• ७ वैशाख २०८१, शुक्रबार

विराटनगर आँखा अस्पताल र नुरदुबई फाउन्डेसन सहकार्यमा निःशुल्क आँखा शिविर

blog

पाँच हजार ७२  जनाको आँखा परीक्षण

काठमाडौँ, जेठ ७ गते । निरन्तर चार दिनसम्म सञ्चालन भएको भएको निःशुल्क आँखा शिविरमा पाँच हजार ७२ जनाको आँखा परीक्षण गरिएको छ । मोरङको रङ्गेली र सुनसरीको देवानगन्ज गाउँपालिकामा भएको निःशुल्क आँखा स्वास्थ्य शिविरमा पाँच हजार ७२ जनाको आँखा परीक्षण गरिएको हो । 

देवानगञ्ज गाउँपालिकामा भएको आँखा स्वास्थ्य शिविरमा दुई हजार दुई सय जनाले आँखा परीक्षण गराएका छन् भने रंगेलीमा भएको आँखा शिविरमा दुई हजार ८७२ जनाले आँखा परीक्षण गराएका छन् । नेपाल नेत्र ज्योति सङ्घ पूर्वान्चल क्षेत्रीय आँखा उपचार कार्यक्रम, विराटनगर आँखा अस्पताल र देवानगन्ज गाउँपालिकाको संयुक्त आयोजनमा भएको आँखा शिविरमा देवान गन्ज गाउँपालिकामा २५२ जनाको मोतीबिन्दु देखिएको थियो । मोतिविन्दुको शल्यक्रिया गर्नुपर्ने व्यक्तिलाई नुरदुबई फाउन्डेसनको आर्थिक सहयोगमा निःशुल्क शल्यक्रिया गरिएको छ । 

विराटनगर आँखा अस्पतालका नेत्र रोग विशेषज्ञ डा सुमित मिश्र र डा प्रीति अग्रवालको नेतृत्वको टोलीले आँखा स्वास्थ्य शिविरमा सेवा प्रदान गरेको थियो । यसै गरी रंगेलीमा भएको आँखा शिविरमा एक हजार २१० जनालाई निःशुल्क चस्मा वितरण गरिएको थियो । उक्त शिविरमा ५६० जनाको मोतीबिन्दु देखिएको थियो । मोतीबिन्दु देखिएका बिरामीलाई विराटनगर आँखा अस्पतालमा निःशुल्क मोतिबिन्दुको शल्यक्रिया गरिएको थियो । 

विराटनगर आँखा अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा. रक्षा पन्तले उक्त शिविर मार्फत दृष्टिदोष भएका ९१९ जना बिरामीहरूलाई निःशुल्क चस्मा वितरण गरिएको जानकारी दिनुभयो । उहाँले शिविरमा मोतीबिन्दु देखिएका बिरामीहरूलाई विराटनगर आँखा अस्पतालमा ल्याई निःशुल्क शल्यक्रिया गरिएको जानकारी दिँदै आँखा उपचारको पहुँच र आर्थिक अभावमा लामो समयदेखि दृष्टिविहीन बस्न बाध्य भएका बिरामीहरूले आफ्नो घर आँगनमै निःशुल्क आँखा उपचार सेवा पाएको बताउनुभयो । आँखा शिविरमा भारत,सुनसरी, मोरङ लगायतका जिल्लाका स्थानीयले आँखा परीक्षण गराएका थिए । 

पूर्वाञ्चल आँखा उपचार कार्यक्रमका प्रमुख प्रशासक सुधीर ठाकुरले नेपाल नेत्र ज्योति सङ्घ पुर्वान्चल आँखा स्वास्थ्य कार्यक्रम अन्तरगत हाल दुई वटा आँखा अस्पताल र ३१ वटा आँखा उपचार केन्द्र सञ्चालनमा रहेको जानकारी दिनुभयो । उहाँले सन् २०२२ मा पूर्वाञ्चल आँखा स्वास्थ्य कार्यक्रम अन्तरगत सञ्चालित अस्पताल, आँखा उपचार केन्द्र तथा विभिन्न बाह्य कार्यक्रम मार्फत १२ लाख १३ हजार ३२६ जनाको आँखा परीक्षण गरी एक लाख ३१ हजार ८५६ जनाको शल्यक्रिया गरिएको जानकारी पनि दिनुभयो । उहाँले स्थापनादेखि सन् २०२२ सम्ममा मार्फत एक करोड २५ लाख ३० हजार ५७६ जनाको आँखा परीक्षण गरी २० लाख ९५ हजार १४ जनाको शल्यक्रिया गरिएको बताउनुभयो । त्यस्तै सन् २०२२ मा १४५ वटा निःशुल्क आँखा शिविर सञ्चालन गरी ६ हजार १३० जनाको निःशुल्क मोतीबिन्दुको शल्यक्रिया समेत गरिएको थियो । 

विराटनगर आँखा अस्पताल व्यवस्थापन समिति अध्यक्ष पद्मनारायण चौधरीले पहुँच र आर्थिक अभावमा कोही पनि नागरिकहरू दृष्टिबिहिन बस्नु नपरोस् भन्दै सन् २०३० सम्ममा नेपालबाट उपचार पछि निको हुने अन्धोपन निवारण गर्ने नेपाल सरकारको योजनालाई सफल बनाउने गरी आफ्नो सेवालाई बिस्तार गरिरहेको बताउनुभयो । उहाँले नेपाल नेत्र ज्योति सङ्घले सन् २०३० सम्ममा नेपालका हरेक स्थानीय तहसम्म आँखा स्वास्थ्य सेवालाई विस्तार गर्ने लक्ष्य लिएकाले सोही अनुरूप अहिले काम अगाडि बढिरहेको बताउनुभयो ।