• १२ मंसिर २०८१, बुधबार

जीवन नै जैविक विविधता

blog

प्रत्येक वर्ष मे २२ लाई विश्व जैविक विविधता दिवसका रूपमा संसारभरि मनाइने गरिन्छ । विश्वले यस दिनलाई जैविक विविधताको संरक्षण गर्न एकताको दिनका रूपमा पनि लिने गरेको छ । सन् २००० मा संयुक्त राष्ट्रसङ्घको महासभाले मे २२ लाई विश्व जैविक विविधता दिवसका रूपमा मान्यता दिनुको उद्देश्य जैविक विविधता संरक्षणमा संसारभरि यसको समझदारी र चेतना अभिवृद्धि गर्ने रहेको थियो । सन् १९९२ मा भएको जैविक विविधता महासन्धिले यसको संरक्षण पारस्परिक सहयोग र समझदारीले मात्रै गर्न सकिने हुँदा कानुनी रूपले नै एक अर्कासित जोडिन आह्वान गरिएको हो । यसका मूल तीन उद्देश्य छन्, जैविक विविधताको संरक्षण, यसको दिगो विकास र यसमा रहेका आनुवंशिक स्रोत तथा गुणहरूको न्यायोचित वितरण । त्यसपछिका वर्षमा मे २२ जैविक विविधताको संरक्षण गर्न अन्तर्राष्ट्रिय समुदायले गरेको प्रयासमा ऐक्यबद्धता जनाउने र जनचेतना विस्तार गर्ने उद्देश्यका साथ प्रत्येक वर्ष मनाउने व्रmम विश्वभर बढिराखेको छ । 

यस दिवसको उद्देश्य बिग्रँदो मानव वातावरणलाई सुरक्षित राख्न आइपरेका चुनौतीलाई कसरी सम्बोधन गर्न सकिन्छ भन्ने विषयमा केन्द्रित हुन्छन् । खास गरेर यसले विश्वका मरुभूमीकरण हुने अवस्थामा रहेका जोखिमयुक्त क्षेत्रलाई बढी ध्यान दिन खोजेको छ, जहाँ धेरै कमजोर अवस्थाका मानिस बसोबास गर्ने गर्छन् र विभिन्न कारणबाट त्यहाँको जैविक विविधता र पारिस्थिकीय प्रणाली पनि प्रभावित बन्ने गरेको छ । 

जैविक विविधता र महत्व

पृथ्वीको समुद्री, स्थलीय, आकाशीय तथा जलाशययुक्त भाग, पारिस्थितिकीय प्रणालीमा रहेका जीवित प्राणीको अनुवंश (जीन) तथा प्रजातिमा विविधता हुनु नै जैविक विविधता हो, अर्थात् जीवित प्रजातिको वैभवता र तिनीहरूको पारिस्थितिकीय प्रणालीसँगको सम्बन्धको बाहुल्यतालाई मानिन्छ । यसले प्राणी, वनस्पति र सूक्ष्म जीवात्माको जातीय–प्रजातीय, आनुवांशिक तथा पारिस्थितिक प्रणालीको विविधतालाई समेत जनाउँछ । सन् १९९२ मा जैविक विविधतासम्बन्धी महासन्धिले हाम्रो पृथ्वीमा रहेको जल, स्थल, वायुमण्डलमा रहेका सम्पूर्ण जीवजन्तु, वनस्पति र मानिस बिचको सहअस्तित्व तथा अन्तरसम्बन्धमा रहेको विविधतालाई जैविक विविधता भनेको छ । यसमा हाम्रो जैविक वातावरणका लागि नभई नहुने यसका अवयव जस्तै विभिन्न जातका बोट बिरुवा, पारिस्थितिकीय प्रणालीलाई सन्तुलनमा राख्न चाहिने कीटपतङ्गदेखि अरू प्राणरु र विभिन्न स्रोत, अजैविक अवयव तथा वायुको अन्तरसम्बन्धले जैविक विविधता निर्धारण गरेको हुन्छ । यसैबाट सबै प्राणी जगत्को अस्तित्व सम्भव भएको हुन्छ । यस समुदायका कुनै एक प्रजातिमा कमी भयो भने यो प्रणालीमा नै सङ्कट उत्पन्न हुन्छ र प्राकृतिक सन्तुलन बिग्रिन जान्छ । यस धर्तीमा करिब ८७ लाख प्रजाति भएको अनुमान गरिएको छ भने अहिलेसम्म १३ लाख प्रजाति अध्ययन र अनुसन्धानबाट पत्ता लागिसकेका छन् र यो व्रmम जारी छ ।

