• १२ असोज २०८१, शनिबार

सदरमुकाममा खानेपानीको हाहाकार

blog

हुम्ला समाचारदाता

हुम्ला, जेठ ७ गते । सदरमुकाम सिमकोटमा खानेपानीको हाहाकार बढ्दै गएको छ । मुहानमा पानीको स्रोत सुक्दै गएपछि घर घरमा जडान गरिएका धारामा पानी आउन छाडेको छ ।

सिमकोट बजारका आङ्टेन्डी शेर्पा धारामा पानी आउन छोडेपछि खानेपानीको समस्या दैनिक रूपमा बढ्दै गएको बताउनुहुन्छ । उपाभोक्ताहरू जुन धारामा पानी आउने गर्छ त्यस धारामा लाइनमा बसेर पानी भर्न बाध्य छन् । 

उहाँले कति दिन त सिमकोट गाउँपालिका– ६ स्थित २० मिनेट टाढाको तीन धाराबाट पानी भरेर ल्याउन परेको गुनासो सुनाउनुभयो । सिमकोटमा एक महिना अगाडिदेखि खानेपानीको समस्या देखिँदै आएको थियो । यो समस्या दैनिक रूपमा बढ्दै जाँदा थप समस्या चुलिएको छ ।

सदरमुकाम सिमकोटलाई खानेपानीको व्यवस्था गर्दै आएको खानेपानी उपभोक्ता समितिका प्राविधिक रुपेन्द्र्र रोकायाले मुहानमा पानीको स्रोत कम भएपछि खानेपानीको व्यवस्था गर्न समस्या भइरहेको बताउनुभयो । सिमकोटको खानेपानीका लागि दुई वटा मुहानबाट पानीको व्यवस्था हुँदै आएकोमा दुवै मुहानमा पानीको स्रोत कम हुँदा समस्या भएको हो । 

उहाँले सात लाखभन्दा बढी लिटर पानी सिमकोट बजारमा आवश्यक पर्ने गरेकोमा साढे तीन लाख लिटरभन्दा कम पानी मुहानबाट आपूर्ति हुन थालेपछि समस्या भएको बताउनुभयो । 

सो समस्या जेठ महिना भर्खर लागेको र असार बाँकी नै भएका कारण अझै बढ्दै जाने देखिएको छ । यसका लागि ५० हजार लिटर क्षमताका दुई वटा र २० हजार लिटर क्षमताका चार वटा रिजर्भ ट्याङ्कीबाट पानी वितरण गरिँदै आएको छ । यसबाट समितिले चार सय निजी धारा र सात वटा सार्वजनिक धारामा पानी आउने गर्दछ ।