• १६ चैत २०८०, शुक्रबार

मिटर ब्याजीविरुद्ध दुई सयभन्दा बढी उजुरी

blog

फाइल तस्विर ।

जयकृष्ण यादव  

इनरुवा, जेठ ८ गते । सुनसरी जिल्ला प्रशासन कार्यालयमा मिटरब्याजी विरुद्ध दुई सय ४९ उजुरी दर्ता भएका छन् । सरकारले मिटरब्याजीविरुद्ध उजुरी दिन आह्वान गरेसँगै दुई सय ४९ जनाले उजुरी दिएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको हो । 

वैशाख १७ गते उजुरी आह्वान गरिएकोमा जेठ ८ गतेसम्ममा दुई सय ४९ जना मिटरब्याजी पीडितले उजुरी दिएको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिनुभयो । 

प्रशासनले जारी गरेको सूचनामा मिटरब्याजीले गरेको ठगी र शोषणविरुद्ध आ–आफ्नो यथासम्भव बढी तथ्य प्रमाण सहित उजुरी दर्ता गर्न भनिएकोमा उजुरी दिने समयसीमाभित्र दुई सय ४९ जनाको जिल्ला प्रशासन कार्यालयमा आएको पाण्डेले जानकारी दिनुभयो । 

सूचना जारी भएपछि मिटरब्याजको धन्दा सञ्चालन गर्ने गिरोह, व्यक्ति र संस्थाबाट पीडित भएको भन्दै सर्वसाधारणबाट दुई सय ४९ उजुरी परेको प्रमुख जिल्ला अधिकारी पाण्डेले बताउनुभयो । 

यस्तै, उजुरी दुई जना प्रतिनिधि विरुद्ध पनि परेको प्रशासनले जनाएको छ । प्रशासनका अनुसार इनरुवा नगरपालिका ६ का वडाध्यक्ष सुमन थापा र कोशी गाउँपालिका १ का वडा अध्यक्ष सोभितनारायण यादव विरुद्ध उजुरी आएको र त्यसमा आवश्यक कारबाहीको माग गर्दै उजुरी आएको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिनुभयो । 

ऋण सावाँ ब्याजसहित फिर्ता गरेपनि बनाएको कागज फिर्ता नदिएको र शोषण गरेको आरोप लगाएका छन् । प्राप्त भएको निवेदनमाथि प्रमाणका आधारमा पहिलो चरणमा पक्षहरूको बीचमा छलफल गर्ने र त्यसपछि थप समन्वय गरी मुद्दा चलाउने तयारी भइरहेको प्रजिअ पाण्डेले जानकारी दिनुभयो ।