• २९ मङ्सिर २०८२, सोमबार

हुम्लाको उत्तरी क्षेत्रका दुई दर्जन बस्तीमा जेष्ठ नागरिकको मात्र

blog

फोटो क्याप्सन सिमकोट गाउँपालिका–३ को लिमाटाङ गाउँमा बस्दै आउनु भएका जेष्ठ नागरिक । तस्बिर:राजन रावत, हुम्ला

राजन रावत, 

हुम्ला, मङ्सिर २९ गते । हिमाली जिल्ला हुम्लाका उत्तरी क्षेत्रका दुई दर्जन बढी बस्तीहरूमा जेष्ठ नागरिकको मात्र बास हुने गरेको छ । 

बालबालिका र आमा बढाईका लागि शहर केन्द्र हुनु तथा युवाहरू खेतीपाती भन्दा पनि ब्यापार व्यवसाय केन्द्रित हुँदा यी बस्तीमा जेष्ठ नागरिकको मात्र बास भएको हो । 

सिमकोट र नाम्खामा गाउँपालिकाका उच्च क्षेत्रका बस्तीमा साठी वर्ष माथिका जेष्ठ नागरिकहरुको बसोवास हुने गरेको सिमकोट गाउँपालिका–३ की छपाल लामाले बताउनुभयो । 

उहाँले सिमकोट गाउँपालिकाका मात्र बुराउसे, लाङ्दु, बरगाउँ, तोर्पा, हुटिक, लिमाटाङ, गुम्बा टल्की बस्ती एउटा घर एकदेखि तीन जनासम्म जेष्ठ नागरिकहरू बस्दै आएको जानकारी दिनुभयो ।

 तिनै जेष्ठ नागरिकहरूले सके खेतीपाती गर्ने, नसके अदिया वा बाँझो राख्ने र पशु  पालन गरि बस्ने गरेको उहाँले बताउनुभयो । 

यी बस्तीका केही घरमा त ताला लगाएर बन्द समेत गरिएको छ । साथै गाउँमा बस्ने जेष्ठ नागरिकहरू घर हेरालुका रुपमा पनि बस्दै आउनु भएको हो । यता नाम्खा गाउँपालिकाका अठार वटा बस्तीहरूमा पनि यतिबेला जेष्ठ नागरिकको मात्र बसोवास हुने गरेको नाम्खा गाउँपालिका–३ पासाङ लामाको भनाइ छ ।

 यी बस्तीका बालबालिका पढाईका लागि सदरमुकाम लगायतका शहरमा केन्द्रीत हुँदा आमाले पनि गाउँ छाड्नु परेको युवाहरू घरखेती भन्दा पनि ब्यापार व्यवसाय र नोकरी गर्न गाउँ छोडेको कारण ती बस्तीहरू जेष्ठ नागरिकको भरमा रहन गएको उहाँले बताउनुहुन्छ । 

यही भएर गाउँमा फाट्टफुट्ट जेष्ठ नागरिक देखिने भएकारण गाउँ नै सुनसान देखिन्छन् । जेष्ठ नागरिक बस्दै आएका जिल्ला उच्च क्षेत्रका धेरै बस्तीमा ग्रामीण सडक पनि निर्माण गरिएका छन् । 

स्थानीय रुपमा उत्पादन गरिएका लघु जलविद्युतबाट विद्युत पनि उत्पादन हुँदै आएको छ । तर पनि युवाहरू यी बस्तीमा बस्न नरुचाउने उहाँले बताउनुभयो । पछिल्लो पुस्ताले गाउँ छोड्ने क्रम बढेपछि पशुपालनमा समेत कमी आएको छ ।