घण्टामा हुमखोलामा पुगिन्छ । 

पहाडको खोचबाट खसेको झरना र पानीको निलो ताल छ । पदमार्गमा यात्रा गर्ने पर्यटकहरू झरनासँगै तस्बिर र भिडियो खिच्न पर्यटकहरू लोभिन्छन् ।

‘‘झरना निकै सुन्दर रहेछ । सफा र निलो रङको पानी देखिने  झरनाको अवलोकन गर्दा निकै आनन्द महसुस भयो,’’ पहिलो पटक झरनाको अवलोकन गर्न पुग्नुभएका अन्नपूर्ण गाउँपालिका ७ हिस्तानका प्रदीप पुनले भन्नुभयो, ‘‘लामो यात्रा पछि आउने यो झरनाले पदयात्रालाई निकै रमाइलो बनाइदियो । थकान बिसाइदियो ।’’

मौरिस हर्गोज पदमार्ग व्यवस्थापन समितिका अध्यक्ष तेज गुरुङले पछिल्लो समय झरनाको अवलोकनका लागि आउने पर्यटकको सङ्ख्यामा वृद्धि भएको बताउनुभयो । नारच्याङदेखि नजिकै रहेको झरनामा पूर्वाधार निर्माण र थप प्रचारप्रसार गर्नसके पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिने गुरुङले बताउनुभयो । 

राम्रो पर्यटकीय सम्भावना भएको झरनालाई सजिलोसँग अवलोकन गर्न मिल्नेगरी पालिकाले भौतिक पूर्वाधार र पर्यटकका लागि आश्रयस्थल निर्माण गर्ने सोच बनाएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले बताउनुभयो ।