• ७ वैशाख २०८१, शुक्रबार

बेनी-जोमसोम सडक खुल्यो

blog

सडक खुलेपछि गन्तव्यतर्फ हिँडेका सवारीसाधन । तस्विर : ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य

म्याग्दी, जेठ ७ गते । शनिबार राति परेको वर्षाका कारण विभिन्न स्थानमा गएको बाढी र पहिरोका कारण अवरुद्ध बनेको बेनी-जोमसोम सडक आजबाट खुलेको छ । 

म्याग्दीको अन्नपूर्ण गाउँपालिका-२ भुरुङतातोपानीमा बाढीले कल्भट पुल, नौनीबगर र वडा नम्बर ३ को दानाको गुइँठेमा आएको पहिरोलाई डोजर परिचालन गरी मर्मत गरेपछि सडक सुचारु भएको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले जानकारी दिनुभयो । 

सदरमुकाम बेनी हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी-जोमसोम सडक भुरुङतातोपानी कल्भट पुलको मर्मत, नौनीबगर र गुइँठेमा झरेको पहिरोमा डोजर परिचालन गरेर सफा गरेपछि सिधा यातायात सेवा सञ्चालनमा आएको बेनी जोमसोम सडक आयोजनाका सुपरभाइजर इन्द्रसिङ शेरचनले बताउनुभयो । 

सडक खुलेपछि म्याग्दीका उत्तरी क्षेत्रका बासिन्दा र मुस्ताङमा घुम्न आउने र फर्कने पर्यटक र तीर्थयात्रीहरू गन्तव्यमा लागेका छन् । सडक अवरुद्ध भएपछि पालिका अध्यक्ष पुन, वडा अध्यक्ष ओमबहादुर फगामीलगायत अवरुद्ध सडक खुलाउन स्थलगत रूपमा खटिनुभएको थियो ।