• ८ वैशाख २०८१, शनिबार

पर्यटकीय गन्तव्य बन्दै हिमताल

blog

ठाकुरप्रसाद आचार्य  

म्याग्दी (बेनी), जेठ ८ गते । अन्नपूर्ण गाउँपालिका–४, नारच्याङस्थित आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको उत्तरी आधार शिविरमा रहेको सुन्दर हिमताल पर्यटकीय गन्तव्यका रूपमा विकास हुन थालेको छ । यो ताल अन्नपूर्ण र नीलगिरि हिमालको काखमा पर्दछ । समुद्री सतहदेखि चार हजार ५० मिटरको उचाइमा रहेको तालको एक किलोमिटर लम्बाइ र दुई सय मिटर चौडाइ रहेको छ । 

वरिपरि सुन्दर हिमशृङ्खलाको दृश्य र तालले यहाँ पुग्ने पर्यटकलाई आनन्द महसुस गराउँछ । मौरिस हर्गोज पद मार्गको नारच्याङस्थित हुमखोलाबाट करिब सात घण्टाको पैदल यात्रापछि तालमा पुग्न सकिन्छ । पाँच वटा साना साना ताल मिलेर बनेकाले यो ताललाई स्थानीयले पञ्चकुण्ड भनेर नामकरण गरेका छन् । यो तालको पर्यटकीय तथा धार्मिक महत्व छ । 

नारच्याङदेखि दुई घण्टा सवारीसाधनको यात्रापश्चात् मौरिस हर्गोज पद मार्गको करिब सात घण्टाको यात्रापछि तालमा पुग्न सकिन्छ । तालसम्म पुग्न अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना र सङ्घीय सरकारको पर्यटन मन्त्रालयले पद मार्ग, झोलुङ्गे पुल र पर्यटक आश्रय स्थल निर्माण गरिएको छ । 

“हिमालको काखमा रहेको यो ताल सुन्दर लाग्यो, यहाँ आउँदा स्वर्गको अनुभूति भयो,” पहिलो पटक आधार शिविर पुग्नुभएका बेनीका बालकृष्ण पौडेलले भन्नुभयो, “कति राम्रो सुन्दर ताल, मलाई केही दिन यही बसौँ बसौँ लाग्यो ।”

ताल मिस्त्री खोलाको उद्गम स्थलसमेत हो । तालको प्रचारप्रसार र पर्यटकीय पूर्वाधार निर्माण गरी पर्यटक भित्र्याउने पालिकाको उद्देश्य रहेको गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले बताउनुभयो । तालको प्रकृति, धार्मिक र पर्यटकीय महत्वलाई उजागर गरी पर्यटन गन्तव्यका रूपमा विकास गर्न गाउँपालिकाले प्रचारप्रसार र पद मार्गलाई व्यवस्थित बनाउने योजना अघि सारेको अन्नपूर्ण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले बताउनुभयो । सन १९५० जुन ३ का दिन फ्रान्सका मौरिस हर्गोजले अन्नपूर्ण प्रथम हिमालको आरोहण गर्नुभएको थियो । हर्गोजले आरोहणका लागि आधार शिविर जान प्रयोग गरेको पद मार्गलाई उहाँकै नाममा मौरिस हर्जोग पद मार्ग नामकरण गरिएको छ । नारच्याङका पर्यटन व्यवसायी तेज गुरुङको अगुवाइमा विसं २०६८ मा पहिचान भएको मौरिज हर्गोज पद मार्गलाई व्यवस्थित बनाउने काम गरिएको छ । 

पछिल्लो समय हिमाल आरोहण गर्ने आरोही र आधार शिविर पुग्ने पर्यटकको सङ्ख्यामा वृद्धि भएको मौरिस हर्जोग पद मार्ग व्यवस्थापन समितिका अध्यक्षसमेत रहनुभएका गुरुङले बताउनुभयो । आधार शिविरमा खानेपानी, टेलिफोन सेवा र पर्यटकीय पूर्वाधारको आवश्यकता रहेको उहाँले बताउनुभयो ।