• २६ वैशाख २०८१, बुधबार

छाना उडाएपछि विद्यालय बन्द

blog

कालीकोट समाचारदाता

कालीकोट, जेठ ७ गते । आइतबार साँझ आएको हावाहुरीले कालीकोट जिल्लाका धेरै विद्यालयमा क्षति पु¥याएको छ । हावाहुरीले विद्यालयका छाना उडाएपछि पठनपाठन प्रभावित भएको छ । जिल्लाको सान्नीत्रिवेणी गाउँपालिका–१, लुसाको अम्बिका आधारभूत विद्यालयको छाना उडाएपछि विद्यालय बन्द छ । चौरमा राखेर पठनपाठन सुचारु गर्न पनि कठिन भएकाले विद्यालय बन्द गर्नुपरेको बताइन्छ । 

गाउँपालिकाका उपाध्यक्ष पार्वतीसिंह सन्ज्यालले विद्यालयको छाना पूरै उडाएकाले तत्काल विद्यालय सञ्चालन हुने अवस्था नभएको बताउनुभयो । उहाँले जतिसक्दो छिटो छाना मर्मतका लागि पालिकाले आवश्यक बजेटको व्यवस्थापन गर्नेसमेत बताउनुभयो ।

उहाँका अनुसार पालिकाभरि १८ विद्यालयमा हावाले क्षति पु¥याएको छ । सबैभन्दा बढी क्षति अम्बिका आधारभूत विद्यालयमा पुगेको छ ।  सदरमुकाम मान्मको एकीकृत सरकारी भवनको छाना उडाएको छ । हुरीले निजी घरमा पनि क्षति पु¥याएको बताइन्छ । हावाहुरीले जिल्लाभर किसानको गहुँबालीमा पनि क्षति पु¥याएको छ । केही ठाउँमा हावासँगै असिना परेको बताइन्छ । काटेर मुठा पारी खेतमा राखिएका गहुँ हावाले उडाएर खोला खोल्सामा पु¥याएको जनाइएको छ । जिल्ला प्रहरी कार्यालय कालीकोटका सूचना अधिकारी प्रहरी निरीक्षक शुभराज बमले हुरीले जिल्लाभर पु¥याएको क्षतिको विवरण सङ्कलन हुँदै गरेको जानकारी दिनुभयो ।