 स्वस्थ र सव्रिmय पारिस्थितिकीय प्रणालीले जीवित प्राणी र मानव जगत्का लागि दैनिक नभई नहुने उपभोग्य वस्तु र विभिन्न सेवा उपलब्ध गराएर दिगो जीवनका लागि महत्वपूर्ण भूमिका खेलेका हुन्छन् । यसमा खाद्यान्न, पानी, स्वस्थकर हावा, बहुमूल्य औषधिजन्य जडीबुटी, प्रदूषण नियन्त्रण तथा कार्बन शोषणका कार्य पर्दछन् । जैविक विविधताले जनताको जीवन र जीविकाको आधार तयार गर्दछ । विश्वमा करिब डेढ अर्ब मानिस जीवन निर्वाहका लागि वनजन्य स्रोतमा आश्रित छन् भने विश्व अर्थ व्यवस्थाको ४० प्रतिशत र कम विकसित मुलुकका मानिसको ८० प्रतिशत आवश्यकता जैविक विविधताजन्य स्रोतबाटै प्राप्त हुने गरेको तथ्याङ्कले देखाउँछ । प्रकृतिले प्राणी जगत्लाई जैविक विविधताको रूपमा धेरै राम्रा र उयगोगी वस्तु उपहार दिएको छ जुन मानव जातिले प्रयोग गरिरहेका छन् । जैविक स्रोत नै जीव विज्ञान र आनुवांशिक अध्ययन र अनुसन्धानबाट जटिल रोगको पनि उपचार गर्न सकिने औषधिको आविष्कार भएका छन् । 

सङ्कटमा जैविक विविधता

विश्वमा जनसङ्ख्यामा वृद्धि, बढ्दो गरिबी, राजनीतिक अस्थिरता, आर्थिक सङ्कट, जमिनको अनुचित प्रयोग, वन विनाश, अतिचरिचरण, औद्योगिकीकरण, सहरीकरण, आणविक भट्टीहरूको स्थापना, अत्यधिक मात्रमा रसायन, कोइला र पेट्रोलियम पदार्थको प्रयोगबाट कार्बन उत्सर्जनका साथसाथै हानिकारक हरितगृह ग्यास उत्पादन भई पृथ्वीको तापमान बढ्ने व्रmम जारी छ । तापमान बढेसँगै यसबाट उत्पन्न जलवायु परिवर्तनका प्रभावबाट पर्न जाने नकारात्मक असर धेरै क्षेत्रमा देखिन थालेका छन् । जलवायु परिवर्तनका असरहरूले मुख्य गरी वन तथा जैविक विविधता, जलस्रोत र ऊर्जा, कृषि तथा खाद्य सुरक्षा, मानव स्वास्थ्य र भौतिक पूर्वाधार जस्ता क्षेत्रहरूमा प्रभाव पारेको देखिन्छ । जलवायु परिवर्तनका असरले प्रजातिको प्रजनन र उत्पादन क्षमतामा ह्रास आएको देखिन्छ भने जन्मने जीवमा वंशानुजन्य विकृति र उत्परिवर्तन भएका छन् । प्लास्टिक प्रदूषण तथा कलकारखानाबाट निस्कने धातुजन्य पदार्थ, रासायनिक विषाक्त लेदो, कृषिक्षेत्रमा बढ्दो रासायनिक मलको प्रयोगबाट प्रदूषित पदार्थ पानीका स्रोतमा मिसिने हुँदा सामुद्रिक जीवजन्तु आव्रmान्त बन्न पुगेका छन् भने अन्य जमिनको उत्पादकत्व घट्दो अवस्थामा पुगेको छ, जसले कार्बन उत्सर्जनमा बढावा गर्दछ भने जैविक विविधतामा ह्रास ल्याउँदछ । विश्वका वनजङ्गलकोे क्षेत्रफल घट्नुका साथै अतिव्रmमण, खण्डीकरण, वन डढेलो तथा क्षयीकरणका कारण जैविक प्राणीको बासस्थानमा भएका क्षयीकरणकाबाट प्रत्येक दिन अनुमानित १५० प्रजातिको लोप भएको अनुमान गरिएको छ । व्यापारिक तथा औद्योगिक प्रयोजनका लागि जैविक स्रोतको अति उत्खनन र वन्यजन्तुको अनियन्त्रित चोरी शिकारले गर्दा १६ औँ शताब्दीयता ६८० भन्दा धेरै ढाड भएका जनावरका प्रजाति लोप भइसकेका छन् । अनुसन्धानको तथ्याङ्क अनुसार प्रजातिको उत्पन्न हुने दरभन्दा विलय हुने दर १० हजार गुणा बढी देखिन्छ । पहिचान भएका मध्ये एक तिहाई प्रजाति लोपोन्मुख अवस्थामा पुगेका छन् । सन् १९७० पछि पृथ्वीमा जङ्गली जनावरको सङ्ख्यामा ७० प्रतिशतले गिरावट आएको छ । विश्वमा वन्यजन्तु चोरी र तस्करी गर्ने अपराधले चौथो स्थान लिन पुगेको देखिन्छ । यसले मूल्यवान जीवजन्तुको अस्तित्वका साथै जैविक विविधता माथि नै सङ्कट पैदा गरेको छ । यी सबै विध्वंशको प्रमुख कारक मानिस बनिरहेको छ ।

