• १२ साउन २०८१, शनिबार

नीति तथा कार्यक्रम खारेज गरी अर्को ल्याऊ भन्नु असंवैधानिक : सांसद गौतम

blog

सांसद वामदेव गौतम ।

काठमाडौं, जेठ ८ गते । सांसद वामदेव गौतमले सरकारले ल्याएको नीति तथा कार्यक्रमलाई खारेज गरी अर्को ल्याऊ भन्नु असंवैधानिक भएको बताउनुभएको छ । संविधान निर्माणमा योगदान गरेका नेताले यसो भन्नु गलत भएको उहाँको भनाइ छ ।

राष्ट्रियसभाको आजको बैठकमा सरकारको आगामी वर्षको नीति तथा कार्यक्रमका बारेको छलफलमा भाग लिनुहुँदै सांसद गौतमले कृषिमा विशेष जोड दिन माग गर्नुभयो ।

“सबै कुरा नीति तथा कार्यक्रममा अघि सारिए पनि एउटा मूल कुरा छुटेको छ, त्यो क्षेत्र कृषि हो, अहिले यो क्षेत्रमा आधारभूत तहका धेरै जनता आबद्ध छन्, कृषिबाट शिक्षा, स्वास्थ्य अघि बढ्नेछ र सांस्कृतिक परिवर्तन पनि हुनेछ”, उहाँले भन्नुभयो ।

पाँच वर्षको योजनासहितको नीति तथा कार्यक्रम २०१५ सालमा बिपी कोइरालाले अघि सार्नुभएको उल्लेख गर्नुहुँदै सांसद गौतमले त्यस कार्यक्रमले कृषिलाई प्राथमिकतामा राखेको बताउनुभयो । कृषि उत्पादन बढाउँदा आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्न सकिने उहाँको भनाइ थियो ।

नीति तथा कार्यक्रम खारेज गरी अर्को ल्याऊ भन्नु असंवैधानिक नेता गौतम प्रत्येक वर्ष एक सय ५१ स्थानीय तहका दरले पाँच वर्षमा सात सय ५३ वटै स्थानीय तहमा कृषि क्षेत्रको विशेष कार्यक्रम लागू गर्न सकिने सांसद गौतमले बताउनुभयो । यससम्बन्धी अवधारणा पत्र लेखेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई समेत बुझाएको उहाँले बताउनुभयो । रासस