नेपालको सन्दर्भ

नेपाल भौगोलिक हिसाबले सानो राष्ट्र भए पनि जैविक विधिताको दृष्टिबाट विश्वमा २५ औँ स्थानमा पर्दछ । यहाँ ११८ प्रकारका पारिस्थितिक पद्धति पाइन्छन् । जैविक विविधताको धनी देश भए पनि यसको महìव र संरक्षणका बारेमा सरोकारवाला निकायको त्यति ध्यान पुग्न सकेको देखिँदैन । यद्यपि यहाँका विभिन्न समुदायको वनस्पति र जीवजन्तुसँग धार्मिक तथा सांस्कृतिक सम्बन्धसमेत रहेको छ । उष्णप्रदेशीय वनजङ्गलकोे क्षेत्रफल घट्नुका साथै वन अतिव्रmमण, खण्डीकरण, अतिचरिचरण, खोरिया फडानी, वन डढेलो, वन क्षयीकरण तथा जैविक स्रोतको अति उत्खनन र वन्यजन्तुको अनियन्त्रित चोरी शिकार र तस्करीले गर्दा जैविक प्राणीको बासस्थानमा भएका क्षयीकरणकाबाट नेपाल पनि अछुतो छैन । हाम्रा जमिन बाँझोमा परिणत हुँदैछन्, हामी हरेक वस्तुमा परनिर्भरतातिर गइरहेका छौँ । मिचाहा प्रजातिले बाँझो जमिन कब्जा गर्दैछन् भने रैथाने प्रजातिको लोप हुँदैछन् । मूल्यवान वन्यजन्तु लोपोन्मुख अवस्थामा पुगेका छन् भने सिमसारक्षेत्र साँघुरिँदै गएका देखिन्छन् । प्रकृति संरक्षणमा जनचेतना जगाउन नेपालले पनि जैविक विधिता दिवसलाई मनाउँदै आएको छ ।

हाम्रो दायित्व

 हालसम्मको वैज्ञानिक तथ्याङ्कले के भन्छन् भने पारिस्थितिकीय प्रणालीमा एउटा मात्र प्रजाति नहुँदा त्यसको असर अकल्पनीय हुन पुग्छ । जैविक विविधता कम भएको पारिस्थितिकीय प्रणालीको प्रबलन क्षमता कमजोर हुन्छ । जैविक विविधता जोगाउनु भनेको विश्वको अर्थतन्त्रलाई सबल बनाई राख्नु मात्र होइन, मानव जातिको अस्तित्व रक्षाका लागि र भविष्यमा आइपर्ने सङ्कटसँग जुध्नु पनि हो । त्यसैले हाम्रो उन्नति, प्रगति र हाम्रा सन्ततिको उज्ज्वल भविष्यका लागि सीमित प्राकृतिक स्रोत साधनको अत्यधिक दोहन हुनबाट बचाउ गर्नु र यसको वातावरण संरक्षण गर्नु हामी मानव जातिको कर्तव्य र दायित्व हो, । पारिस्थितिकीय प्रणालीको सन्तुलनले मात्र मानव जीवन र यसको जीविकोपार्जनलाई सुरक्षित गर्न सक्दछ साथै जलवायु परिवर्तनको असरबाट अनुकूलित हुने क्षमता वृद्धि गर्न सहयोग गर्दछ, । प्राकृतिक सम्पदाको अवैध कारोबार विरुद्ध कडा नियम कानुनको व्यवस्था गरी दोषीलाई कारबाहीको कठघरामा ल्याउन जरुरी हुन्छ । संरक्षित क्षेत्रहरूका नजिक बसोबास गर्ने जनतासँगको सहकार्यलाई बढावा दिँदै मानव र वन्यजन्तु बिचको द्वन्द्व व्यवस्थापनमा सरोकारवाला निकाय लागिपर्नु पर्छ । जैविक विविधता सम्बन्धि परम्परागत ज्ञान र सिपको पन्जीकरण र संरक्षण गर्दै परम्परागत प्रविधिलाई नवप्रवर्तनका साथ विकास गर्नु महत्वपूर्ण छ । 

लेखक जैविक विविधता संरक्षणमा कलम चलाउनुहुन्छ ।

  

Author

मथुरा खनाल